Nepal
This article was added by the user . TheWorldNews is not responsible for the content of the platform.

मानव बेचबिखन मुद्दाका दुई आरोपी क्यानडा र थाइल्यान्डमा, इन्टरपोलको सहायताले पक्रन प्रयास गर्दै प्रहरी

मानव बेचबिखनमा मुछिएका दुई नेपाली लामो समयसम्म पक्राउ पर्न सकेका छैन।

मानव बेचबिखन तथा ओसारपसारको आरोप लागेका व्यवसायी राजेन्द्र खड्का र कलाकार सुदर्शन गौतम अझै फरार छन्। 

उनीहरू दुबै जनाविरूद्ध मानव बेचबिखनको कसुरमा मुद्दा दर्ता भएको छ। गौतमविरूद्ध रेड कर्नर नोटिस जारी भएको मानव बेचबिखन अनुसन्धान ब्युरोका डिएसपी ज्ञानेन्द्रबहादुर विष्टले जानकारी दिए।

'हामीले उनीहरूलाई खोजिरहेका छौं, नेपालबाहिर भएकाले पक्राउ गर्न समय लागेको हो,' डिएसपी बिष्टले भने।

उनका अनुसार सुदर्शन क्यानडियन नागरिक बनिसकेका छन् भने राजेन्द्र थाइल्याण्डमा छन् भन्ने सूचना प्रहरीलाई आएको छ। 

खड्काविरूद्ध मानव बेचविखनमात्र नभई यौन शोषण गरेको भन्दै एक महिलाले उजुरी दिएकी छिन्। ३९ वर्षीया महिलाले २०७८ भदौ १८ गते ब्युरोमा उजुरी दिएकी हुन्।

उनले आफूलाई प्रलोभनमा पारेर बेल्जियम पुर्‍याइदिने भन्दै ८ लाख ५४ हजार रुपैयाँ ठगी गरेको र यौन शोषण गरेको जाहेरी दिएकी छन्।

जाहेरीमा उल्लेख गरेअनुसार उनी भारतको नयाँदिल्ली ब्युटीपार्लर सञ्चालन गर्थिन्। साथीको माध्यमबाट कमल बस्नेतसँग चिनजान गरेकी थिइन्। चिनजानको क्रममा कमलले अवैध बाटो अर्थात 'तल्लोबाटो' हुँदै विभिन्न देशमा पुर्‍याउने गरेको बताएकी छिन्।

The web
The web

उनले विभिन्न देशमा पुर्‍याएको व्यक्तिसँग कुराकानी गराएपछि विश्वास गरेर बेल्जियमको होटलमा हेल्परको काममा जाने निर्णय गरेको जाहेरीमा उल्लेख गरेकी छन्।

त्यसपश्चात कमलले राजेन्द्र खड्कालाई भेटाई थप प्रक्रिया र अन्य व्यक्तिसँग भेटघाट गराएका थिए। त्यही क्रममा आफू यौन शोषणमा परेको उनले बताएकी छन्।

'दुई/तीन पल्ट थाइल्याण्ड पुगेर फर्किएँ,' उनले जाहेरीमा लेखेकी छन्, 'थाइल्याण्ड पुगेर अन्य व्यक्तिलाई भेटाउने क्रममा यौन शोषण भएको हो।'

उनले दिएको उजुरीको आधारमा २०७८ कात्तिक ७ गते खड्का पक्राउ परेका थिए। बागलुङ गल्कोट नगरपालिका-४ घर भएका उनी त्यतिबेला काठमाडौंमा बस्थे। उनलाई  सिनामंगलबाट पक्राउ गरिएको थियो।

उनको कम्मरमूनिको भाग चल्दैन। ह्विलचियरको सहायताले हिँड्ने उनलाई काठमाडौं जिल्ला अदालतबाट ४ दिनको म्याद थप गरी अनुसन्धान गरिएको थियो। तर पछि उनी कसरी छुटे भन्नेबारे ब्युरोलाई प्रष्ट जानकारी नभएको एक प्रहरी अधिकारीले जानकारी दिए।

‘उनी त्यतिबेला पक्राउ परेका थिए, अदालतले दुई वर्ष कैदको फैसला गरिदिएको छ। तर उनी फेला परेका छैनन्,’ एक प्रहरी अधिकारीले भने।

मानव तस्करीमा मुछिएका नेपाली नागरिकमध्ये खड्का पनि मुख्यपात्र हुन्। यसरी मानव तस्करीमा मुछिएका नेपालीहरू विभिन्न देशमा लुकेर बसेका छन्।

त्यस्तै अर्का व्यक्ति हुन्- सुदर्शन गौतम।                            

रामेछापमा जन्मिएका गौतमलाई पनि लामो समयदेखि प्रहरीले खोजिरहेको छ। उनी अहिले क्यानडामा बस्दै आएको खुलेको छ। उनले दुबै हातबिना सगरमाथा चढेर र ‘हिम्मतवाली’ फिल्म खेलेर चर्चा बटुलेका थिए।

 १६ वर्षको उमेरमा करेन्ट लागेर उनका दुबै हात गुमेका थिए। 

नेपाल कमर्स क्याम्पसमा स्नातक गरेका उनी विभिन्न संघसंस्थामा जोडिएका थिए। त्यही क्रममा उनले विभिन्न देश घुम्ने अवसर पाएका थिए। 

शारीरिक रूपमा अपांगता भए पनि कहिले फिल्म त कहिले सगरमाथा चढेर चर्चा बटुलेकाले उनले विभिन्न देशमा जाने अवसर थिए। त्यही अवसरलाई उनले दुरूपयोग गरेको आरोप छ।  उनी विदेशमा जाँदा केही व्यक्ति सहयोगीको रूपमा लिएर जान्थे। र उतै छोडेर फर्किन्थे। 

धेरै जनालाई विभिन्न देशमा छोड्दै आउन थालेपछि गौतमले मानव तस्करी गरिरहेको हल्ला चलेको स्वलम्बन जीवन पद्धति केन्द्र ललितपुरका अध्यक्ष भोजराज श्रेष्ठले जानकारी दिए।

हल्ला चलिरहँदा पनि सामूहिक रूपमा तल्लो बाटो अमेरिका लैजान खोज्दा बीच बाटोमा एक युवतीको मृत्यु भएपछिमात्र गौतमविरूद्ध उजुरी दर्ता भएको उनले जानकारी दिए। 

सामूहिक रूपमा जाँदा बाटोमा एक जनाको मृत्यु भएपछि सँगै गएकाहरू फर्किएर उजुरी दिएको ब्युरोका एक प्रहरी अधिकारीले जानकारी दिए। 

अनुसन्धानको क्रममा गौतमको संलग्नता रहेको भन्ने कुरा खुलेको एक प्रहरी अधिकारीले पुष्टि गरे। गौतमविरूद्ध काठमाडौं जिल्ला अदालतमा मानव बेचबिखन ओसारपसारको मुद्दा दर्ता भएको छ।

उनले पाँच/सात वर्षअघि नेपाली युवतीलाई विभिन्न देश हुँदै अमेरिका पुर्‍याउने भन्दै प्रलोभनमा पारेर लगेको अनुसन्धानमा खुलेको छ। 

उनलाई नेपाल ल्याउन नेपाल प्रहरीले अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) लाई समेत पत्राचार गरेको  छ।  

'ढिलो-चाँडो प्रहरीले नियन्त्रणमा लिन्छ,' ब्युरोका एक प्रहरी अधिकारीले भने।

मानव तस्करीमा संलग्नता रहेको र उजुरी आएका व्यक्तिलाई नियन्त्रणमा लिन प्रहरीले प्रयास गरिरहेको छ। तर उजुरी नै नआएका व्यक्ति पनि एक/दुई जना छन्।

लिखित रूपमा उजुरी आए उनीहरूलाई पनि प्रहरीले पक्राउ गर्छ। तर पीडित आफैं उजुरी दिने हिम्मत नगर्ने गरेको एक प्रहरी अधिकारीले जानकारी दिए।

'प्रभावशाली व्यक्ति भएकाले उजुरी गर्न हिम्मत गरेका छैनन्, उजुरी आएको दिन पक्राउ गर्छौं,' ब्युरोका एक प्रहरी अधिकारीले भने, 'उनी पक्राउ परे मानव तस्करीमा संलग्नता रहेका मुख्य पात्र घट्थे।'