Nepal
This article was added by the user . TheWorldNews is not responsible for the content of the platform.

धनगढी उपमहानगरले फेला पार्‍यो अतिक्रमण परेका ८४ वटा ताल-तलैया

धनगढी उपमहानगरपालिकाले विभिन्न वडामा ८४ वटा ताल फेला पारेको छ। २०२१ सालको नापी नक्साअनुसार प्राकृतिक तथा कृतिम तालहरूको खोजी भएको हो।

सबैभन्दा बढी ताल वडा नम्बर १० मा फेला परेका छन्। उपमहानगरपालिकाले दिएको विवरणअनुसार वडा नम्बर १० मा मात्रै १२ ओटा ताल छन्। 

जुगेडा गाउँमा रहेका भष्मा ताल, चौकी ताल, कुमड ताल, सेता ताल, मर्छेहा ताल, जुती ताल, भग्हर ताल भोगचलन गरेको अवस्थामा छन्।

यस्तै सोही वडाका सुनबोरा, फुलनैया, मटगहना, नसिया र मदेहर ताल पनि भोगचलनमा रहेको उल्लेख गरिएको छ।

धनगढी-१ मा रहेको झागडा ताल पुरै अतिक्रमणमा परेको देखिएको छ। यसको पाँच बिघा ७ कट्ठा क्षेत्रफल अतिक्रमण भएको उपमहानगरपालिकाले जनाएको छ।

वडा नम्बर २ मा रहेको तिल्के तालको संरक्षण गरिएको छ। वडा नम्बर ३ मा रहेका दुई वटा गढैया ताल अतिक्रमण नभएको र गत आर्थिक वर्षमा खनी गहिरो पारिएको छ। यसै वडाको नेतुवा तालमा वाटर पार्क निर्माण भइरहेको छ।

वडा नम्बर ५ मा लब्लीचोक उत्तरमा रहेको ७५० वर्ग मिटर क्षेत्रफलको पोखरी र हसनपुरको पुरानो बोरिङ नजिक ५ हजार ८५५ वर्ग मिटर क्षेत्रफलमा फैलिएको पोखरी अतिक्रमण भएर घर बनेका छन्।

वडा नम्बर ६ मा बिजुलीया गाउँको नठुनिया ताल, लमही ताल, कुइलही ताल, सुलखैया ताल, ठूलो नजरिया ताल, लमही ताल, सानो नजरिया ताल, बुद्ध ताल र डबरा ताल नक्सामा देखिएका छन्।

The web
The web

यस्तै वडा नम्बर ७ मा सडुवा बाबा ताल, अन्टा ताल, मनिया ताल र लम्बा तालमा घर बनेका छन्। पोखरी तालमा खेत आवादी रहेको, जाखौर ताल संरक्षित भएको, सिरेगडैयामा, चन्द्रमूखी ताल, दक्षिण गडैया ताल मुरफुट्टामा पोखरी नै छ।

वडा नम्बर ८ मा बन्धवा ताल अतिक्रमणमा परेको छ भने र तौलाहा ताल उपमहानगरपालिकाको मातहतमा रहेको छ।

वडा नम्बर ९ मा रहेका चौफेरी ताल उपमहानगरपालिकाले ठेक्कामा दिएको छ भने चन्द्रमूखी ताल भवानी माध्यमिक विद्यालयको मातहतमा रहेको छ। स्कुलले १५ वर्षका लागि वार्षिक ३५ हजारका दरले केही वर्ष अघिदेखि भाडामा दिएको छ।

वडा नम्बर ११ मा पधनिया, बेला ताल र दुदैया तालमा माछा पालन गरिएको छ। बेलादेवीपुर धाम ताल र थप एक पोखरी यहाँ छ। वडा नम्बर १२ मा जंगलको बीचमा ऋसैना ताल छ। वडा नम्बर १३ मा रहेको मटकन्ना तालको केही भाग अतिक्रमणमा परेको छ।

वडा नम्बर १४ मा रहेका बक्तैहिया ताल, लामोहाल ताल, कुशमौहिया, ममता ताल, रामलक्ष्मण ताल, शिव ताल र लाटोमरेको ताल माछापालनका लागि ठेक्का दिइएको अवस्थामा छन्। वडा नम्बर १५ मा रहेको भगहर ताल, चकैगढैया ताल, बढिगदैया ताल र करहिदबरा ताल पनि माछापालनकै लागि ठेक्कामा दिइएको अवस्थामा रहेका उपमहानगरपालिकाले जनाएको छ।

धनगढीको वडा नम्बर १६ मा महादेवा ताल बेहडाबाबा धार्मिक वन रामपुरमा छ। सहदेव ताल, नौ ताल, जुगनिया ताल, घुरही ताल, दीपेन्द्र चारपाते ताल, पोखरी र वन तलैया माछा पालन भइरहेको पाइएको छ।

वडा नम्बर १७ मा रहेका पथरी पोखरी, सरौटा, कुसुम ताल र थप २ पोखरी वनभित्र छन्। वडा नम्बर १८ मा नुकिल ताल, तीन टुरपी ताल र श्री कृष्ण ताल प्रयोग नभएको पाइएको छ। यस्तै लालीगुँरास र पतञ्जली तालमा माछापालन भइरहेको पाइएको छ।

वडा नम्बर १९ मा सौनहिया बड्का ताल, सौनहिया छोट्का ताल, छोरलहुवा गुलयारी ताल, मझरिया ताल, छोरलहुवा ताल प्रयोगमा नरहेको र पुरैना तालमा माछा पालन भइरहेको उपमहानगालिकाले जनाएको छ।

उपमहानगरपालिकाका डिभिजनल इन्जिनियर दिजराज भट्टले डुबानको समस्या हटाउन, जमिनमुनिको पानी पुनर्भरण गर्न र पर्यटनको विकासका लागि पनि यस्ता तालको खोजी भइरहेको बताए। धनगढी उपमहानगरपालिकाले तालको संरक्षण र अतिक्रमण खाली गर्ने काम गत वर्षदेखि नै गर्दै आएको छ। यीबाहेक थप ताल वा पोखरीबारे पनि खोजी भइरहेको भट्टले बताए।

धनगढी-उपमहानगरपालिकाका मेयर गोपाल हमालले धनगढीको डुबानको समस्या हटाउन र भूमिगत जलस्रोतलाई घट्न नदिन उपमहानगरपालिकाले यसअघि अतिक्रमणमा परेका ताल, तलैया, खोलानाला, कुला खोजेर पहिलेकै अवस्था फर्काउन थालेको बताए। फेला परेका तालमा भएको अतिक्रमण हटाइने र पहिलैकै अवस्था फर्काइने उनले जानकारी दिए।

‘बस्ती विकास भइरहेको छ। रूख छैन। हिजोका प्राकृतिक ताल छैनन्। मान्छेले आँगन पनि पक्की बनाए। जमिनले पानी सोस्ने सतह घट्दै गएको छ। भूमिगत पानी निकाल्ने प्रवृत्ति बढ्दै छ। यसो भएपछि त भूमिगत पानी घट्ने भयो, एकदिनकै वर्षाका कारण पनि पानी निकास हुने ठाउँ नहुँदा डुवान हुन्छ, कुलानाला, ताल-तलैया पहिलेकै अवस्था फर्किए डुबान पनि निकास हुन्छ,’ हमाल भन्छन्।

उनका अनुसार ताल, कुला र खोला खोज्ने काम उपमहानगरपालिकामा अहिले पनि जारी रहेको छ।