Nepal

'दुई बैरी देशका युवा एकसाथ बसेर सुन्दर संगीत बनाउन सक्छन्'

(भारतीय पूर्वविदेश सचिव निरूपमा राव 'साउथ एसियन सिम्फोनी अर्केष्ट्रा'की संस्थापक हुन्। रावको नेतृत्वमा हालै नेपाललगायत सार्क राष्ट्र र गैरप्रवासी भारतीय गरी ७७ जना कलाकारको समूहले 'चिरागः अ कन्सर्ट बियोन्ड बोर्डर्स' शीर्षकमा मुम्बईमा अर्केष्ट्रा प्रस्तुति गर्यो। सोही कार्यक्रमको सन्दर्भमा रावले राज्यसभा टेलिभिजनका प्रस्तोता इरफानसँग गरेको कुराकानीको भावानुवाद)

संगीतसँग मेरो बाल्यकालदेखिकै सम्बन्ध छ। हामी खुब रेडियो सुन्थ्यौं, संगीतको सौखिन भइयो। गीतका शब्द लेखेर याद गर्थ्यौं अनि गुनगुनाउँथ्यौं। किशोरावस्थामा गितार बजाउन थाल्यौं। उमेरसँगै संगीतसँग नाता कसिँदै आयो।

बुबा सेना हुनुहन्थ्यो। औरंगाबादमा उहाँको पोष्टिङ भएपछि स्नातकोत्तर त्यहीँ पढेँ। लगत्तै लोकसेवा परीक्षा दिएँ। 'विदेश सेवा'मा प्रवेश हुँदा २२ वर्षकी थिएँ। यो सन् १९७३ को कुरा हो। जागिरे भएपछि सुरूका केही वर्ष तालिम, स्थलगत काम र सरुवाको चक्करमा बित्यो। व्यावसायिक जिम्मेवारीबीच संगीतका लागि समय नै थिएन।

'अब फेरि संगीतमा सक्रिय हुनेछु,' उमेरले पचास नाघिसकेपछि एक दिन यस्तै सोच आयो। त्यो बेला दिल्लीमा थिएँ। पश्चिमी संगीतमा धेरै अनुभव र ज्ञान भएकी सितु सिंहसँग संगीत कक्षा लिन थालेँ। संगीतको लहडले मलाई ओपेरा गायन सिकायो।

ओपेरा गाउनु मेरो उद्देश्य थिएन। तर यसको खास विशेषता छ- योग वा प्राणायमजस्तै यसमा श्वासप्रश्वास विधिको धेरै महत्व हुन्छ। यसमा सास छातीभन्दा तलै रोक्दै-फ्याँक्दै आवाज निकालिन्छ।

तपाईंहरूले टिभी हेर्दा याद गर्नुभएको होला, ओपेरा गायनमा माइक्रोफोन प्रयोग हुँदैन। ठूल्ठूला अडिटोरियम र थिएटरमा उनीहरू आफ्नो आवाज 'प्रोजेक्ट' गर्न सफल हुन्छन्। यसलाई 'ब्रेथ कन्ट्रोल' (सास नियन्त्रण) भनिन्छ। पश्चिमी शास्त्रीय संगीतमा यो महत्वपूर्ण मानिन्छ। ओपेरामा संगीत विज्ञहरू सधैं गायकले सास कसरी दिन्छ भन्ने हेरिरहेका हुन्छन्।

यो केवल शारीरिक कुरा होइन। यसको असर र भावना प्रवाह कसरी अझ प्रभावकारी ढंगले गर्न सकिन्छ भन्ने बुझ्न मलाई रूचि जाग्यो। वैज्ञानिक र कलात्मक दुवै हिसाबले यो कुराले तान्यो। पश्चिमी शास्त्रीय संगीतको यो सबभन्दा रोचक पक्ष हो।

मेरो पेसामा धेरै सार्वजनिक कार्यक्रममा बोल्नु वा प्रेस वक्तव्य पढ्नु पर्थ्यो। यो सिकाइ उपयोगी थियो। मेरो आवाजलाई सही रुपमा प्रोजेक्ट गर्न कक्षा लिँदालिँदै गायनप्रति रुचि बढ्न थाल्यो।

श्रीलंकामा हाइ-कमिसनर हुँदा संगीतका थप कक्षा लिएँ। कन्सर्ट गर्न थालेँ। क्रमशः संगीतसँग मेरो सम्बन्ध पुनर्विकास भयो।

अवकाशपछि मैले सोचेँ, 'ठीक छ, म गाना गाउँछु, कन्सर्ट पनि दिन्छु तर समाजका लागि संगीतको उपयोग कसरी गर्ने?'

म विदेश सचिव हुँदा धेरै पोर्टफोलियोसँग व्यवहार गर्नुपर्थ्यो। अन्य देशसँग भारतको सम्बन्धको जटिलता त्यही बेला महशुस गरेकी थिएँ। हाम्रा छिमेकी देशसँग भारतको सम्बन्ध निकै संवेदनशील छ। यसपछाडि ऐतिहासिक कारण पनि छन्। जनधारणाको प्रभाव पनि छ।

सांस्कृतिक क्षेत्रमा समस्या कहाँ छ मैले बुझेकी थिएँ। मानव सम्बन्ध कसरी गाँसिन्छ थाहा पाएकी थिएँ। अवकाशपछि अलि एकाग्र भएर यही मानव सम्बन्धमा केन्द्रित हुने निर्णय लिएँ। किनकी मान्छेको जुन सपना छ, त्यो सबैको उस्तै हुन्छ।

नक्सामा हामी जुन सीमा वा रेखा कोर्छौं, त्यसले आममान्छेसँग कुनै सरोकार राख्दैन। मान्छे शान्तिपूर्वक बाँच्न चाहन्छन्। सुखद भविष्य चाहन्छन्। राम्रो शिक्षा, बाटोघाटो र सञ्चार सुविधा चाहन्छन्। यी सबै सामान्य सपना हुन्। तर प्रगतिका लागि अनिवार्य र निकै महत्वपूर्ण पनि।

दक्षिण एसियाको सभ्यतामा धेरै कुरा साझा छन्। हामी आठ देश छौं, जसलाई सार्क भन्छौं। आजकल त सार्कको उपयोगिता निकै कम भइसकेको छ। भारत दक्षिण एसियाको केन्द्र हो। आकारमा ठूलो र स्रोतसाधनमा पनि धनी छ। त्यही भएर मेरो तर्क हामीसँग स्पष्ट भिजन हुनुपर्छ भन्ने हो। यस क्षेत्रका मान्छेलाई नजिक ल्याउन र क्षमताले भ्याएसम्म यो क्षेत्रलाई एकताबद्ध गर्न सक्षम हुनुपर्छ।

राजनीतिक समस्या हाम्रो तहबाट सुल्झाउन नसकौंला। तर स–साना पाइला चालेर यस क्षेत्रका मानिसबीच थप समझदारी निर्माण गर्न पहल किन नगर्ने?

मेरा लागि सिम्फोनी अर्केष्ट्रा यो कामका लागि उपयुक्त माध्यम हो। इजरायल र प्यालेस्टाइनका बीचमा २० वर्षअघि यस्तै एउटा प्रयोग गरिएको थियो। त्यसको नाम थियो, 'इस्ट वेस्ट दिवान अर्केष्ट्रा'। विद्वान एडवर्ड सईद र संगीतकार डेनियल बेरेनबोइमको पहलमा भएको यो अर्केष्ट्राले रमल्लाह, वेस्ट बैंकमा ऐतिहासिक कन्सर्ट गरेको थियो। दुई बैरी देशका युवा पुस्ता मिलेर अर्केष्ट्रामा एक साथ बसेर धेरै बाजाहरूका साथमा सुन्दर संगीत बनाउन सकिन्छ भन्ने सन्देश दिए।

संगीतले शान्ति र सहअस्तित्वको सम्भावनाको सन्देश बोल्छ। म सम्भावना शब्दमा जोड दिइरहको छु। यस्तै सम्भावना र महत्व बुझेर मेरो श्रीमान् सुधाकर र मैले बैंगलरुमा फाउन्डेसन स्थापना गर्यौं। साउथ एसियन सिम्फोनी अर्केष्ट्रा तयार पार्ने यसको मुख्य उद्देश्य थियो। यो एउटा सपना थियो। तपाईं यसलाई धेरै टाढाको सपना भन्न सक्नुहुन्छ।

सपना पूरा गर्न लगनशील भएर अर्केष्ट्राका लागि भारतबाहेक नेपाल, बंगलादेश, भुटान, श्रीलंका र अफगानिस्तानका कलाकारबारे बुझ्ने, सूचना संकलन गर्ने, सम्पर्क गर्ने आदि काममा सक्रिय भएँ।

युरोप-अमेरिकामा सेटल भएका प्रवासी साउथ एसियन्सका केही प्रतिभासँग पनि हाम्रो भेट भयो। हाम्रो कन्डक्टर विश्वा सुब्बरमणका अभिभावक तमिलनाडुका हुन्। विश्वा अमेरिकामा जन्मे-हुर्के। म अमेरिकाका लागि राजदूत हुँदा उनीसँग सम्बन्ध बनाएँ।

उनी विस्कन्सनमा अर्केष्ट्राको काम गरिरहेका थिए। त्यहाँ उनको प्रस्तुतिपछि विश्वासँग कुरा गरिरहेका बेला मलाई साउथ एसियन अर्केष्ट्राको काम गर्ने आइडिया फुर्यो। उनी पनि उत्साहित भए। त्यसपछि म रिटायर भएर बैंगलुरु फर्किएँ।

म अमेरिकन युनिभर्सिटीमा पढाउँथे, धेरै लेख्थेँ पनि। निकै व्यस्त थिएँ। तर एउटा सपना थियो, जुन मैले बिर्सेको थिइनँ। अन्ततः गत वर्ष २०१८ मा बैंगलरुमा एउटा गैरनाफामुखी ट्रस्ट स्थापना गरेँ- साउथ एसियन सिम्फोनी फाउन्डेसन।

त्यसको उद्देश्य थियो– साउथ एसियन सिम्फोनी अर्केष्ट्रा।

'चिरागः द साउथ एसियन सिम्फोनी अर्केष्ट्रा' कार्यक्रममा। तस्बिरः साउथ एसियन सिम्फोनी फाउन्डेसन।

यसरी विस्तारै हामीले साथीहरूसँग सल्लाह गर्दै, इन्टरनेट चाहरेर, जानकारी बटुल्यौं र ७७ जना संगीतकारलाई एकै ठाउँमा ल्यायौं। र, साउथ एसियन सिम्फोनी अर्केष्ट्रा घोषणा गर्यौं।

अप्रिल २६ मा मुम्बईमा गरिएको पहिलो कन्सर्टलाई मैले 'चिराग' नाम दिएँ। हाम्रो वरिपरि, चारैतिर जुन अन्धकार छ, त्यो अँध्यारो चिर्दै हामीलाई अघि बढ्न बाटो देखाउने चिरागले नै हो। हाम्रो अर्केष्ट्रालाई पनि 'चिरागः द साउथ एसियन सिम्फोनी अर्केष्ट्रा' भन्ने निर्णय गरेका छौं। 

मुम्बईको कार्यक्रम सिम्फोनी भएकोले पश्चिमी शास्त्रीय संगीतमा आधारित कम्पोजिसनबाट सुरू गर्यौं। भारतको राष्ट्रगानको अत्यन्तै सुन्दर 'रेन्डिसन'बाट कार्यक्रम सुरु भयो।

अफगानिस्तान, श्रीलंका, नेपाल, बंगलादेश, भुटान, भारत र डायस्पोराका सबै कलाकार मिलेर राष्ट्रगान बजाउनुको प्रतीकात्मक अर्थ छ। यसको मतलब यो हैन कि हामी यो क्षेत्रमा आफ्नो प्रभुत्व जमाउन खोजिरहेका छौं। म के भनिरहेछु भने, उनीहरू सबैले एकैपटक व्यवसायिक रुपमा, संगीतकारका रुपमा बजाए।

उनीहरूको मनमा यो अर्काको राष्ट्रगान हो भन्ने भाव थिएन। राष्ट्रगानको कम्पोजिसन बज्दा जो-जो उभिन सक्थे, उभिए। केही वाद्यवादन निकै ठूला भएकोले बोकेर उभिन गाह्रो थियो। तै पनि धेरै कलाकारको उत्साह देखिन्थ्यो।

त्यसपछि हामीले 'इन्भोकेसन' प्रस्तुत गर्यौं। तपाईंले मसहुर 'मैत्रिम भजत'बारे सुन्नुभएको होला। सन् १९६६ मा सुप्रसिद्ध गायिका एमएस सुब्बलक्ष्मीले संयुक्त राष्ट्र अमेरिका, मुख्य कार्यालय न्युयोर्कमा मैत्रिम भजत प्रस्तुत गरेकी थिइन्। त्यसैले यसलाई पश्चिमी सिम्फोनी अर्केष्ट्राका साथ प्रस्तुत गर्ने विचार थियो।

मैत्रिम भजतको शब्द रचना कान्ची शंकरा र संगीत कम्पोजिसन वसन्त देशाईले गरेका थिए। मैले यो प्रोजेक्ट हिन्दी फिल्म क्षेत्रमा काम गरेका चेन्नईका संगीतकारलाई दिएँ। यसलाई सुनेर पश्चिमा नोटेसनमा उतार्न भनेँ। भायोलिन, चेलो, फ्लुट जस्ता बाजाका साथ मिलाउने।

कन्सर्टमा हामीले 'हमसफर' बोलको एउटा नयाँ कम्पोजिसन सुनायौं। अफगान नेसनल इन्स्टिच्युट अफ म्युजिकका प्रमुख अहमद हरमस्त महत्वपूर्ण व्यक्तित्व हुन्। उनको विश्वविद्यालयका फ्याकल्टी सदस्यले यसलाई कम्पोज गरेका हुन्। 

हामीले श्रीलंका, भारत, भुटान, बंगलादेशसँगै पाकिस्तानको 'मस्तकलन्दर' गरी पाँच-छ वटा कम्पोजिसन लिएका छौं। यो दक्षिण एसियाको संगीतको अन्त्यन्तै रमाइलो मिश्रण हो। कश्मिर र अफगानिस्तानका संगीतकार एकसाथ बजाइरहेको दृश्य सायदै देख्न पाइन्छ। यस्तो विशेषताले 'हमसफर'लाई विशेष कम्पोजिसन बनाइदिएको छ।

त्यसपछि श्रीलंकाकी ओपेरा गायिका तरंगाले प्रस्तुति दिइन्। 

हाम्रो अर्को कम्पोजिसन फिल्म 'अलबेला' को 'शोला जो भड्के' गीतलाई लिएर बनाएको कमला शंकरमको अर्केष्ट्रा थियो। कम्पोजिसनको जग पुरानो गीत भए पनि कमलाले यसमा आफ्नै शैली मिसाएकी छन्। यो कम्पोजिसनलाई 'भड्के' नाम दिइयो।

यो कन्सर्टलाई धन्यवाद दिनुपर्छ, 'भड्के र हमसफर' धेरैमाझ लोकप्रिय भयो। फ्रान्सेली कम्पोजरहरूका 'लालिजियन' र हंगेरियन नृत्य पनि कार्यक्रममा प्रस्तुत भए।

अर्केष्ट्रामा १२ देखि ७० वर्षसम्मका कलाकार थिए। युवा संगीतकारलाई थप 'एक्सपोजर' आवश्यक छ। उनीहरूलाई सिकाउन कक्षाको सुविधा दिन सक्यौं भने राम्रो प्रयास हुनेछ।

अर्को पक्ष, दक्षिण एसियाका धेरै परम्परागत गीतहरू नोटेसनमा उतारिएकै छैन। पश्चिमी संगीतमा भाषा हुन्छ, संगीतको भाषामा नोट लेखिन्छ। हामी लोक र पपुलर संगीतमा काम गर्न चाहन्छौं।

मैले मुम्बईको कन्सर्टमा याद गरेकी थिएँ- जब कलाकारले प्रस्तुतिमा धुन निकाल्छन्, त्यसले उनीहरूको 'स्पिरिट' बढाउँछ। करेन्टझैं तरङ्ग पैदा गर्छ। त्यसले दर्शक-स्रोतालाई अपिल गर्छ।

यो क्षेत्रमा अर्केष्ट्राको काम गरिरहने हो भने, मान्छेले 'मेरो बच्चाले भायोलिन वा चेलो सिकोस्' भनेर सोच्न थाल्नेछन्।

यो 'प्रोसेस अफ ग्लोबलाइजेसन' पनि हो। हामी हाम्रो संस्कृतिबारे निकै आत्मविश्वासी छौं। तर नयाँ विचारका लागि दिमाग र आँखा खुला राख्नुपर्छ। 

Football news:

Tebas on Manchester City's participation in European competitions: CAS does not meet the arbitration standards
Bartomeu about VAR in La Liga: a number of decisions were made in favour of one of our rivals
Manchester City won UEFA: European Cup ban cancelled, penalty reduced
Jorge Valdano: if Real Madrid beat Granada, they will take La Liga
Josep Bartomeu: Messi will remain at Barca after his career ends
UEFA: For many alleged violations of Manchester City, the 5-year Statute of limitations has expired
CAS did not establish the majority of Manchester City's alleged violations