Nepal

कोरोना त्रास : ज्यान जोगाउने कि जागिर?

देशमा २ जना कोरोना सक्रमित देखिँदा देशै लकडाउन भयो, अहिले दिनमै चार पाँचसयको हाराहारीमा संक्रमित देखिँदा पनि सामान्य मान्नुपर्ने अवस्था आएको छ।

त्रासमा गाउँमा फर्किएकाहरू क्रमश: फेरि राजधानी लगायतका सहरमा फर्किसकेका छन्, कोही फर्कने क्रममै छन्।

सीमानाकामा चेकिङ कडा भएको भनिए पनि थानकोट नाकामा प्रतिव्यक्ति १५ सय बुझाएर बिना अवरोध काठमाडौं छिर्न पाइने समाचार प्रकाशित भए, सायद अन्य नाकाको हकमा पनि यस्तै होला।

राजधानी कोरोना हब बन्ने त होइन भन्ने सन्त्रास सबैतिर फैलिएको छ। तै पनि केही नभएको जस्तो भान देखाएर काम गर्नुपर्ने अवस्था छ ।

सानो भर्‍याङकी एक जना साथी वाणिज्य बैंकको नगद काउन्टरमा काम गर्छिन्।

असार १ गतेदेखि उनी निरन्तर ड्युटीमा आइरहेकी छिन्। फ्रन्टलाइनमा बसेर नगदको कारोबार गर्दा जति आकर्षक देखिन्थ्यो अहिले  उनको लागि त्यही काम थप चुनौती र जोखिमको पर्याय बन्दै गएको छ।

‘घरमा ६ महिनाको छोरा छ, अफिस नआऊँ भने रोजीरोटीको सवाल छ, कति साथीको जागिर गुमेको छ, बल्लतल्ल पाएको जागिर त्याग्ने आँट पनि आएन, सकेसम्म सुरक्षाका उपाय अपनाइएकै छ तै पनि मनमा कताकता चिसो पसिहाल्छ’ उनले गुनासो पोखिन्।

उनी  डेरा भाडामा बस्छिन्, एकातिर अफिसमा जोगिएर कसरी काम गर्ने भन्ने चिन्ता, अर्कातिर घरबेटीले केही भन्लान् कि भन्ने पिर, दोहोरो मारमा छिन् उनी।

‘घरबेटीले अफिसबाट फर्कंदा निकै निगरानी गर्छन्, उनको सचेतना ठीकै हो, आफ्नो ज्यानको माया सबैलाई हुन्छ, सानो छोराले आमाको दूध खाने बाटो हेरेर बस्छ तर आफूलाई आफ्नै ज्यानकै चिन्ता लाग्छ। अफिसबाट गयो, बाहिरै लुगा फेर्यो, नुहाएरमात्रै भित्र पस्छु, दैनिकी यसरी नै चलेको छ’।

‘पैसाको कारोबारबाट कोरोनाको जोखिम बढेको तथ्यांक देखाउँछ तर मजस्ता नियमित रूपमा नगद काउन्टरमा काम गर्ने, धेरै ग्राहकसँग प्रत्यक्ष सम्पर्कमा रहने, हरेक क्षण पैसासँग खेल्ने कर्मचारीको लागि ज्यान ठूलो भन्ने कि जागिर भन्ने चिन्ताले सताउँछ घरीघरी।

मलाई केही भइहाल्यो भने बच्चाको हालत के होला भन्ने तनावले निकै पिरोल्छ। श्रीमान पनि जागिरे हुनुहुन्छ, घरमा वृद्ध सासूससुरा हुनुहुन्छ, सासूले नियमित औषधि खाइरहनुपर्छ। यस्तो बेलामा डरैडरले कस्तो मनोबलमा काम गर्छन होला कर्मचारी ? सबै कर्मचारी अनिवार्य उपस्थित हुनुपर्ने उर्दी अफिसको छ, तर सार्वजनिक सवारी चढ्ने सामान्य कर्मचारी कसरी अफिस आउजाउ गर्छन् भन्ने कुरा हाकिम साबलाई पत्तो हुँदैन रहेछ।

लिफ्ट मागेर कतिन्जेल अफिस आउने?  मनमा अर्को डर थपिन्छ, आफूलाई लिफ्ट दिएको व्यक्ति कोरोना संक्रमित पो हो कि’ ? यस्ता त्रासमा उनको आइतबारदेखि शुक्रबार सम्मको दैनिकी बितिरहेको छ।

साथीको पीडा आफ्नो ठाउँमा छ, म आफू कार्यरत कार्यालयको काउन्टरमा हेर्छु हरेक दिन ग्राहकको भीड निकै देखिन्छ।

राजधानी जस्तो सुगम, शिक्षित र सचेत नागरिक बसोबास गर्ने स्थानका  नागरिकमा प्रविधिप्रति विश्वास नभएको देख्दा भने निकै दु:ख लाग्छ।

विद्युत प्राधिकरणले पटक पटक अनलाइनमार्फत् बिजुलीको बिल भुक्तानी गर्नुस् भनिरहेको छ, प्राधिकरणको केन्द्रीय कार्यालयमा ठूलो अक्षरमा सूचना टाँसिएको छ, अनलाइनमार्फत् विद्युतको महशुल बुझाऔं, कोरोनाबाट बचौं भनेर तर उपभोक्तालाई विश्वास छैन र रहेनछ पनि।

मेरा धेरै साथीहरूले लकडाउन अवधिमा  पटक पटक फोन गरेर सोधे, उनीहरूलाई अनलाइनमार्फत् बिलको पैसा तिर्न भनें तर पढेलेखेका साथीहरूलाई नै आफू स्वयम् काउन्टरमा गएर तिरेको जस्तो अनुभूति हुँदैन रहेछ।

केही दिनअघि प्राधिकरणको रत्नपार्क वितरण केन्द्रको काउन्टर अगाडि लाइनमा बसेका आठ दश जना ग्राहकलाई सोधें पनि, अनलाइनमार्फत् तिरेको भए हुन्थ्यो नि किन लाइनमा बस्नुभएको?

मेरो प्रश्नमा केही ग्राहकले सजिलो उत्तर फर्काए, घरबाट काउन्टर नजिकै छ यसो खुरर्र गई हालौंन भनेर आएको। 

कतिपयले भने अनलाइनमार्फत् तिर्दा विश्वास नलागेको बताए।

‘अनलाइनबाट तिर्दा रसिद दिन्न नानी, रसिद नभएपछि तिमीले पैसा तिरेको छैन भन्यो भने के गर्ने नि हाम्ले ? दोहोरो पैसा तिर्न त सकिन्न नि होइन र ? बरु आफैं आएर तिरेपछि ढुक्क भयो नि।’ यो जवाफले भने धेरै कुरा सोच्न बाध्य बनायो।

उपभोक्ता तथा ग्राहकका  यसखाले संशयबाट उनीहरूलई विश्वास कहिले दिलाउने? कमजोरी उपभोक्ताको हो कि सेवा प्रदायक संस्थाको ? प्रविधिको युगमा हाम्रो सोच किन परिवर्तन हुन सकेन ? काउन्टरमा काम गर्ने आफ्नै साथीसंगी , काउन्टर बाहिर लामो लाइनमा पंक्तिबद्ध भएका उपभोक्ताको लस्कर आखिर जोखिम दुर्वतर्फ उतिकै छ। कर्मचारीले यस्तो अवस्थामा कसरी मनोवल उच्च बनाउने ? कसरी निर्धक्क भएर काम गर्ने ?

काउन्टरमा दिनभर पैसाको कारोबार गरेर घर फर्कने कर्मचारीको मनमा कस्ता कुरा खेल्छन्? यो कुरा खै त बुझेको? मेरो एक जना आफन्त यातायात कार्यालयमा काम गर्छन्, आर्थिक वर्षको अन्त्य, लकडाउन भर्खर खुला भएको मौकामा यातायात कार्यालय धाउने सेवाग्राहीको लस्कर सानो छैन।

घरमा सानो बच्चा छ,  वृद्ध आमा र हजुरबुवा छन्, हजुरबुवा दमका रोगी छन्, ती आफन्त साँझ घर फर्कंदा जहिल्यै तनावमा देखिन्छन्।

‘दिनभरी कस्ताकस्ता व्यक्तिसँग सम्पर्क हुन्छ, सचेतना त अपनाइएकै छ तै पनि मनमा चिसो पसिहाल्छ’ उनले सुनाए।

‘काम गरुन्जेल कामकै धुन हुन्छ, तर घर फर्कने बेलामा अनेक कुरा खेल्छन्, चार महिनाकी सुत्केरी श्रीमती, सानो छोरा, रोगी हजुरबुवा, आफ्नो काम जतिबेला पनि भीडभाडमा मात्रै हुन्छ।

काम नगरी पनि हुँदैन, एक मनले सोच्छु कर्मचारीको लागि जागिर ठूलो कि ज्यान?

ज्यान रहेन भने यो जागिरको के काम? फेरि बाँच्नुपर्छ, बाँच्नको लागि खानुपर्छ, खानको लागि केही उद्यम त गर्नै पर्‍यो, काम नगरी मुखमा माड लाग्दैन’।

अझ जहाँ जस्तोसुकै परिस्थितिमा पनि होमिनुपर्ने संचारकर्मी, चौविसै घण्टा पहरेदारको भूमिकामा उभिएका सुरक्षाकर्मी, कोरोना संक्रमितको सुरक्षामा ज्यानको बाजी लगाएर जोखिम मोलेका स्वास्थ्यकर्मी, तिनै बिरामी भर्ना गर्ने अस्पतालको हरक्षण सरसफाइ गर्ने सफाइकर्मीहरूको पीडा कति होलान् कति? उनीहरू कस्तो मनोबलले काम गरिरहेका होलान्?

उनीहरूको परिवारमा कस्तो तनाव हुँदो हो? अस्पतालमा काम गर्ने थाहा पाएपछि घरबेटीले डेरा छोड्न दबाव दिएको भन्ने समाचारहरू पनि प्रकाशमा नआएका होइनन्।

बाहिर बसेर गफ गरेजस्तो हुँदैन मैदान उत्रिएर काममा जोतिनु। कोरोना महामारीमा काम गर्नु नै छ, काम गर्नको लागि सबभन्दा पहिले ज्यान जोगाउनु छ, आफू जोगिएर अरुलाई पनि जोगाउनु छ।

कर्मचारीको लागि ठूलो चुनौती छ, ज्यान जोगाउने कि जागिर भन्ने। पहुँच हुने, कार्यालय अलि उदार भएका स्थानका कर्मचारीलाई अफिसले सवारी साधनको व्यवस्था गरेको छ तर टाढा टाढाका कतिपय कर्मचारी दुई घण्टासम्म हिँडेर अफिस गएको पनि देखियो।

हाकिम साबको आगनमा पुग्ने गाडी सामान्य कर्मचारीको लागि यस्तो विषम परिस्थितिमा अलिकति सहजता अपनाउन सक्दैनन्। मानवताको धर्म निर्वाह गरौं, ज्यान जोगिए पद जोगिने हो मान्यवर।

सरकारले लकडाउन खुकुलो भएको बतायो, सबै कार्यालय खुल्ने बतायो तर आफ्ना सवारी साधन नहुने कर्मचारीको लागि के व्यवस्था गर्ने? भन्ने कुरा खुलाएन।

आफ्ना साधन नहुने सेवाग्राही कसरी सेवा लिन आउलान् भन्ने कुरा बताएन।

जोर विजोर प्रणाली लागू भयो तर एकाघरमा श्रीमान श्रीमती एउटै कार्यालय जान पनि नपाउने नियम बन्यो, बाइकमा दुई जना बस्न नपाइने नियम बन्यो।

हरेक कर्मचारीको घरमा जोर विजोर सवारी हुँदैनन, एकदिन अफिस जाने अर्को दिन सवारी चलाउन नपाएर अफिस जान पाएनन् भने उनीहरूको हकमा के हुने भन्ने कुरा स्पष्ट भएन।

अफिस खुलिसके , जसरी भए पनि कर्मचारी अफिस आउनैपर्छ चाहे दिनभरी हिँड्न किन नपरोस् भन्ने शैलीको निर्णय भयो। सामान्य कर्मचारीको कति पीडा छ भन्ने कुरा कसैलाई थाहा छैन।

सामान्य कर्मचारीले ज्यान जोगाउने कि जागिर? यसको जवाफ कहाँबाट पाउने। जे भए पनि पहिले ज्यान जोगाऊँ त्यसपछि जागिर भन्ने आशय हो व्यक्तिगत रूपमा।

निजी क्षेत्रका धेरै संस्थाहरूले कर्मचारी कटौती गरे, यस्तो विषम परिस्थितिमा कर्मचारीलाई केही मात्रामा भए पनि सहुलियत दिएर मनोवल उच्च पार्नुको साटो धमाधम कामबाट निकाल्ने कुचेष्टा भयो ।

कर्मचारीले जागिरबाट निकालिएकै कारण अरु विकल्पबारे नसोचेर ज्यान फाल्न विवश भए, डिप्रेसनको शिकार भए भने त्यसको परिपूरण कस्ले गर्ने?

लाखौं करोडौं नाफा कमाएको शंखघोष गर्ने निकायले विषम परिस्थितिमा दुई तीन महिना पनि आफ्ना कामदार कर्मचारीको हित सोच्न सक्दैनन् भने उनीहरूबाट के अपेक्षा गर्ने?

पूरा तलब नसके तलबमा सम्झौता गरेर भए पनि कम्तिमा जागिर जोगाउने काम गरिदिएको भए कति उत्तम हुन्थ्यो!

अलिअलि जम्मा भएको घरमा बसेर खाएरै सकियो, कम्तिमा जागिर त छ भन्ने थियो त्यो पनि नरहेपछि ती कर्मचारी, कामदार कुन अपेक्षाले बाँच्लान्?

अछामका एक युवाले आफू जागिरबाट निकालिएको पत्र पाउँदासाथ शरीरमा पेट्रोल खन्याएर आत्मदाह गरे। यस्तै घटना अन्यत्र पनि बढे भने के गर्ने? कोरोनाका कारण भन्दा भोकमरीका कारण मानिस आहत भइरहेका छन्।

लकडाउनकै अवधिमा दैनिक चार जनाको दरमा आत्महत्याका घटना बढेको आंकडा सार्वजनिक भएका छन्। यी सूचक सकारात्मक द्योतक पक्कै होइनन्। विपत्ति र संकटको सामना सबै मिलेर गर्ने हो, पहिले ज्यान जोगाऊँ अनि जागिर जोगाऊँला ...      

Football news:

Berbatov – Bale: Gareth, I want to see you play football!
Arturo Vidal: Bayern are always the favourites, but Barcelona is the best team in the world
Kike Setien: Lewandowski is a great player, but he is not on the level of Messi
The great Milan of the noughties are already coaches: Gattuso is rebuilding Napoli, Shevchenko is going to the Euro, some are still at the club
The Premier League will not have a winter break in the 2020/21 season. Start-September 12, end-may 23
Liverpool have entered talks with Bayern over Tiago
Vertonghen goes to Benfica. The contract is for 3 years