Nepal
This article was added by the user . TheWorldNews is not responsible for the content of the platform.

एथ्लेटिक्समा राष्ट्रिय कीर्तिमान, ईस्पोर्ट्स र बक्सिङमा पनि रित्तो हात

१३ असोज, हान्झाउ । १९औं एसियाडको आठौं दिन एथ्लेटिक्समा नेपालका दीपक अधिकारीले नयाँ राष्ट्रिय कीर्तिमान बनाएका छन् । यसबाहेक शनिबार नेपालको प्रदर्शन भने निराशाजनक रह्यो । नेपालले प्रतिस्पर्धा गरेका कुनै पनि खेलमा जित्न सकेन ।

पदकको आशा गरिएको ईस्पोर्ट्सको पिस एलिस एसियन गेम्स भर्सन (पब्जी) मोबाइलमा पनि नेपाली टोली सेमिफाइनलबाट बाहिरियो । बक्सिङमा पनि नेपालको चुनौती सकिएको छ । एसियाडमा डेब्यु गरेको महिला भलिबल टोलीले पहिलो खेलमा राम्रो प्रदर्शन गर्न सकेन ।

एथ्लेटिक्सका दिपकले बनाए नयाँ राष्ट्रिय कीर्तिमान

नेपालका दीपक अधिकारीले चीनको हान्जाउमा जारी १९औं एसियाड अन्तर्गत एथ्लेटिक्सको पुरुष १० हजार मिटर दौडमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएका छन् ।

हान्झाउ ओलम्पिक स्पोर्ट्स सेन्टरमा शनिबार साँझ भएको स्पर्धामा दीपकले निर्धारित दूरी २९ मिनेट ३५.०६ सेकेण्डमा मा पूरा गर्दै नयाँ राष्ट्रिय कीर्तिमान बनाए । उनले सन् २०१४ मा दक्षिण कोरियाको इन्चोनमा भएकोमा भएको १७औं एसियाडमा गोपीचन्द्र पार्कीले बनाएको कीर्तिमान तोडेका हुन् । गोपीले ३० मिनेट ३०.९९ सेकेण्डको ङ्कीर्तिमान बनाएका थिए । दीपकले ९ वर्षपछि उक्त कीर्तिमान तोडेका हुन् ।

यसअघि दीपकले गत वर्ष पोखरामा भएको नवौँ राष्ट्रिय खेलकुदमा १० हजार मिटरमा ३० मिनेट १०.३ सेकेण्डको ह्याण्ड कीर्तिमान बनाएका थिए । तर इलेक्ट्रिक टाएमिङ नभएकोले उक्त कीर्तिमानलाई आधिकारिक मान्यता दिइएको थिएन ।

१९औं एसियाडमा नयाँ राष्ट्रिय कीर्तिमान बनाउने दीपक पहिलो नेपाली खेलाडी समेत बनेका छन् । एसियाडको उक्त प्रतिस्पर्धामा १६ जना सहभागी भएकामा दीपक सातौं स्थानमा रहे ।

नयाँ राष्ट्रिय कीर्तिमान बनाएपछि खेलाडी दीपक अधिकारीले  आफ्नो मिहिनेतअनुसारको नतिजा आएको बताए । एकदमै खुशी लागेको छ, मिहिनेत अनुसार रिजल्ट आयो । नियमित प्रशिक्षण भए अझ राम्रो गर्न सकिन्छ’ उनले भने ।

एथ्लेटिक्सका मुख्य प्रशिक्षक चन्द्रबहादुर गुरुङले एसियाडमा राष्ट्रिय कीर्तिमान बन्नु पदक जितेसरह भएको प्रतिक्रिया दिए । यो एकदमै ठूलो उपलब्धी हो सबैको मिहिनेतले सफल भयौं, एकदमै खुशी छौं’, उनले भने ।

पब्जीमा सेमिफाइनलमै रोकियो

शनिबार बिहान चाइना हाङझाउ इस्पोर्ट्स सेन्टरमा भएको सेमिफाइनल चरणको समूह ए मा दक्षिण कोरिया र चाइनिज ताइपेईसँग पछि पर्दै तेस्रो स्थानमा रहेपछि नेपाल बाहिरिएको हो ।

फाइनल चरणमा पुग्नका लागि सेमिफाइनल चरणको समूहमा शीर्ष दुईमा रहनुपर्ने नियम रहेकोमा नेपाल तेस्रो भएपछि फाइनल चरण पुग्न सकेन ।

सुबिनकुमार प्रजापति, दिपेश गुरुङ, साहस भण्डारी, समिर गुरुङ र संगीन भट्टराई सम्मिलित नेपाली टिमले ५४ मिनेट ३३.३४६ सेकेण्ड टाइमिङ निकाले ।

कोरिया ५० मिनेट ३७.१५१ सेकेण्ड टाइमिङसहित पहिलो स्थानमा रहँदा चाइनिज ताइपेई ५२ मिनेट १९.३९३ सेकेण्ड टाइमिङसहित दोस्रो स्थानमा रहेर फाइनल चरण पुगेका छन् । नेपालले जापानलाई भने पछि पारेको थियो । नेपाल र जापान सेमिफाइनलबाटै बाहिरिए ।

सेमिफाइनल चरणको समूह बी को खेल शनिबार दिउँसो हुनेछ । सेमिफाइनलमा दुवै समूहबाट शीर्ष दुई टोली फाइनल चरण पुग्नेछ र फाइनल चरणमा शीर्ष तीन स्थानमा रहनेले पदक जित्नेछ ।

नेपालले यसअघि दुई चरणको एलिमिनेसन राउण्ड पार गर्दै सेमिफाइनल पुग्दै पदकको आशा जगाएको थियो । तर सेमिफाइनलबाट बाहिरिएपछि पब्जीमा पदक जित्ने आशा सकिएको छ । इस्पोर्ट्समा नेपालले यस पटक पाँच इभेन्टमा सहभागिता जनाएको थियो ।

यस्तै इस्पोर्ट्स अन्तर्गत अन्तिम इभेन्टको रुपमा रहेको डोटा टु मा पनि नेपाल क्वाटरफाइनलमा पराजित भएको छ । हाङझाउ इस्पोर्ट्स सेन्टरमा भएको खेलमा नेपाल कीर्गिस्तानसँग २-० ले पराजित हुँदै बाहिरिएको हो ।

इस्पोर्ट्स अन्तर्गत फिफा, एरेना अफ भेलोर र ड्रिम थ्री किङडोम्स २ मा नेपाल यसअघि नै बाहिरिसकेको छ ।

बक्सिङमा पदकको आशा सकियो

पदकको आशा गरेको बक्सिङमा नेपालले १३ खेलाडी सहभागि गराएको थियो, तर कुनै खेलाडीले पदक जित्न सकेनन् ।

शनिबार महिला ७५ केजीमुनि तौल समूहमा नेपालकी सरस्वती राना मगर भियतनामकी दिएम कुएन्ह लुसँग पराजित भएपछि बक्सिङमा नेपालको पदक आशा सकिएको हो । उनी अंकका आधारमा ४-१ ले पराजित भइन् ।

बक्सिङमा सबैभन्दा बढी आशा गरिएका सुष्मा तामाङ पहिलो राउण्डमा पराजित भएकी थिइन् । १३ मध्ये रविन थापाले एक बाउट जित्नुबाहेक बक्सिङका अन्य सबै खेलाडी पहिलो चरणमै पराजित हुँदै बाहिरिए ।

महिला भलिबलमा भियतनामसँग सोझो सेटमा पराजित

१९औं एसियाड अन्तर्गत महिला भलिबलमा नेपाल भियतनामसँग सोझो सेटमा पराजित भएको छ । पहिलो पटक एसियाड खेलको नेपाली महिला भलिबल टोलीले डेब्यु खेलमा भियतनामविरुद्ध कमजोर प्रदर्शन गर्दा सहजै पराजित भएको हो ।

देकिङ स्पोर्ट्स सेन्टर जिम्न्यासियममा शनिवार भएको खेलमा भियतनामले नेपाललाई २५-४, २५-१६, २५-१२  ले पराजित गरेको हो ।

पहिलो सेटमा भियतनामले ७ अंक जोडेपछि नेपालले पहिलो अंक जोडेको थियो । दोस्रो सेटमा नेपालले केही सुधारिएको प्रदर्शन गरेपनि भियतनामलाई रोक्न सकेन । तेस्रो सेटमा नेपालले सुरुमै लगातार ३ अंक जोड्दै अग्रता लिएपनि त्यो लय कायम राख्न सकेन । त्यसपछि भियतनामले लगातार ७ अंक जोड्दै नेपाललाई पछि पारेको थियो ।

पहिलो पटक एसियाडमा सहभागी भएको नेपाली महिला टोलीले खेलेको यो नै अहिलेसम्मको सबैभन्दा ठूलो प्रतियोगिता हो । यसअघि नेपालल २०१९ मा नेपालमै भएको १३औं सागमा रजत जितेको थियो भने एभिसी सेन्ट्रल जोनमा दुई पटक स्वर्ण जितेको थियो ।

यसै वर्ष वैशाखमा नेपालमै भएको काभा च्यालेन्ज कपमा भने नेपाल तेस्रो भएको थियो । नेपालले समूह सीको दोस्रो तथा अन्तिम खेलमा सोमबार दक्षिण कोरिया विरुद्ध प्रतिस्पर्धा गर्ने छ ।

पहिलो खेलमा पराजित भएपछि नेपालका बेल्जियन प्रशिक्षक यान डी ब्रान्ट यहाँको माहोलमा खेल्न नेपाललाई बानी नभएको र नेपालको स्तर नै यही रहेको बताए । ‘पहिलो खेल भएकोले पहिलो सेटमा हाम्रा खेलाडी धेरै नर्भस भए । दोस्रो खेलमा हामीले १६ बनाउन सक्नु राम्रो हो । खेलाडीले विस्तारै लय समाउँदैछन् । हामी एसियामा धेरै तल छौं । प्राविधिक रुपमा अन्य टोली माथि छन् । तर पनि आजको खेलबाट सन्तुष्ट छौं । अब अर्को खेल कोरियासँग सुधारिएको खेल खेल्नेछौं’,   ब्रान्टले भने ।

यस्तै नेपालकी कप्तान अरुणा शाहीले सोचेजस्तो प्रदर्शन गर्न नसकेको बताइन् । ‘पहिलो सेटमा खासै खेल्न सकेनौं । दोस्रो र तेस्रो खेलमा ठीकै खेलेको हो । यस खेलले आगामी खेलमा खेल्न सहज हुनेछ’, शाहीले भनिन् ।

भारोत्तोलन

१९औं एसियाडको भारोत्तोलनतर्फ महिला ५५ केजीको प्रतिस्पर्धामा नेपालकी टीकामाया गुरुङ शनिबार बाहिरिएकी छन् ।

एक्सएससी जिम्न्याजिममा भएको समूह ए’ को खेलमा टीकाले स्न्याचमा ६० र क्लिन एन्ड जर्कमा ८६ गरी जम्मा १४६ केजी भार वहन गरिन् ।

स्न्याचमा टीकाले पहिलो र दोस्रो लिफ्टमा पनि ६० केजी भार उचाल्ने प्रयास गरेपनि सफल भइनन् । क्लिन एन्ड जर्कमा टीकाले पहिलो लिफ्टमा ८० तथा दोस्रो लिफ्टमा ८६ केजी तौल उठाइन् । क्लिन एन्ड जर्कको आफ्नो तेस्रो लिफ्टमा टीकाले ९० केजी तौल उचाल्ने प्रयास गरेकी थिइन् । टीका ९० केजी तौल उठाउन असफल रहिन् ।

ह्यान्डबलमा नेपाल सबै खेलमा पराजित

१९औं एसियाड अन्तर्गत महिला ह्यान्डबलमा नेपाल सबै खेलमा पराजित भएको छ । भारतसँग समूहको अन्तिम खेलमा पराजित भएपछि नेपालको चुनौती शनिबार समाप्त भएको छ । समूह बी को चौथो तथा अन्तिम खेलमा भारतले नेपाललाई ४४–१९ ले पराजित गर्‍यो ।

नेपालका लागि कप्तान बन्दना राईले ७, उमा राईले ६, कल्पना सिन्जाली र आइत लोमु शेर्पाले समान २–२ तथा सम्झना कुमाल र रामकुमारी चौधरीले समान १–१ गोल गरे । यसअघि नेपाल चीनसंग ५७–१० ले, जापानसंग ६२–१० ले र हङकङसँग २७-१८ ले पराजित भएको थियो ।

ट्रायथलन

ट्रायथलनको महिला व्यक्तिगत स्पर्धामा नेपालकी श्रेबी महर्जन १७ औं भएकी छन् । २१ खेलाडी सहभागी स्पर्धामा कुवेत, युएई, कम्बोडिया र जोर्डनका खेलाडीले स्पर्धा पूरा गर्न सकेनन् ।

श्रेबीले १ हजार ५ सय मिटरको पौडी, ४० किलोमिटरको साइक्लिङ र १० किलोमिटरको रेस २ घण्टा २५ मिनेट र १३ सेकेन्डमा पूरा गरिन् । ट्रायथलनमा नेपालबाट २ पुरुष र २ हिला गरी ४ खेलाडी सहभागी छन् ।

महिला व्यक्तिगतमा जापानकी युको ताकाहासीले स्वर्ण, चीनको चिन्यु लिनले रजत र चीकै यिफान याङले कांस्य जिते ।

गल्फ

१९औं एसियाड अन्तर्गत गल्फतर्फ पुरुष व्यक्तिगत स्पर्धामा नेपालका शुक्रबहादुर राईले चोटका कारण शनिवार बीचमै खेल त्यागेका छन् ।