Nepal
This article was added by the user . TheWorldNews is not responsible for the content of the platform.

चीनमा पनि नेपाली क्रिकेट पछ्याइरहेका फ्यान

आइतबार बिहान चीनको हाङझाउस्थित झेजियाङ युनिभर्सिटी अफ टेक्नोलोजी पिङफेङ क्रिकेट मैदानमा नेपाल र माल्दिभ्सबीचको खेल चलिरहेको थियो। विश्वविद्यालयको मैदानको पूर्वतर्फको प्यारापिट भरिएको थियो। यति धेरै चिनियाँ समर्थक देखेपछि हामी छक्क पर्‍यौं।

त्यहाँ एक दर्जन जति नेपाली समर्थक पनि थिए। उनीहरू चिनियाँ भाषामा हुटिङ गर्दै नेपाली टिमको हौसला बढाइरहेका थिए। हुटिङको नेतृत्व गरिरहेका थिए, सुमन सापकोटा।

सापकोटा चीन आएको २० वर्ष पुग्नै लागेछ। सन् २००४ मा उनी पढाइको सिलसिलामा यहाँ आएका थिए। इलोक्ट्रोनिक्स इन्जिनियरिङको पढाइ पूरा गरेपछि अहिले उनी एउटा अन्तर्राष्ट्रिय विद्यालयमा पढाइरहेका छन्।

उनी क्रिकेटका कट्टर फ्यान हुन्। उनी नेपालको अन्तर्राष्ट्रिय खेल त पछ्याउँछन् नै अरू टिमको पनि खेल हेर्छन्।

उनले प्यारापिटमा रहेका चिनियाँले क्रिकेट नबुझे पनि एसियाली खेलकुदलाई सफल पार्न मैदान आएको बताए।

‘यहाँ आएका ९० प्रतिशत मानिसलाई मैदानभित्र के भइरहेको छ भन्ने थाहा छैन होला,’ सापकोटाले भने, ‘चीनमा कुनै पनि कार्यक्रम भयो भने त्यसलाई पर्व जसरी मनाइन्छ। त्यसैले यहाँ आएका धेरै मानिस यहाँको माहोल हेरेर रमाइलो गर्न आएका हुन्।’

विदेशी भूमिमा रहे पनि नेपाली क्रिकेटको बारेमा जानकारी राख्ने सापकोटाले नेपाली खेलाडीले साधन र स्रोतबिना नै राम्रो खेलेको प्रतिक्रिया दिए।

‘हाम्रो देशमा यत्तिको रंगशाला पनि छैन, क्रिकेट नै नहुने ठाँउमा यस्तो रंगशालामा छ,’ उनले भने, ‘साधन स्रोत नहुँदा पनि यस्तो राम्रो खेल खेल्ने खेलाडीलाई हौसला दिनुपर्छ भनेर हामी चिनेजानेका सबै जना साथीहरू यहाँ आएका हौं।’

The web
The web

पिङफेङमा क्रिकेट हुँदैछ भन्ने कुरा नेपालीहरूले एक वर्षअघि नै थाहा पाएका थिए। नेपालको खेल हेर्नका लागि अनलाइट टिकट खोज्दा सबै सकिएपछि समस्या भएको सापकोटाले बताए। कतिपय फ्यान नेपाल र मंगोलियाबीचको खेल हेर्नका लागि टिकट नपाएपछि पिङफेङ आएर फर्किएका थिए।

‘यही विश्वविद्यालयमा पढ्ने एक जना भाइले ९-१० वटा टिकट किनेर सहयोग गर्नु भएकाले हामीले आजको खेल हेर्न पायौं,’ उनले भने, ‘हामी ९ बजेको खेलका लागि साढे ७ बजे नै भेला आएर आएका हौं।’

१० किलोमिटर टाढाको चच्याङ युनिभर्सिटीबाट नेपालको खेल हेर्न आएकी अर्की फ्यान हुन्, शिखा उपाध्याय खतिवडा।  उनी पनि क्रिकेटकी पारखी हुन्। उनले नेपालले भर्खरै खेलेको एसिया कपका सबै खेल हेरेकी थिइन्।

‘पहिला भारतको खेल हेर्थ्यौं भने अहिले हाम्रो नेपालको राष्ट्रिय टिम नै भारतलगायत टिमसँग खेल्दा सबै खेल हेरिरहेको हुन्छु,’ पब्लिक हेल्थमा पिएचडीका लागि चीन आएकी खतिवाडाले भनिन्।

cricketinchinafan-1696153682.jpg

२ घन्टा यात्रा गरेर आएकी अर्की नेपाली फ्यान मनीषा राईले मंगोलियाविरूद्धको खेल टिकट नपाएकाले हेर्न पाइन्। तर पिङफेङमै पढ्ने नवीन महतराले काउन्टरबाट टिकट काटदिएपछि भने उनले आज क्रिकेट हेर्न पाइन्।

महतरा झेजियाङ युनिभर्सिटी अफ टेक्नोलोजी पिङफेङमै मेकानिकल इन्जिनियरिङ पढिरहेका छन्। उनी चीन आउँदा अहिले क्रिकेट मैदानमा भएको स्थानमा सनफ्लावरको बगैंचा थियो।

‘एसियन गेम्सकै लागि भनेर यहाँ सनफ्लावरको बगैंचा हटाएर लेबलिङ गर्दै क्रिकेट मैदान बनाइएको हो,’ उनले भने, ‘चिनियाँलाई क्रिकेटबारे त्यति थाहा छैन। अस्ति नेपालले विश्व रेकर्ड बनायो। तर उनीहरूलाई विश्व रेकर्डको मतलब थिएन। उनीहरू त मंगोलियाले २ रन लिँदा हुटिङ गरिरहेका थिए।’

क्रिकेट मैदान बनिरहँदा नेपाली टिम पनि चीन आउन लागेको उनले थाहा पाएका थिए। उनले नेपालको महिला क्रिकेट टोली एसियाली खेलकुदमा सहभागी नभएकोमा दु:ख व्यक्त गरे।

यो मैदानमा एसियाली खेलकुदमा पहिलो पटक क्रिकेट खेलिएको हो।

‘यो मैदानमा हामी विश्वविद्यालयका विद्याथीलाई पनि खेल्न दिइएको थिएन। तर नेटमा भने हामीले अभ्यास गर्न पायौं,’ उनले भने, ‘सायद एसियाली खेलकुदपछि हामीले पनि यो मैदानमा खेल्न पाउछौं होला।’