Nepal
This article was added by the user . TheWorldNews is not responsible for the content of the platform.

कीर्तिमानी बलिङ गरेका अभिनास भन्छन्- अब राम्रो खेलेर देशका लागि पदक जित्नुछ

१९औं एसियाली खेलकुदअन्तर्गत क्रिकेटमा नेपालले लगातार दुई खेलमा जित निकाल्दै अन्तिम आठमा प्रवेश गर्दा अभिनास बोहराले कीर्तिमानी बलिङ गरे। 

उनले टी-२० अन्तर्राष्ट्रिय खेलमा नेपालका उत्कृष्ट बलिङ गर्ने कीर्तिमान बनाएका हुन्।

उनले एसियाली खेलकुदअन्तर्गत माल्दिभ्सविरुद्धको खेलमा ३.४ ओभरमा ६ विकेट लिँदा ११ रन मात्र खर्चिए।

यसअघि नेपालका लागि टी-२० उत्कृष्ट बलिङको कीर्तिमान सन्दीप लामिछानेको नाममा थियो। सन्दीपले गत वर्षमा केन्याविरूद्ध ४ ओभरमा ९ रन दिएर ५ विकेट लिएका थिए।

उनको कीर्तिमानी बलिङसँगै नेपालले दिएको २१३ रनको लक्ष्य पछ्याएको माल्दिभ्स २ बल खेल्न बाँकी छदा ७४ रनमै अलआउट भयो। यससँगै नेपालले १३८ रनको विशाल जित दर्ता गरायो।

छैटौं ओभरको  तेस्रो बलमा फरिद शिउसलाई कुशल भूर्तेलबाट क्याच आउट गराएका थिए। लगत्तै चौथो बलमा बदिउ इस्माइल नजावनलाई एलबिडब्लु धरापमा पारे।

सोही ओभरको अन्तिम बलमा उनले थोलाल मोहम्मद रियानलाई पनि एलबिडब्लु धरापमा पार्दै शून्य रनमा आउट गर्दै एकै ओभरमा तीन विकेट लिन सफल भए।

त्यस्तै अन्तिम ओभरमा अभिनाशको पहिलो बलमा माल्दिभ्सका हसेन साधिन बोल्ड आउट भए। दोस्रो बलमा मनुभन मोहम्मदलाई पनि अभिनाशले बोल्ड गरे। तेस्रो बलमा विकेट लिन चुकेका उनले चौथो बलमा नासिर अलीलाई एलबिडब्लू धरापमा पार्दै आउट गरेपछि एकै खेलमा ६ विकेट लिने नेपाली खेलाडीको कीर्तिमान बनाए।  

The web
The web

abinashk-1696141280.jpg

खेलपछि कुरा गर्दै अभिनाशले कीर्तिमानसँगै ह्याट्रिक भइदिएको भए अझै राम्रो हुने बताए। उनले आजको खेलपछि आफू पुरानै लयमा फर्केको महसुस भएको बताए। 

सन् २०१९ मा युएईविरुद्धको खेलमा टी-२० मा डेब्यू गरेका अभिनासले एसियन खेलअघि नेपाली राष्ट्रिय टिमबाट दुई वर्ष खेलेका थिएनन्। 

योर्कर बलिङमा जोड दिने उनलाई विशेष गरी टी-२० फर्म्याटको डेथ ओभरमा राम्रो बलिङ गर्न सक्ने नेपाली बलर मानिन्छ।

'मंगोलियासँग खेल्दा भन्दा पनि आजको खेलमा आफ्नो पुरानै लयमा फर्किएको महसुस भएको छ,' उनले भने, 'आगामी खेलमा राम्रो खेल्दै मेडन ल्याउनका लागि खेल्नेछौं।'

अब नेपालले एसियाली खेलकुदको अन्तिम आठमा भारत, पाकिस्तान, बंगलादेश र श्रीलंका मध्ये एक टिमसँग खेल्नेछ। यी मध्ये एक टिमलाई हराएर सेमिफाइनल पुगे नेपाल पदक नजिक पुग्नेछ। सेमिफाइनलमा जित हात पारे पदक पक्का हुनेछ भने हार बेहोरे तेस्रो स्थानका लागि खेल्नु पर्नेछ। 

'जस्तो सुकै टिम भए पनि हामी जितका लागि खेल्नेछौं, राम्रो खेलेर देशका लागि पदक ल्याउनुछ,' उनले भने, 'तर हाम्रा लागि खेल सहज भने हुनेछैन। तर पीचमा केही पनि भन्न सकिने अवस्था छैन। जे पनि हुन सक्छ, जुनसुकै टिमलाई ब्याटिङ गर्न सजिलो चै छैन।'