Nepal
This article was added by the user . TheWorldNews is not responsible for the content of the platform.

कुशल मल्लकी आमा भन्छिन्- मैदानमा उ छक्का र चौकामात्रै हान्न खोज्छ, चाँडै आउट होला भन्ने डर मलाई हुन्छ

१९ औं एसियाली खेलकुदको टी-२० क्रिकेटमा मंगोलियाविरूद्ध कुशल मल्लले ३४ बलमै शतक हानेर छिटो शतक पूरा गर्ने  खेलाडीको विश्व कीर्तिमान बनाए।

उनले ५० बलमा ८ चौका र १२ छक्का प्रहार गरी अविजित १३७ रन बनाए।  

कुशलले कीर्तिमानी शतक प्रहार गरेको खेलमा नेपालले ३१४ रन बनाएको थियो। यो स्कोर पनि टि-२० इन्टरनेशनल इतिहासमा सर्वाधिक हो।

चीनको हाङझाउमा कुशलले कीर्तिमान बनाएको खेल उनकी आमा शर्मिला मल्लले काठमाडौंमा बसेर हेरेकी थिइन्।

नेपालको खेल चल्दै गर्दा शर्मिला खाना बनाउने तयारीमा थिइन्। छोरा मैदान प्रवेश गरेपछि डर लाग्न थाल्यो।  

मल्ल हिटर ब्याटर हुन्। बललाई बाउन्ड्री पार गराउनेमा उनको ध्यान हुन्छ। भारत विरूद्धको खेलमा उनी चाँडै आउट भएका थिए।

मंगोलिया विरूद्धको खेलमा पनि उनकी आमालाई सोही डर थियो।

‘खाली छक्का र चौका हान्न खोज्छ, चाँडै आउट हुने हो कि भन्ने डर लाग्छ,’ शर्मिलाले भनिन्।

The web
The web

त्यो दिन साग केलाउँदै, डर मान्दै छोराको ब्याटिङ हेरेकी थिइन्। छोराले कीर्तिमान बनाएपछि उनमा खुसीको सीमा रहेन।

खेलमा नेपाल २७३ रनको फराकिलो अन्तरले विजयी भएको थियो। देशले जितेको खेलमा छोरा कुशलले कीर्तिमानी शतक बनाउँदा अत्यन्त खुसी र गर्व लागेको शर्मिला बताउँछिन्।  

छोरा क्रिकेटर भएका कारण पनि शर्मिला नेपालले खेल्ने खेल हेर्न प्रायः छुटाउँदिनन्।

अरू खेलाडीहरूले ब्याटिङ गर्दा निर्धक्क हेर्न सके पनि छोरा मैदान प्रवेश गरेपछि उनलाई छटपटी हुन्छ, चाँडै आउट होला भन्ने डरले।

बुटवल उपमहानगरपालिका-११ देवीनगरका स्थायी निवासी कुशलको परिवार हाल काठमाडौं चन्द्रागिरि नगरपालिका मातातीर्थमा बस्छन्।

कुशलका बुवा रोमन्त  वैदेशिक रोजगारीमा छन्। परिवारसँगै देशको नाम राख्ने गरी खेलेकोमा बाबु रोमन्त औधी खुसी छन्।

उनी खुसी हुनुको कारण पनि आफैं खेलाडी भएकाले पनि हो। कुशलका बुवा रोमन्त  पनि तेक्वान्दोका ब्ल्याकबेल्ट प्राप्त खेलाडी हुन्।

कुशलका क्रिकेट गुरु नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वखेलाडी तथा प्रशिक्षक शक्ति गौचन हुन्।

जुन बेल कुशल होराइजन स्कुलमा अध्ययन गर्न आए त्यसबेलादेखि नै कुशलले गौचनको साथ पाए।

कुशलको क्रिकेटको विकासमा गौचनको महत्त्वपूर्ण योगदान रहेको शर्मिला बताउँछिन्।

‘गौचन सरले घरमै धेरै पटक आएर हामीलाई समेत बाबुको क्रिकेटमा राम्रो सम्भावना छ, अगाडि बढ्न सक्छ भन्नुहुन्थ्यो,’ उनले भनिन्, ‘अहिलेको अवस्थामा पुर्‍याउन गौचन सरले पनि धेरै गर्नुभएको छ।’

कुशललाई करिब १२ वर्षको उमेरदेखि नै प्रशिक्षित गर्दै आएका प्रशिक्षक गौचनले सानै उमेरदेखि नै कुशलमा क्रिकेटप्रतिको लगाव र मेहनतले नै अहिले यो अवस्थामा आएको बताए।

क्रिकेट सिक्दै जाँदा कुशलमा देखिएको ‘पावर हिटिङ’ र ‘लेफ्टहेन्डेड’कै कारण उनले खेललाई थप क्षमता प्रदर्शन गर्न सकेको गौचन बताउँछन्।

‘क्रिकेट खेल हो कहिले उतारचढाव भइरहन्छ, उसको खेलप्रतिको लगाव र निरन्तरताको परिणाम अहिले देखिन थालेको मान्न सकिन्छ,’ उनले भने, ‘खेलमा थप मेहनत, लगानी गर्दै जाने हो भने अझै राम्रो परिणाम आउन सक्छ, उसको क्रिकेटको भविष्य राम्रो छ।’ (रासस)