Nepal
This article was added by the user . TheWorldNews is not responsible for the content of the platform.

भरतपुर अस्पतालमा पर्याप्त दरबन्दी न उपकरण

८ कात्तिक, चितवन । चितवनको भरतपुर अस्पतालमा बिरामीको चाप अत्यधिक भए पनि जनशक्ति र उपकरण त्यसअनुसार नहुँदा बिरामीहरुलाई गुणस्तरीय सेवा दिन नसकिएको चिकित्सकहरुले बताएका छन् ।

भरतपुर अस्पताल झण्डै १० वर्षयता ६०० बेडमा सन्चालन भइरहेको छ । सो अस्पताललाई सरकारले २०७५ सालमा ‘विशिटिष्कृत रेफरल अस्पताल’ घोषणा गर्दै ५ सय बेड स्वीकृत गरे पनि जनशक्ति भने एकजना पनि थपिदिएन । ओएनएम सर्भेमा एक हजारभन्दा बढी सरकारी दरबन्दी आवश्यक रहेको निष्कर्ष निकालिए पनि अर्थ मन्त्रालयले स्वीकृत नगर्दा हेपिएको महसुस भएको अस्पतालका अधिकारीहरु बताउँछन् ।

भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट (मेसु) प्रा.डा.कृष्णप्रसाद पौडेलका अनुसार राजधानी काठमाडौं बाहिर दैनिक झण्डै तीन हजार जना बिरामी ओपीडीमा उपचारका लागि आउने सरकारी अस्पताल भरतपुर नै रहेको ठोकुवा गर्छन् । अस्पतालमा सबैभन्दा धेरै बिरामीहरु मेडिसिन विभागमा आउँछन् । बिरामीको बढ्दो चापलाई मध्यनजर गरेर अस्पतालले मेडिसिनका मात्रै ५ वटा ओपीडी चलाएको छ । यति गर्दा पनि बिरामीको चाप घटेको देखिँदैन ।

मेडिसिन विभागमा असाध्यै भीड लाग्ने भएपछि अस्पतालले बिहानी सत्रमा नियमित औषधि सेवन गर्ने बिरामीलाई सेवा दिन थालेको छ । सुगर, थाइराइड तथा अन्य रोगका औषधि लिनुपर्ने बिरामीलाई बिहानमा सेवा दिँदासमेत चाप कम देखिँदैन ।

‘हामीले एक दिनमा अधिकतम कति जनासम्म बिरामी हेर्ने हो, थाहै छैन, जति आउँछन् सबैलाई हेर्नुपर्ने बाध्यता छ,’ मेडिसिन विभागका एक चिकित्सकले भने, ‘छिटो–छिटो हेर्नुपर्ने हुँदा कहिलेकाहिँ त बिरामीको गुणस्तरीय सेवा पाउने अधिकार नै हनन् भएजस्तो लाग्छ ।’

अस्पतालमा मेडिसिन पछि अर्थोपेडिक विभागमा ४ र प्रसूतिमा ४ वटा ओपीडी चल्छन् । अस्पतालका अनुसार गत असोज ५ गते ओपीडीमा मात्रै २ हजार ८९६ जना बिरामीले उपचार गराएका थिए ।

आकस्मिक कक्षमा सबैभन्दा धेरै १७५ जना आएको रेकर्ड छ । यसअघि आकस्मिक कक्षमा १२ शय्या रहे पनि बिरामीको चाप बढ्दै गएपछि हाल ५० शय्या पुर्याइएको छ ।

अस्पतालका सूचना अधिकारी गोपाल पौडेलका अनुसार भरतपुर अस्पताल यसै पनि बिरामीको बढी चाप हुने अस्पतालमा पर्दछ, झन् त्यसमाथि स्वास्थ्य बीमा कार्यक्रम र विशिष्टिकृत सेवाका कारण अस्पतालमा बिरामीको चाप थामी नसक्नु छ ।

सूचना अधिकारी गोपाल पौडेलका अनुसार गत आर्थिक वर्षमा ३ लाख ७ हजार १२१ जना ओपीडीमा सेवा लिन आएका थिए । ओपीडीमा आएकामध्ये ३१ हजार १३७ जना भर्ना भएर उपचार गराएका थिए ।

गत वर्ष अस्पतालको बेड अकुपेन्सी (बिरामीले बेड भरिने) दर ८१ प्रतिशत थियो । गत वर्ष कुल ओपीडीमा आएका ३ लाख ७ हजार १२१ मध्ये २ लाख २१ हजार ३३१ जना स्वास्थ्य बीमा गरेका बिरामीहरु थिए । अस्पताल आउनेमध्ये ७० प्रतिशतसम्म बिरामीहरु स्वास्थ्य बीमा गरेकाहरु हुने गरेको सूचना अधिकारी पौडेल बताउँछन् ।

उनका अनुसार प्रसूति सेवामा काठमाडौंको थापाथलीस्थित प्रसूति गृह पछि सबैभन्दा धेरैले सुत्केरी सेवा लिने अस्पतालमा पर्दछ, भरतपुर अस्पताल । ९ महिनासम्म अन्यत्र निजी अस्पतालमा गर्भ परीक्षण गराएकाहरु पनि भरतपुर अस्पतालमा नै प्रसूति सेवा लिन आउँछन् ।

अस्पतालमा शल्यक्रिया गर्नुपर्ने बिरामीको चाप बढेका कारण हाल रहेको सात शल्यक्रिया कक्ष बढाएर १५ वटा बनाइएको छ । प्रसूतिका लागि अलग्गै अप्रेशन कक्ष छ । चौबिसै घण्टा अप्रेशन चलिरहेको हुन्छ । नवजात शिशु तथा बालबालिका, सर्जरी लगायतका विभागमा पनि बिरामीको चाप उत्ति नै छ । धेरै प्रसूति गराउने मध्येमा भरतपुर अस्पताल रहे पनि बच्चाको सर्जन छैनन् । एनएसथेसियोलोजिष्टको पनि अभाव छ ।

अस्पतालमा मुटु रोगको उपचारका लागि चाहिने क्याथ ल्याब र एमआरआई मेसिन छैन । एमआरआई मेसिन खरिदका लागि टेण्डर भएर सम्झौता भैसकेको भनिए पनि टेण्डर प्रकृया नै विवादमा परेपछि मेसिन आउन ढिलाइ भएको छ । अस्पतालमा दैनिक १५/२० जना बिरामीहरु एमआरआई गर्नुपर्ने अवस्थाका आउने गरेका चिकित्सकहरु बताउँछन् ।

बिरामी संख्या र सेवाका हिसाबले बीर र टिचिङकै हाराहारीमा छौं, तर जनशक्ति र उपकरणका हिसाबले भरतपुर अस्पताललाई हेयको दृष्टिकोण राखेको अनुभूति हुन्छ- मेसु प्रा.डा.कृष्णप्रसाद पौडेल

दरबन्दी कम

६ सय बेड क्षमताको अस्पताल पछिल्ला दिनमा भरिभराउ छ । ६ सय बेड क्षमताको अस्पतालमा सरकारी दरबन्दी भने पियनदेखि मेसुसम्म जम्मा १७७ जनाको छ । तीमध्ये ४५ जना मात्रै सरकारी दरबन्दीका चिकित्सक छन् । केही छात्रवृत्ति र करारका छन् । बाँकी १२० जना चिकित्सक अस्पताल विकास समितिले आर्थिक भार व्यहोर्ने गरी राखिएका छन् । सरकारी चिकित्सकहरुको दरबन्दी धेरैको खाली नै छ । सरकारी दरबन्दीका नर्स जम्मा ३७ जना छन्, बाँकी सबै समितिका हुन् ।

६६५ जना चिकित्सक तथा कर्मचारीहरुको आर्थिक दायित्व अस्पताल विकास समितिले बोकिरहेको छ । अस्पतालले वार्षिक ३५ करोडभन्दा बढी रकम विकास समितिले राखेका चिकित्सक तथा कर्मचारीहरुको तलव भत्तामा खर्च हुने गरेको सूचना अधिकारी पौडेल बताउँछन् ।

२०६७ सालमा अस्पतालको बेड संख्या १५० बाट बढाएर ३ सय (सरकारी १५० र अस्पताल विकास समिति १५०) स्वीकृत गराइएको थियो । तर बिरामीको चाप बढेसँगै अस्पताल भने ६०० बेडमा सन्चालन भइरहेको थियो । २०७५ फागुन ३ गते बसेको मन्त्रिपरिषद् बैठकले भने ५०० बेड स्वीकृत गर्दै ‘विशिटिष्कृत रेफरल अस्पताल’ बनाउने निर्णय गरेको थियो । सरकारले ५०० बेड स्वीकृत गरे पनि दरबन्दी भने एक जना पनि थपेको छैन ।

यो क्षमताको अस्पतालका लागि १ हजार ८७ दरबन्दी चाहिने भए पनि सरकारको दरबन्दी जम्मा १७७ मात्रै रहेको अस्पतालका मेसु पौडेल बताउँछन् । उनका अनुसार ओएनएम (अर्गनाइजेसन एण्ड म्यानेजमेन्ट) सर्भे गरेर स्वास्थ्य मन्त्रालयबाट स्वीकृत गराई अर्थ मन्त्रालयमा पठाइएको भएपनि अर्थले अहिलेसम्म स्वीकृत नगर्दा कामकाज गर्न निकै समस्या भएको बताए  ।

भरतपुर अस्पतालका मेसु प्रा.डा.कृष्णप्रसाद पौडेल

‘अन्यत्र अस्पतालहरुमा दरबन्दी थप गरिरहेको हामीले सुनिरहेका छौं, हामीलाई भने आर्थिक संकट छ, सरकारको दरबन्दी थप्ने नीति छैन भनेर सुनाइन्छ,’ मेसु. डा. पौडेलले भने, ‘भरतपुर अस्पताल माथिको हेपाहा नीतिका कारणले हामीलाई समस्या भयो, हामीले आफ्नो तर्फबाट शतप्रतिशत दिने प्रयास गरिरहेका छौं ।’

उनका अनुसार भरतपुर अस्पताल स्वास्थ्य बीमाको दावी र भुक्तानी लिने पनि देशकै पहिलो अस्पताल हो । गत वर्ष बीमाकै रकमबाट अस्पतालको खर्च धानिएको बताउँदै अस्पतालका मेसु पौडेलले यसपटक भने बीमा बोर्डको लफडाले मार आफूहरुले भोग्नुपर्ने हो की भन्ने चिन्तामा रहेको बताए । उनले यस्तो अवस्था आए चिकित्सक, नर्स तथा अन्य प्राविधिक जनशक्तिलाई धेरै होल्ड गर्न नसकिने बताए ।

एउटा विभागमै छैनन् सरकारी चिकित्सक

अस्पतालको सर्जरी विभागमा दैनिक २ सय जना बिरामी उपचारका लागि आउने गर्दछन् । तर, यो विभागमा एक जना पनि सरकारी दरबन्दीमा चिकित्सक छैनन् । अस्पताल विकास समितिले राखेका १० जना चिकित्सकको भरमा सर्जरी विभाग धानिएको डा. दीपेन्द्र न्यौपानेले जानकारी दिए ।

‘हामी सबैजना अस्पताल विकास समितिका चिकित्सक छौं, हामीहरुले नै विभाग धानेका छौं, सरकारी दरबन्दीका चिकित्सक भए सबैलाई सहज हुन्थ्यो’ डा. न्यौपानेले भने, ‘दरबन्दी हुने तर चिकित्सक नभएकाले अस्पताल विकास समितिमाथि भार पर्ने नै भयो ।’

सर्जरी विभागमा ११ औं तहका १ जना चिकित्सकको दरबन्दी भए पनि विगत ५ महिनादेखि खाली छ । अस्पतालमा आउने २ सय जना बिरामीमध्ये ५० जनाको सानो/ठूलो अप्रेशन गर्नुपर्ने केसहरु हुने डा. न्यौपानेले जानकारी दिए ।

सर्जरी विभागका लागि हप्तामा ३ दिन सोमबार, बुधवार र शुक्रवार मात्रै अप्रेसनको पालो तोकिएको छ । तीन दिनमा २५ जनाको अप्रेशन तालिका अनुसार गर्न सकिने तर बाँकी बिरामीको गर्न नसकिने हुँदा पित्तथैली तथा हर्नियाँका बिरामीहरुको अप्रेशन तालिका २०८१ जेठसम्मको पुगेको छ । ‘कि त बिरामी रोग पालेर बस्नुपर्यो की त निजीमा गएर महंगो शुल्कमा अप्रेशन गर्नुपर्यो, योभन्दा अर्को विकल्प देखिँदैन,’ डा.न्यौपाने भन्छन्, ‘हाम्रो विभागलाई हरेक दिन अप्रेशनको तालिका राखेर थ्रियटर पाए मात्रै बिरामीलाई सहज हुन्छ ।’

मेसु डा. कृष्णप्रसाद पौडेल काठमाडौंको त्रिवि शिक्षण अस्पताल र बीर अस्पतालभन्दा पछि सबैभन्दा बढी बिरामीले उपचार गर्ने अस्पतालमा भरतपुर अस्पताल पर्ने बताउँछन् । ‘बिरामी संख्या र सेवाका हिसाबले बीर र टिचिङकै हाराहारीमा छौं, तर जनशक्ति र उपकरणका हिसाबले भरतपुरलाई हेयको दृष्टिकोण राखेको अनुभूति हुन्छ,’ मेसु डा. पौडेल भन्छन्, ‘सरकारी अस्पतालको सेवा निःशुल्क भन्ने तर दरबन्दी र उपकरण नदिँदा कसरी नागरिकले सेवा पाउँछन् ?’