Nepal
This article was added by the user . TheWorldNews is not responsible for the content of the platform.

मदन पुरस्कार विजेता ओझा भन्छन्- कथा संग्रह लेख्दालेख्दै उपन्यास बनाएको थिएँ

विवेक ओझाको उपन्यास ‘ऐंठन’ले २०७९ सालको मदन पुरस्कार पाएको छ।

मदन पुरस्कार गुठीले आइतबार मदन पुरस्कार ओझाको ‘ऐंठन’लाई दिने निर्णय गरेको हो। 

मदन पुरस्कारको संक्षिप्त सूचीमा सुविन भट्टराईकृत ‘इजोरिया’, द्वारिकानाथ ढुंगेलको ‘चक्रव्यूहमा नेपालको जलस्रोत’, प्रगति राईको ‘थाङ्ग्रा’, सञ्जय विष्टको ‘माटाको घर’ पनि थिए। 

सांग्रिला बुक्सले प्रकाशन गरेको ‘ऐंठन’ को विमोचन गत चैतमा गरिएको थियो।

‘ऐंठन’ १० वर्षे सशस्त्र संघर्ष र त्यसका बहुआयामिक प्रभावहरूलाई केन्द्रमा राखेर तयार पारिएको ओझाले बताए।

‘मेरो दिमागमा दस वर्ष लामो कथा घुमिरहेको थियो। यसलाई उपन्यासको केन्द्रीय विषय बनाउने भनेपछि थप अध्ययन र विषयको खोजीमा जुटें। उपन्यासको आकार दिनचाहिँ पाँच वर्ष लाग्यो,’ उनले भने, ‘दर्जनौं पटक पुनर्लेखन गरेपछि ऐंठनको स्वरूपमा आइको हो।’

ओझाले २०७४ सालमा ‘ऐलानी’ उपन्यास लेखेका थिए। सांग्रिला बुक्सबाट पुस्तक बजारमा आएको थियो।

सीमान्त बादी समुदायलाई केन्द्रमा राखेर लेखेको उपन्यास चिताएभन्दा बढी पाठककहाँ पुगेर सकारात्मक प्रतिक्रिया पाएपछि ऐंठनलाई समृद्ध बनाउन लागेको उनले बताए।

The web
The web

‘१० वर्षअघि द्वन्द्वप्रधान कथा लेखेको थिएँ। त्यतिबेला कथा संग्रह निकाल्ने तयारीका लागि कथाहरू लेखिरहेको थिएँ। द्वन्द्व कथामा पुगेपछि यसलाई त उपन्यास नै बनाउनुपर्छ भन्ने लागेर विषयवस्तुको खोजीमा जुटें,’ उनले भने।

 कैलालीको टीकापुरका बासिन्दा ओझा पूर्णकालीन लेखक हुन्।

२०७५ पुसमा ‘जनयुद्ध’का घाइतेहरू माइतीघर मण्डलमा धर्ना बस्न आएका थिए। आफूहरूले रगत बगाएर संघर्ष गरेको त्यसको उपलब्धी नासिन लागेको भन्दै उनीहरू आन्दोलित भएका थिए। त्यतिमात्र होइन, कतिपय घाइतेहरूको शरीरमा गोली, बमका छर्राहरू थिए। यथोचित उपचार नपाउँदा पिप, रगतमा बाँच्नु परेको पीडा उनीहरूले पोखेका थिए।

जनयुद्धका घाइतेहरूको पीडाले पनि आफूलाई उपन्यासलाई पूर्णता दिन घच्घच्याएको उनले सुनाए।

‘हिंसात्मक संघर्षले पारेको प्रभावलाई केन्द्रमा राख्ने निधो गरेपछि म सामग्रीको खोजीमा जुटें। गाउँगाउँ गएर द्वन्द्वका पीडितहरू भेटें। उनीहरूका पीडाहरू सुनें,’ उनले भने, ‘यतिले मात्रै सामग्री अपर्याप्त हुन्थ्यो। त्यसपछि मैले जनयुद्धताकाका पत्रपत्रिका, त्यसमा छापिएका सामग्रीहरू अध्ययन गरें।’

उपन्यास लेखनका क्रममा राज्य र विद्रोही पक्ष दुबैतिरबाट भएका घटनाहरूको मिहीन अध्ययन गरेर त्यसको विश्लेषण पनि आफूले गरेको उनले बताए।

‘उपन्यास लेखनका लागि कोरा घटना, विषयमात्रै भएर हुँदैन। घटनाले विषय दिन्छन् भने श्वैरकाल्पनिकताले उपन्यासका बेग्लै उडान भर्छ भन्ने सोचें। धर्मशास्त्रमा उल्लेखित मिथक, दोस्रो विश्वयुद्ध र त्यसको आयाम समेतलाई जोडेर श्वैरकाल्पनिकताको रङ थपें,’ उनले सुनाए।

सांग्रिला बुक्सबाट प्रकाशित ‘ऐंठन’ ओझाको दोस्रो उपन्यास र तेस्रो कृति हो। पहिलो कृतिका रूपमा उनले २०७० सालमा ‘एक पाइला आकाशमा’ गजल संग्रह निकालेका थिए।

गजल लेखनबाट उपन्यास लेखन यात्रामा डोरिएका उनी चौथो कृतिको तयारीमा पनि छन्। पाण्डुलीपी पनि तयार भइसकेको बताए।

‘चौथो किताबको पाण्डुलीपी तयार भइसकेको छ। उपन्यासिका (लघु उपन्यास) को रूपमा त्यो पाण्डुलीपी तयार भएको छ। त्यसका अलावा केही विषयमा दिमागमा छ। चौथो कृतिबारे सोचिसकेको छैन,’ उनले भने।

पाँच वर्ष लामो साधनापछि तयार भएको ‘ऐंठन’ मदन पुरस्कार प्राप्त गरेपछि थप जिम्मेवारी बोध भएको उनले सुनाए।

‘लेखकलाई बढीभन्दा बढी पाठकका बीचका कृति पुगोस् भन्ने हुन्छ। साहित्यिक पुरस्कारमध्ये श्रेष्ठ पुरस्कार प्राप्त गरेपछि खुसी हुनु स्वाभाविकै हो। जिम्मेवारी बोध पनि गराएको छ। निरन्तर साहित्य साधनामा दत्तचित्त हुन प्रेरणा मिलेको छ,’ उनले भने।