Nepal
This article was added by the user . TheWorldNews is not responsible for the content of the platform.

एमाले अध्यक्ष ओलीको निर्देशन विपरीत कर्णालीमा प्यानलसहित प्रतिस्पर्धा

Photo Credit : प्यानल बनाएर चुनावी मैदानमा उत्रिएका गुलावजंग शाह र मीनबहादुर शाही ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

१४ असोज, सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेशको प्रथम अधिवेशन बुधबारदेखि प्रदेश राजधानी वीरेन्द्रनगरको सिटी हलमा जारी छ । अध्यक्षका दाबेदारहरुबीच सहमति जुट्न नसक्दा अधिवेशन मतदान प्रक्रियातर्फ बढेको छ ।

आज बिहान ८ बजेदेखि सुरु हुने भनिएको निर्वाचन प्रक्रिया अझै सुरु हुन सकेको छैन । मतदानमा लागि नेता, कार्यकर्ताहरु बिहानैदेखि सिटी हल बाहिर लाइनमा छन् । ‘मतपत्र छपाइ लगायत केही प्राविधिक काम बाँकी रहेकाले ढिला भएको हो । भखरै नयाँ कार्यतालिका सार्वजनिक गरेका छौं,’ अध्यक्ष मण्डलका सदस्य समेत रहेका विष्णु रिजाललेे भने, ‘मतदान प्रक्रिया १० बजेदेखि ५ सम्मका लागि हुने भएको छ ।’

मतदान शनिबार दिउँसो १२ बजेदेखि हुने भनिएपनि प्राविधिक कारण देखाउँदै आइतबार बिहानका लागि सारिएको हो । निर्वाचन टोलीले शनिबार बेलुका मात्रै उम्मेद्वारको अन्तिम नामावली प्रकाशन गरेको थियो ।

उम्मेदवारहरु प्यानलसहित प्रतिस्पर्धामा

नामावली अनुसार अध्यक्ष पदमा सल्यानका गुलावजंग शाह, कालिकोटका मीनबहादुर शाही र कालिकोटकै प्रकाश रोकाया दाबेदार छन् । गुलावजंग र मीनबहादुर गुटगत प्यानल नै बनाएर चुनावी मैदानमा होमिएका छन् भने प्रकाशको कुनै गुट छैन ।

अध्यक्षका लागि शुरुमा पाँच जनाले उम्मेदवारी दर्ता गराए पनि उम्मेद्वारको अन्तिम नामावली प्रकाशन गर्नुपूर्व कर्णालीका पूर्वसभामुख समेत रहेका दैलेखका राजबहादुर शाही र कालिकोटका पुराना नेता प्रेमबहादुर सिंहले उम्मेद्वारी फिर्ता लिएका छन् ।

एमाले स्थायी कमिटी सदस्यद्वय यामलाल कँडेल र गोरख बहादुर बोगटी नेतृत्वको गुटबीच कडा प्रतिस्पर्धा हुने देखिन्छ । कँडेल समूहबाट सल्यानका शाह र बोगटी समूहबाट कालिकोटका शाही प्यानल नै बनाएर निर्वाचनमा होमिएका हुन् ।

पोलिटब्यूरो सदस्यसमेत रहेका शाह प्रदेश अध्यक्षका उम्मेद्वार बनेका छन् । एमालेले प्रदेश अध्यक्षलाई पोलिटब्युरो सदस्यको हैसियत दिएको र कार्यकारी पद समेत भएकाले शाह तल झरेको उनी निकट नेताहरु बताउँछन् । पूर्व प्रदेश सभा सदस्य समेत रहेका शाह एमाले सल्यानका पाका र अनुभवी नेताका रुपमा चिनिन्छन् ।

अध्यक्षका अर्का प्रत्यासी शाही भने एमाले प्रदेश कमिटी सदस्य हुन् । राष्ट्रिय योजना आयोगका पूर्व सदस्य समेत रहेका उनी बौद्धिक नेताको छवि बनाएका छन् । मानव अधिकार अलाइन्सका केन्द्रीय अध्यक्ष समेत रहेका शाही सामुदायिक रेडियोका अभियन्ता हुन् । उनी गैरसरकारी संस्थाको नेतृत्वबाट राजनीतिमा उदाएका हुन् ।

रोकाय पनि प्रदेश कमिटी सदस्य हुन् । कालिकोट पचालझरना गाउँपालिकाका रोकाय कुनै बेला माओवादीमा थिए । उनले कुनै गुट-उपगुटको प्रवाह नगरी, कुनै प्रलोभनमा नपरी र झुट्टा आश्वासनलाई बेवास्ता गरेर स्वतन्त्र रूपमा आफूलाई मतदान गरिदिन आग्रह गरेका छन् ।

गुलावजंग शाहको समूहबाट उपाध्यक्षमा जुम्लाका टेकराज पछाईं, सचिवमा सुर्खेतका ध्रवकुमार शाहीले उम्मेदवारी दिएका छन् । त्यस्तै मीनबहादुर शाहीको प्यानलबाट उपाध्यक्षमा जाजरकोटका लालबहादुर महतरा र सचिवमा दैलेखका रुद्र शाहीले उम्मेद्वारी दिएका छन् ।

एमालेले प्रथम अधिवेशनबाट पाँच पदाधिकारीसहित १३० सदस्य चयन गर्नेछ ।

अध्यक्ष ओलीको निर्देशन विपरीत गुट

कर्णाली प्रदेश अधिवेशन बुधबार उदघाटन गर्दै पार्टी अध्यक्ष केपी शर्मा ओलीले सर्वसम्मत नेतृत्व चयनको सार्वजनिक अपील गरेका थिए । अनौपचारिक छलफलमा पनि सर्वसम्मत कमिटी टुंग्याउन दवाव दिंदै काठमाडौं फर्किएका थिए । ‘सकेसम्म सर्वसम्मत गर्नुहोस्, यसले एकताको सन्देश दिन्छ । नभए चुनाव लड्नुहोस्, हार्नुहोस्, जित्नुहोस् । तर प्यानल बनाएर चुनाव लड्न पाइँदैन,’ उद्घाटन सत्रमा निर्देशन दिंदै ओलीले भनेका थिए ।

गुटगत प्रतिस्पर्धा हुने देखिएपछि अध्यक्ष ओलीले महासचिव शंकर पोखरेललाई सर्वसम्मत नेतृत्व टुंग्याउन भन्दै वीरेन्द्रनगरमा बसालेका थिए । बिहीबार दिनभर महासचिव पोखरेलले बन्दसन्त्रलाई थाती राखेर सहमतिको प्रयास गरे । तर, कुनै पनि हालतमा सर्वसम्मत तरिकाले नेतृत्व चयन हुने नदेखेपछि उनी बन्दसत्रमा सहभागी नै नभएर काठमाडौं फर्किएका थिए ।

सर्वसम्मत नेतृत्व चुन्न अध्यक्ष ओली र महासचिव पोखरेलको दबाब आएको र सहमतिको अन्तिम प्रयास भन्दै नेताहरु शुक्रबार बिहानदेखि दिउँसोसम्म छलफलमा जुटे । तर सहमति जुट्न भने सकेन । ‘सहमति भनेको, त्याग गर्ने हो । त्याग केही भएकाहरुले गर्ने हो,’ अध्यक्षका उम्मेद्वार रहेका मीनबहादुर शाहीले अनलाइनखबरसँग कुरा गर्दै भने, ‘मैले गुलाव कमरेडलाई तपाईं त पोलिटब्यूरो अलरेडी हुनुहुन्छ । प्रदेश अध्यक्ष त्याग्नुहोस्, हामीलाई नेता बनाउनुहोस् भनें उहाँले मान्नुभएन ।’

एमाले अध्यक्ष ओली र महासचिव पोखरेलको निर्देशन पालना नभएको कर्णालीमा नेतृत्वका लागि हुने निर्वाचन रोचक बन्ने देखिएको छ । नेतृत्वका लागि बोगटी-शाह र कँडेल टिमबीच प्रतिष्ठाको लडाइँ जारी छ ।

अधिवेशन उदघाटन सत्रत्रमा अध्यक्ष ओलीले सर्वसम्मत नेतृत्व चयन गर्ने निर्देशन दिए पनि व्यवहारमा त्यसको ठीक उल्टो रहेको एकजना केन्द्रीय सदस्यले बताए ।

कँडेल र बोगटीको प्रतिष्ठाको लडाइँ भनेर प्रचार गरिए पनि ओली र कँडेलको प्रतिष्ठाको लडाइँ भएको नेताहरु बताउँछन् । अध्यक्ष ओलीले सर्वसम्मत रुपमा आफूअनुकूलको प्रदेश नेतृत्व चयन गर्न खोजे पनि कँडेलले निर्वाचन प्रक्रियाबाट भएपनि आफू अनुकूलको नेतृत्व चयन गरेर देखाउने पक्षमा छन् । जसका लागि कँडेलले अध्यक्षमा शाहलाई अघि सारेको नेताहरु बताउँछन् ।