Nepal
This article was added by the user . TheWorldNews is not responsible for the content of the platform.

एमाले कर्णालीमा अझै सुरू भएन मतदान

नेकपा एमालेको कर्णाली प्रदेश अधिवेशनबाट नेतृत्व चयन प्रक्रिया लम्बिएको छ।

शनिबार दिउँसो १२ बजे हुने भनिएको मतदान अझसम्म पनि सुरू भएको छैन। शनिबार साढे ४ बजेपछि मात्र उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशित गरी मतपत्र छपाइ सुरू गरिएको थियो।

त्यसपछि आइतबार बिहान ८ बजेका लागि मतदान सारिएको थियो। तेस्रो पटक तोकिएको समयसम्म पनि मतपत्र छपाइको काम नसकिएपछि मतदान सुरू हुन सकेको छैन। 

‘विविध कारणले प्रक्रिया लम्बिइरहेको छ, आज (आइतबार) ९ वा साढे ९ बजेतिरबाट मतदान सुरू हुन्छ,’ निवर्तमान सचिव तथा अहिलेका उपाध्यक्ष उम्मेदवार टेकराज पछाईंले भने।

शुक्रबार प्रकाशित निर्वाचन कार्यतालिकामा शनिबार बिहान ८ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र दिउँसो १२ बजेदेखि ६ बजेसम्म मतदान गर्ने समय तोकिएको थियो। शनिबार दिउँसो पनि मतदान हुन नसकेपछि बेलुका ६ बजेका लागि सारिएको थियो।

पदाधिकारीमा कोको छन् उम्मेदवार?
नेकपा (एमाले) का कर्णाली प्रदेशको नयाँ कमिटी १ सय ३५ सदस्यीय बन्ने छ। तत्काल अधिवेशनबाट पदाधिकारीसहित १ सय २५ जना चयन हुनेछन्।

निर्वाचन कमिटीले प्रकाशित गरेको उम्मेदवारको अन्तिम नामावली अनुसार अध्यक्षमा तीन जनाले प्रतिस्पर्धा गर्ने भएका छन्।

सल्यानका गुलाबजंग शाह, कालीकोटका मिनबहादुर शाही र प्रकाश रोकायाले अध्यक्षमा उम्मेदवारी दिएका छन्। गुलाबजंग स्थायी कमिटी सदस्य यामलाल कँडेलको समूहबाट उम्मेदवार छन् भने मीनबहादुर स्थायी कमिटी सदस्य गोरख बोगटीको समूहबाट उम्मेदवार छन्।
प्रकाश रोकायाको भने कुनै समूह छैन। उनी स्वतन्त्र रूपमा उम्मेदवार बनेका हुन्।

The web
The web

यस्तै, उपाध्यक्षमा जुम्लाका टेकराज पछाईं, मुगुका दानसिंह परियार र जाजरकोटका लालबहादुर महाताराबीच प्रतिस्पर्धा हुने भएको छ।

सचिवमा सुर्खेतका ध्रुवकुमार शाही र दैलेखका रुद्रबहादुर शाही उम्मेदवार छन्।

उपसचिवमा ९ जनाको उम्मेदवारी छ। मुगुका उब्जनबहादुर शाही, सुर्खेतका तेजकुमार विक (तोरण) जुम्लाका धिरेन्द्रराज गिरी, दैलेखका नारायणकुमार शाह, सुर्खेतका पद्मा खड्का, जुम्लाका मेनका पछाई‌ं, कालीकोटका रमेशकुमार शाही, दैलेखका रविन्द्रराज शाही र बखतबहादुर भण्डारी उपसचिव पदका लागि प्रतिस्पर्धामा छन्।

कर्णाली प्रदेशमा विभिन्न जिल्ला तथा मोर्चा संगठनबाट गरी ६०४ जना अधिवेशन प्रतिनिधि छन्।