Nepal
This article was added by the user . TheWorldNews is not responsible for the content of the platform.

अलैंची टिप्न किसानलाई चटारो,  बगानमै मनाए दशैं

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

८ कात्तिक, फुङ्लिङ । नवदुर्गाको प्रसाद स्वरुप टीका एवं जमरा लगाउन र आशीर्वाद थाप्न मान्यजनका घरमा जानेक्रम जारी छ  । विजयादशमीका दिन नौ दिनसम्म पूजा आराधना गरी देवी विसर्जन गरेपछि सुरु भएको प्रसाद लगाउने र मान्यजनबाट आशीर्वाद लिने क्रम कोजाग्रत पूर्णिमाका दिनसम्म जारी रहन्छ ।

ताप्लेजुङको ग्रामीण क्षेत्रमा बसोबास गर्ने समुदायले भने अलैँची बगानमै दशैं मनाएका छन् । घरबाट टाढा रहेको बगानमा अलैँची टिप्न आएका किसान कामको चटारोले गर्दा घर जान पाएनन् ।

घरबाट निस्किएका फक्ताङलुङ गाउँपालिका–६ फेम्बूका विर्खबहादुर लिम्बू अलैँची बगानदेखि घर फर्किएका छैनन्। फक्ताङलुङ गाउँपालिका–५ ओखरबाटेको अलैँची बगानमा उनको दिनचर्या बितिरहेको छ । अहिले  लिम्बूको परिवार नै बगानमै छ। दैनिक आठदेखि १२ खेताला लगाइरहेका उनले यस वर्षको दशैं पनि यही बगानमा मनाए ।

फक्ताङलुङ–५ तामावाका पूर्ण लिम्बू पनि अलैँची बगनमै दशैं मनाए । बगानमा अलैँची टिप्न, छोडाउन र सुकाउन धमाधम भएकाले उनको परिवार दशैंमा घर फर्कन नपाएको हो। “टिप्न थालेपछि यसलाई गुम्स्याउने,  छोडाउने र सुकाउने गर्नुपर्छ,” उनले भने  “खेतालालाई छुट्टी दिए पनि घरको मान्छेले त बगान छोड्न पाइँदैन ।”

सुकाइसकेपछि बल्ल बगानको काम सकिन्छ । त्यसैले दशैंका बेला पनि अलैँची बगनमै बस्नु परेको उनले सुनाए ।

सिरिजङ्गा–६ मामाङ्खेका हर्क लिम्बूले पनि यस वर्ष टीका लगाउन पाएन । बगानमा धमाधम काम भएकाले घर जानै सकेनन् । ठूलो बगानमा टिपिरहेका उनले तिहारअघि नै काम सकेर फर्कने योजना बनाएका छन् ।

जिल्लाका प्रायः किसान यति बेला अलैँची भित्र्याउने ध्याउन्नमा छन् । औलमा टिपिसकेको भए पनि मध्य र लेकाली क्षेत्रमा यति बेला धमाधम टिप्ने र सुकाउने काम भइरहेको छ ।

मजदुर पाउनै गाह्रो

केही वर्ष अगाडि सीमित क्षेत्रमा मात्र अलैँची खेती गरिन्थ्यो । तर, सात वर्ष पहिला अलैँचीको बजार मूल्य एक लाख २० हजार रुपैयाँसम्म पुग्यो । राम्रो बजार मूल्य पाएको वर्षदेखि अलैँची बगान विस्तार हुन थाल्यो । केही वर्ष अगाडि सहायक खेतीका रूपमा अलैँची खेती गरिन्थ्यो ।

अलैँचीले राम्रो बजार मूल्य आएसँगै पुख्र्यौली खेतीपातीका रूपमा गर्दै आएको धान, मकै, कादो जस्ता प्रमुख अन्न खेती हुने जमिनमा पनि किसानले अलैँची खेती विस्तार गरेका छन् । अलैँचीको राम्रो बजार मूल्य पाएसँगै वैदेशिक रोजगारीमा जान तम्सिएका युवाहरू खेती गर्न आकर्षित भएका छन् ।

वैदेशिक रोजगारीको सिलसिलामा विदेश पुगेकाहरू पनि फर्किएर गाउँमै अलैँची खेती गर्न थालेका छन् । बिस्तारै जिल्लामा अलैँची बगानको विस्तार हुन थालेको कृषि ज्ञान केन्द्र कार्यालय ताप्लेजुङले जनाएको छ किसानका अनुसार जिल्लामा तीन चरणमा अलैँची टिप्ने गरिन्छ । औल अर्थात् एक हजार दुई सय मिटरसम्मको उचाइमा लगाइएको अलैँची भदौ पहिलो सातादेखि नै टिप्ने गरिन्छ ।

यस्तै, एक हजार दुई सयदेखि एक हजार आठ सयसम्मको उचाइमा गरिएको अलैँची खेतीमा असोज पहिलो सातादेखि टिप्न सुरु गरिन्छ । एक हजार आठ सयदेखि माथि लेक क्षेत्रमा कात्तिकदेखि अलैँची टिप्ने गरिएको किसानको भनाइ छ । ताप्लेजुङमा करिब चार हजार पाँच सय हेक्टर क्षेत्रफल बराबरमा अलैँची खेती गरिँदै आएको छ । उक्त खेतीबाट दुई हजार पाँच सय मेट्रिक टन अलैँची उत्पादन हुने गरेको तथ्याङ्क रहेको छ । यस वर्ष अलैँचीको मूल्य पनि राम्रो आएकाले अलैँची किसान उत्साहित भएका छन् ।

अलैँची खेती हुने क्षेत्रमा प्रायः सबै गाउँलेको अलैँची बगान छ । आफ्नो बगानमा आफैँले टिप्न सकिँदैन । समयमै टिप्न नसक्दा जङ्गली जनावरले पाकेको फल खाइदिने गर्छन् । त्यसका लागि समयमै टिपेर भित्र्याउनु पर्छ । तर, विगतका वर्षमा जस्तो खेताला पाउन छोडेको फक्ताङलुङ गाउँपालिका—५ का अलैँची किसान कुमार राईले सुनाए । भन्छन्, “आजभोलि खेताला पाउनै गाह्रो छ । गाउँभरि पैसा बोके खेताला खोज्दा पनि पाइँदैन । सबैलाई आफ्नै बगानमा टिप्न भ्याइनभ्याई हुन्छ ।”