Nepal
This article was added by the user . TheWorldNews is not responsible for the content of the platform.

जानकी मन्दिर पछाडिको सडक किन छ अलपत्र?

चिल्ला सडक र व्यवस्थित ढल निकासले पछिल्लो समय जनकपुरको स्वरूप फेरिएको छ। बजार क्षेत्रका सडक फराकिलो र चिल्ला भएपछि स्थानीयले धुलो र दुर्गन्धबाट राहत महसुस गरेका छन्। 

देश विदेशबाट बर्सेनि लाखौं पर्यटक घुम्न आउने जानकी मन्दिर बजारको बीचैमा छ। त्यसको तीनतिर चिटिक्क बनाइएको छ। तर मन्दिरको ठिक्क  पछाडिपट्टिको सडक भने अहिले पनि जीर्ण छ। यहाँ वर्षौंदेखि हिँउदमा धुलो र वर्षामा हिलो हुन्छ। त्यहाँका बस्ती घरभित्रैसम्म धुलो पस्छ। जनकपुरको कोर एरियामा पर्ने यो ठाउँमा सडक निर्माणका लागि समबन्धित निकायहरू उदासीन बनेको स्थानीयको गुनासो छ।

किराना पसल गरिरहेका बलिराम ठाकुर दिनमा तीन पटक समानमा जमेको धुलो सफा गर्दै हैरान हुन्छन्। 

‘सफा गरे लगत्तै गाडी चलेपछि फेरि धुलो उड्छ अनि कपडाले सफा गर्नुपर्छ। वर्षामा पानी जमेर यो एरियामा बिजोगै हुन्छ। रोड नबन्दा हामी हैरान भइसकेका छौं। यो एरियालाई जनकपुरको मुटु भन्छन्। चारैतिर सडक बनिसक्यो हाम्रोतिर बनाउन कसैले चासो नै देखाएको छैन,’ उनले भने, ‘हामीले वडाध्यक्ष, नेताहरूलाई भनेर थाकिसक्यौं तर कसैले सुनिदिएनन्।’

janakpur-core1-1696133854.jpeg

जानकी मन्दिरको ठीकपछाडिको यो जीर्ण सडकलाई स्थानीयले रहिमान पथ भन्छन्। 

२०४९ सालमा तत्कालीन जनकपुर नगरपालिकाले यो सडक कालेपत्रे गरेको थियो।  २०७४ सालमा ढल निकासका लागि ह्युम पाइप ओच्छ्याउन उक्त कालोपत्रे उक्काइयो। एकीकृत सहरी विकास परियोजनाअन्तर्गत् एडिबीको ऋण सहयोगमा ह्युम पाइप राखिएको थियो। त्यसक्रममा यो सडक भताभुंग पारेको यो सडक ६ वर्ष वित्दा पनि बनाउने सुरसार देखिएको छैन।

सडक जीर्ण, फोहोर र अव्यवस्थित बनेपछि यहाँका स्थानीय मात्रै होइन पर्यटकहरू समेत दिक्कदार छन्। 

The web
The web

‘जानकी मन्दिर आउने पर्यटक यसका वरिपरि पनि घुम्छन्। मन्दिरपछाडि मस्जिद देखेर धेरैलाई यसबारे जिज्ञासा हुन्छ उनीहरू यहाँ यसको इतिहास र अवस्था बुझ्न आउँछन्,’ स्थानीय असगर अलि भन्छन्, ‘जानकी माताको ठाउँमा आउने पर्यटक वरिपरि यस्तो दुरावास्था देख्दा खिन्न भएर जान्छन्। उनीहरूको मनमा जनकपुरको बारेमा नकरात्मक भावना उत्पन्न हुन्छ यस्तो दृष्य देखेर। मस्जिदमा देशविदेशबाट मुस्लिम धर्मावलम्बीहरू पनि आउँछन्। उनीहरू सबैले यो सडकको बारेमा सोध्छन्, नराम्रो भन्छन् ।’ 

जानकी मन्दिर निर्माणकै समयमा यहाँ जामे मस्जिद हनफिया मस्जिद निर्माण  भएको थियो।

यो सडक निर्माणका लागि स्थानीयले झन्डै पाँच वर्षदेखि लागातार जनकपुरधाम उपमहानगरपालिकालाई ध्यानाकर्षण गराउँदै आएका छन्। अघिल्लो मेयर लाल किशोर साह र अहिलेका मेयर मनोज साहलाई ज्ञापनपत्र बुझाएर सडक निर्माण गर्न माग गर्दा पनि चासो नदेखाएको स्थानीय नसरूल कवारीले बताए। 

‘यहाँ पछाडि पारिएका वर्गहरूको बस्ती छ। यो बस्तीमा पावर र पहुँच पुग्ने ठूला मान्छे छैनन्। त्यसैले यो सडक बनेको छैन्,’ उनले भने। 

जानकी मन्दिरकै पछाडि पर्ने मस्दिजको दक्षिणर्फ निर्माण सुरू भएको ३ सय मिटर कालेपत्रे सडक पनि अलपत्र छ। 

यी सडकहरू नबन्नुका पछि स्थानीयले आरोप लगाएजस्तो केही कुरा नरहेको संघीय आयोजना कार्यान्वयन एकाइ धनुषाका प्रमुख प्रदीप खनालले बताए। पहिलो चरणमा एडिबीको ऋण सहयोगमा पाँच वर्षअघि जनकपुरको झन्डै १० किलोमिटर सडक र ३२ किलोमिटर ढल निकासका लागि ह्युम पाइप बिछाउने काम सम्पन्न भएको थियो। त्यस लगतै दोस्रो चरणको काम पनि सुरू हुने भनिए पनि अहिलेसम्म सुरू भएको छैन।

‘मन्दिरपछाडिको ठाउँ पनि ऐतिहासिक क्षेत्र भएकाले चौडा गर्न मिलेन, मन्दिरको संचरना पनि भत्काउन मिलेन। यो सडक ढलान/ पिच नगरी इन्टरलकिंग टाइल बिछ्याएर गर्नुपर्ने प्रस्ताव छ,’ खनालले भने, ‘वातावरणीय, समाजिक प्रभाव मूल्यांकन भइसकेको छ। छिटै यो सडक बनाउन एडिबी, संघीय आयोजना कार्यान्वयन एकाइ र उपमानगरबीच त्रिपक्षीय सम्झौता गरिनेछ।’ 

janakpur-1696133855.jpeg

यो सडक बनाउन डिपिआर रिभिजनको काम अहिले भइरहेको उनले जानकारी दिए। निर्माणमा ढिलाइ भएको तीन सय मिटर कालोपत्रे सडक दसैं अगावै निर्माण सम्पन्न गर्ने तयारी भइरहेको प्रमुख खनालले बताए।

यो सडक जनकपुरमा सहरीकरण सुरूभएसँगै निर्माण भएको थियो। जानकी मन्दिरसँगै जोडिएर रहेकाले २०२१ सालमा यो सडकमा पहिलो पटक इट्टा ओछयाएर ढलान गरिएको थियो। जानकी मन्दिरको ठीक पछाडी रहेको यो बस्तीको इतिहास झन्डै तीन सय वर्ष पुरानो छ, जतिबेला जनकपुर सहरसमेत बनिसकेको थिएन।

महन्त ऋषिहरू चतुर्भुज गिरी र सुरकिशोर दासले सीताको जन्मस्थलका रूपमा जनकपुरधाम पत्ता लगाएपछि जनकपुर एउटा धार्मिक ठाउँ मानिएको हो। अहिले निर्माण भएका जानकी मन्दिर र राम मन्दिर त्यति बेला सानातिना मठ थिए। 

मठमा पुजा पाठ तथा ठूला भण्डारा हुन्थे। ठूलो संख्यामा टाढा-टाढाबाट सन्त महन्त भण्डारामा सहभागी हुन आउँथे। उनीहरूका लागि अन्नपात र सागसब्जी जरूरी भयो। त्यसबेला सुरकिशोर दासका पाँचौ पुस्ताले तरकारी उब्जाउने पेसा गर्ने मुस्लिमहरूलाई (कवारी समुदाय) जनकपुर बोलाए। उनीहरूलाई मठको जग्गा दिएर यहाँ बसाए। पूर्व वडाध्यक्ष समेत रहिसकेका असगर अलिका अनुसार राम पट्टी र जानकी पट्टी गरी दुबै मठले जग्गा दिएर मुस्लिम समुदायलाई बसाएका थिए। उनी आफैं कवारी समुदायका सोह्रौं पुस्ता रहेको बताए।