Nepal

कोरोना भाइरसको आसपास!

नेपालमा कोरोना संक्रमितको मृत्यु भएपछि त्यसले सृजना गरेको भय, त्रास अनि घृणाले सामाजिक सञ्जाल र अखबारका पाना भरिएका छन्। यो बेला कोरोना लागेर तङ्ग्रिएकी एक स्वास्थ्यकर्मीको नाताले मलाई आफ्ना केही बाँड्न प्रेरित गरेको छ।

अमेरिकाको वासिङटनमा कोरोना लागेका बिरामीलाई सेवा गर्दै गर्दा म पनि कोरोना संक्रमित भएँ। त्यसले मलाई तीन हप्ता घरमै थन्कायो। कतिपटक अस्पतालको आकस्मिक कक्षसम्म पुर्‍यायो भने कैयौं रात छटपटी र त्रासमा बिताउने बनायो।

कोरोना लाग्नुमा कामको प्रकृतिको साथसाथै आफ्नो लापरवाही पनि केही हदसम्म जिम्मेवार थियो भन्ने म आफैंलाई लाग्छ। आवश्यक पिपिईबिना नै बिरामीको नाडी छाम्न जानु नै ठूलो भूल थियो।

कोरोना त्रासको भुक्तभोगीको नाताले नेपाली जनमानसमा कस्तो मानसिक अवस्था होला भनेर म अनुमान लगाउन सक्छु। जब कोरोनाले दैलौमा नै दस्तक दिएको थियो त्यति बेला म त्रसित थिएँ। कामै छोडेर घर बस्छु, घरबाट कहिल्यै बाहिर निस्किन, मेरो घरमा कसैलाई आउन दिन्न, जस्ता सोच मेरो मानसपटलमा नआएको पनि होइन।

मलाई पनि भाइरसप्रतिको चेतनाको कमी थियो। चेतनाको अभावमा डर र त्रासले मनमा डेरा जमाउँदा आत्तिएका कुरा शब्दमा ब्यक्त गर्न गाह्रो छ।

अब कुरा गरौं नेपालको।

नेपालमा जनचेतनाको कुनै पूर्वतयारी थिएन र छैन। प्रधानमन्त्री आफैं भाइरसको बोसो पगाल्न पर्छ भन्दै देशवासीलाई सम्बोधन गर्दै बस्नुभयो। भाइरसले हमाला गरेको बेला ब्यानर बोकेर नाराजुलुस गर्ने राजनीतिक कार्यकर्ता, मन्त्र पाठ गरेर पुराण लगाउने पण्डित, घण्ट बजाउँदै दिप प्रज्वलन गर्न लगाउने सरकार! यसरी जुनबेला जनचेतना फैलाउन पर्थ्यो त्यही बेला लाखे नाच नचाएर सस्तो मनोरञ्जनमा रमाइयो।

वुहानका नेपालीलाइ उद्दार गरेर ल्याउँदा देखि नै जनचेतना र तयारीका काममा जुट्नुपर्थ्यो। त्यसो गरिएन।

अहिले स्वास्थ्यकर्मीलाई घरधनीले कोरोना टेस्टको रिपोर्ट माग्नु, ललितपुरमा स्थानीय तहबाटै घर प्रवेशमा रोक लगाउने सूचना सार्वजनिक हुनु भनेको कोरोनाको भय झनै दोब्बर भएको छ भन्ने कुराको संकेत दिन्छ।

स्वास्थ्यकर्मीसँग टेस्टको रिपोर्ट माग्ने हैन। उसँगको सामाजिक दूरी कायम राखेर मानवीय मूल्यलाई जोगाउँदै, सचेत हुँदै, उसलाई कोरोना लागेको भए पनि, कोरोना बोकेको भए पनि व्यवस्थित गर्न सहयोग गर्नुपर्ने हो।

यदि जनचेतना फैलिएको भए कोरोना टेस्टको रिपोर्ट नमागेर स्यानिटाइजर दिएर, उसको नजिक जाँदा मास्क लगाएर, उसलाई नछोइकनै उसले समाजमा गरेको योगदानको कदर गर्न सकिन्थ्यो। घर प्रवेशमा रोक लगाउनुको साटो घरमा नै दुरी बनाउन सकिन्थ्यो। उसको कोठामा नजाने अनि उसले छोएका सामान नछुने गर्न सकिन्थ्यो।

नेपालमा स्वास्थ्यकर्मीको मनोबल गिराएका समाचार आइरहेकै बेला कोरोनालागेर सन्चो भएकी मलाई काम गर्न बोलावट आयो। तर काम पनि काममा जाने दिन नजिकिँदै गर्दा मनमा एकदमै डर लाग्न थाल्यो।

मैले काम गर्ने ठाउँमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको थियो। साथीहरू बेरोजगार फाइल गरेर घरै बस्ने सुझाव दिन्थे। काम भनेको बाँचे पाइन्छ तर कोरोनाले डेरा जमाएको ठाउँमा फर्केर जाँदिन भनेर धेरै पटक मनमा तर्कना नआएको पनि हैन। तर, यो सोच धेरै टिकेन। मृतक र बिरामीको संख्या दोब्बर हुँदा मैले आफ्नो धर्म छोड्न हुँदैन भन्ने लाग्यो।

उचित पिपिई लगाएर आफूलाई सुरक्षित राखेर पनि सेवा प्रदान गर्न सकिन्छ। बिनासुरक्षा बिरामीको छेउछाउ पर्नु खतरा हो। तर उचित सुरक्षाका साथ बिरामीलाई सेवा दिन सकिन्छ। यस्तै दरिलो सोच र आत्मविश्वास बोकेर काममा फर्किएको छु।

हरेक दिन कोरोना संक्रमित बिरामीको सेवा गरेको छु। मैले सचेत र सावधान हुन जरूरी छ। मेरो घरमा छोराछोरी छन्। कामबाट उनीहरू बसेको घरमा नै जाने गरेको छु। ज्यान र मुहार ढाकिने कपडा तथा मास्क लगाएर काम गर्छु। कामबाट निस्कँदा हात र जुत्ता साबुन पानीले धुन्छु। घर पुगेपछि काममा लगाएका सबै कपडा साबुन पानीले धुन्छु अनि नुहाउँछु। भाइरसको आसपासमा रहेर जीवन जिउन सिकिसकेको छु।

अब यस्तो खालको भाइरससँग सहअस्तित्वमा रहेर जीवन जिउनुको विकल्प अरू केही पनि छैन। तत्कालको अवस्थामा यसविरूद्ध खोप पनि त छैन। भाइरससँग नजिकै रहेर होइन त्यसले आफूलाई असर नगर्ने किसिमले सावधानी अपनाएर जिउनु पर्छ।

केहीगरी कोरोना संक्रमितले मृत्युवरण गरेमा यहाँ फ्यूनरल होम (शवदाह गृह)ले उचित व्यवस्थापन गर्छ। नेपालमा यो प्रणाली नभए पनि शववाहन चालकलाई पिपिईको व्यवस्था गर्ने र शवदहनमा पनि उचित सामग्री प्रदान गर्न सकिन्छ। उनीहरूलाई हौसला दिनुपर्छ। शवदाह गर्ने निश्चित स्थान तय गर्ने एवम् यस्तो कार्यमा सक्रिय टोलीलाई परीक्षणको व्यवस्था गर्न सकिन्छ। एम्बुलेन्स चालकलाई पनि उचित पिपिई उपलब्ध गराउनुपर्छ।

अनियन्त्रित सूचनाको प्रवाह रोक्न सूचना दिने संयन्त्रको पनि उत्तिकै उत्तरदायित्व हुन्छ। संक्रमितको नाम र फोटो सार्वजनिक गर्ने होड देख्दा लाग्छ हामी यहि पर्खाइमा थियौं। भाइरल हुने बहानामा न्यूनतम मानवीय मूल्य र मान्यतालाई बिर्सन हुँदैन।

रोग लागेको खण्डमा आवश्यकता अनुसार घरमा नै सामाजिक दूरी बनाएर रोगसँग लड्न सकिन्छ। अस्पतालका बेड यसै ओगट्नु हुन्न।

मास्क लगाउने, लगातार साबुन पानीले हात धुने, आफू बाहेक अरू सबै भाइरस बोकेका मान्छे हुन् भन्ने सोचेर तिनलाई निषेध हैन सावधानी अपनाएर दैनिक जीवनयापन गर्नुपर्छ।

अहिलेको अवस्थामा अमानवीय गतिविधि र अराजकता बढ्दै जाने अनि सम्बन्धित निकायले जनेचतना नदिई लकडाउन मात्र लम्ब्याउँदै लैजाने हो भने कोरोनाले नछोएकाहरू डिप्रेसन, भोकमरी जस्ता अन्य कारणले मर्न थाल्छन्।

त्यसैले भाइरसको सहअस्तित्व स्वीकार्दै भाइरसकै माझ जीवन जिउने कला सिक्नु आजको आवश्यकता हो।

(शर्मा अमेरिकामा नर्स छन्)

Football news:

Mourinho's classic plan for big matches worked perfectly. Arteta's crude Arsenal is a convenient target
Bartomeu on Xavi in Barca: There is a time for everything. We are not looking for a coach right now
Mourinho about the Europa League: Ask Hamilton if he wants to win Formula 2
Manchester City will play in the Champions League. CAS has accepted the appeal
Carragher on the Premier League: Liverpool can repeat success, but need transfers
In Romania, the 19-year-old goalkeeper hit two penalties, but both times the referee asked to Interrupt. The Keeper threw a fit and left
Solskjaer on De Gea: He won the Premier League, the FA Cup, the Europa League, the League Cup, but it's not enough