Nepal
This article was added by the user . TheWorldNews is not responsible for the content of the platform.

पुरानै लयमा फर्कँदै अभिनाश, एकै खेलमा ६ विकेटको कीर्तिमान

१३ असोज, हान्झाउ । डेढ वर्षपछि राष्ट्रिय टिममा पुनरागमन गर्दै १९औं एसियाड खेलेका अभिनाश बोहराले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा एकै खेलमा ६ विकेट लिने पहिलो नेपाली बलरको कीर्तिमान बनाए ।

चीनको हान्झाउस्थित जेजियाङ युनिभर्सिटी अफ टेक्नोलोजी क्रिकेट फिल्डमा भएको समूह ए को दोस्रो खेलमा नेपालले माल्दिभ्सलाई १३८ रनले हराउँदा अभिनाशले कीर्तिमानी प्रदर्शन गरे ।

उनले ३.४ ओभरमा ११ रन मात्र खर्चेर ६ विकेट लिएपछि २१३ रनको लक्ष्य पछ्याएको माल्दिभ्स २ बल अगावै ७४ रनमा अलआउट भयो । नेपाल लगातार दुई खेल जित्दै समूह ए को विजेता बनेर क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

नेपालको लागि ६ विकेट लिने पहिलो बलर बनेका अभिनाशले ह्याट्रिक विकेट लिने अवसर २ पटक बनाएका थिए । तर त्यसबाट भने दुई पटक नै उनी बञ्चित भए ।

‘५ विकेट लिने लक्ष्य थियो । एकदमै राम्रो लागिरहेको छ,’ कीर्तिमानी प्रदर्शनपछि अभिनाशले भने, ‘ह्याट्रिक भएको को भए अझ राम्रो हुन्थ्यो ह्याट्रिक भएन । फस्ट र लास्टमा २ पटक ह्याट्रिक मिस भयो ।’

टी-२० स्पेशलिस्ट बलरको रुपमा परचित भए पनि अभिनाशले राष्ट्रिय टिममा निरन्तर स्थान बनाउन भने सकेका थिएनन् ।

गत वर्ष अप्रिलमा कीर्तिपुरमा भएको मलेसिया र पपुवा न्यु गिनी सम्मिलित त्रिकोणात्मक टी-२० सिरिज खेलेका उनले त्यसपछि पहिलो पटक नेपालका लागि खेलेका हुन् ।

आइतबार नेपालले फास्ट बलर करण केसीलाई बाहिर राख्दै विनोद भण्डारीलाई पहिलो रोजाईँमा खेलाइएको थियो ।

पहिलो खेलमा सोमपाल कामी, करण केसी, गुल्शन झापछि चौथो बलरको रुपमा खेलेका अभिनाशले २ ओभरमा १ मेडन राख्दै २ रन खर्चेर २ विकेट लिएका थिए ।

माल्दिभ्स विरुद्ध अभिनाशले छैटौं र अन्तिम ओभरमा ३-३ विकेट लिए ।

छैटौं ओभरको तेस्रो र चौथो बलमा विकेट लिएका उनी ह्याट्रिक नजिक पुगे पनि चुके । तर छैटौं बलमा विकेट लिँदै एकै ओभरमा ३ विकेट लिए । त्यसपछि उनले अन्तिम ओभरको पहिलो र दोस्रो बलमा विकेट लिँदै फेरि ह्याट्रिक नजिक पुगेका थिए । तर तेस्रो बलम विकेट लिन नसक्दा ह्याट्रिकबाट वञ्चित भए । यद्यपि चौथो बलमा विकेट लिँदै एकै खेलमा ६ विकेट लिए ।

मंगोलियाविरुद्धको खेलमा दुई विके लिएका उनले दोस्रो खेलपछि आफ्नो पुरानो लय भेट्टाएको महसुस गरे । ‘पहिलो म्याच खेल्दा खासै फिल भएको थिएन । आज पूरानो लयमा फर्किएको जस्तो फिल भयो ।’

सन् २०१९ मा युएईविरुद्ध टी-२० आईमा डेब्यु गरेका अभिनाश पहिलो सिरिजमै प्लेअफ दि सिरिज बनेका थिए । त्यसपछि उनले २०२० फेब्रुअरीमा ओडीआईमा पनि डेब्यु गरेका थिए । तर उनी ओडीआई भन्दा टी-२०आईमा फिट हुने बलर हुन् ।

मात्र २ वटा ओडीआई खेलेका उनले ३७ टी-२०आईमा ४८ विकेट लिएका छन् ।

उनी नेपालका लागि टी-२०आईमा सर्वाधिक विकेट लिनेमा तेस्रो स्थानमा छन् । सन्दीप लामिछानेले सर्वाधिक ८८ र करण केसीले ६२ विकेट लिएका छन् । एक दशकदेखि नेपालका लागि खेल्दै आएका सोमपाल कामीले ४० विकेट लिएका छन् ।

कप्तान रोहितले अभिनाशको बलिङको प्रशंसा गरे । ‘आजको गेममा अभिनाश दाईले योर्करहरु फालिराख्नुभयो । एकदमै राम्रो बलिङ थियो ।’

समूह चरणमा तुलनात्मक रुपमा दुई कमजोर टिमसँग खेलेको नेपालले अब क्वाटरफाइनलमा भारत, पाकिस्तान, श्रीलंका वा बंगलादेश मध्ये एक टिमसँग खेल्नुपर्छ ।

टी-२०आईमा नेपालले अहिलेसम्म खेलेको सबैभन्दा ठूलो टिम बंगलादेश हो । सन् २०१४ मा बंगलादेशमै भएको टी-२० विश्वकपमा नेपालले बंगलादेशसँग खेलेको थियो ।

टेष्ट राष्ट्रका टिमहरु वानडे विश्वकपका लागि भारतमा रहेकोले सबै टिमले दोस्रो रोजाईँको टिमलाई एसियाडमा पठाएका छन् । तर पनि ती टिम राम्रो रहेको भन्दै अभिनाशले राम्रो टिमसँग खेल्नु पाउनु अवसर भएको बताए । ‘राम्रो टिमसँग खेल्नु अवसर हो । हाम्रो लागि राम्रो म्याच पनि हुन्छ । राम्रो प्रदर्शन हुन्छ,’ उनले भने, ‘जस्तो सुकै टिम भए पनि राम्रो खेल्ने हो । प्रदर्शन राम्रो गर्ने र देशको लागि मेडल जित्ने लक्ष्य हो ।’

अभिनाशले टेष्ट राष्ट्रसँग खेल्दा कठिन हुने तर विकेट अनुसार के हुन्छ भन्न नसकिने बताए । ‘ठूलो टिमसँग खेल्दा कठिन त हुन्छ । यहाँ भएका टिमहरु राम्रो नै छ । यो विकेटमा केही भन्न सकिन्न जे पनि हुन सक्छ । कुनै बल लुकेर आउन सक्छ । ब्याटिङ गर्न सजिलो चाहीँ छैन ।’

ब्याटिङमा सबैलाई अवसर

क्वाटरफाइनलमा बलियो टिमसँग खेल्ने भएकोले नेपालले माल्दिभ्स विरुद्ध ब्याटिङमा सबैलाई अवसर दिएको थियो । पहिलो खेल खेलेका विनोद भण्डारीलाई वान डाउनमा खेलाएको थियो भने त्यसपछि सन्प जोरा र गुल्शन झालाई खेलाइएको थियो ।

कप्तान रोहित पौडेलले माल्दिभ्स विरुद्ध छैटौं नम्बरमा ब्याटिङ गर्दा अघिल्लो खेलमा कीर्तिमान बनाएका कुशल मल्ल र दीपेन्द्र सिंह ऐरी सातौं र आठौं नम्बरमा आए । कुशलले माल्दिभ्स विरुद्ध पनि आक्रमक ब्याटिङ गर्दै २० बलमा नटबउट ४७ रन बनाए ।

पुनरागमन मा विकेटकिपङ सहित तेस्रो नम्बरमा ब्याटिङ अवसर पाएका विनोद १३ रनमा आउट भए ।

कप्तान रोहितले आगामी खेललाई ध्यानमा राखेर टस जितेर ब्याटिङ गरेको र सबैलाई अवसर दिएको बताए ।

‘ब्याटिङ युनिटले राम्रो गरेको छ । आउने खेलमा कठिन अवस्थामा सबैले ब्याटिङ पाउँदैन । क्वाटरफाइनलअघि सबैले ब्याटिङ पाओस भनेर टस जितेर ब्याटिङ रोजेको हो । सबैले अवसर पाए’, उनले भने ।

उनले जुन खेल खेल रन बनाउने मानसिकताका साथ खेल्ने र टिमलाई योगदान गर्ने आफ्नो र टिमको लक्ष्य हुने बताए । आउने खेलहरुमा पनि यही लय कायम राख्न सके राम्रो हुने उनले बताए ।

क्वाटरफाइनलमा ठूलो टिमसँग खेल्नका लागि नेपाल उत्साहित रहेको र चुनौती पनि रहेको रोहितले बताए । ‘हामी एकदमै उत्साहित छौं । चुनौती पनि छ । टी-२०मा जे पनि हुन्छ सक्छ । यो विकेट चुनौतीपूर्ण छ,’  उनले भने, ‘हाम्रो बलिङ राम्रो छ । हामीले राम्रो ब्याटिङ गरे जुन सुकै टिमलाई चुनौती दिन सक्छौं । एकदमै उत्साहित छौं र खेलको लागि तयार छौं ।’

रोहितले दुई खेल खेलिसकेकोले नेपाललाई विकेटकाबारे थाहा भएकाले फाइदा हुने बताए । ‘हामीले दुई खेल खेलेको छौं । फाइदा छ विकेटका कसरी खेल्ने भनेर अनुभव छ तर हामी ओभर एक्साइटेड छैनौं । प्रोसेसहरु फलो गर्नेछौं ।’

नेपालले १९औं एसियाडमा नवौं दिनसम्म कुनै पदक जित्न सकेको छैन र क्रिकेटबाट पदक जित्ने मानसिकताको साथ आएको र जसरी हुन्छ मेडल जितेर जाने लक्ष्य रहेको रोहितले बताए ।