Nepal
This article was added by the user . TheWorldNews is not responsible for the content of the platform.

राजतन्त्रसँगै फेरिएको पचली भैरवको १२ वर्षे जात्रा

'बाह्र वर्षमा खोला पनि फर्कन्छ' भन्ने नेपाली उखानमा सायद खोलाले काठमाडौंका केही जात्रालाई संकेत गरेको हुनुपर्छ!

किनभने, खोला फर्केको त मैले देखेको छैन, तर काठमाडौंमा केही यस्ता जात्रा छन्, जुन बाह्र वर्षमा सिर्फ एकचोटि मनाइन्छ।

तिनैमध्ये एक हो — पचली भैरवको खड्ग साट्ने जात्रा र त्यस क्रममा नाचिने अष्टमातृकागणको प्राचीन नाच 'गथु प्याखं'।

आज म तपाईंहरूलाई यही जात्रासँग सम्बन्धित कथाहरू सुनाउँदैछु।

यो स्टोरीलाई मैले तीन खण्डमा बाँडेको छु —

पहिलो खण्डमा प्रत्येक बाह्र वर्षमा विजया दशमीको रात मनाइने खड्गसिद्धि जात्राबारे कुरा गर्नेछु।

दोस्रो खण्डमा सुनाउनेछु पचली भैरवको कथा — पचली भैरव को हुन्? काठमाडौं सहरसँग उनको नाता के हो? र, कसरी उनलाई एक आराध्य देवका रूपमा काठमाडौंवासीले पूजा गर्न थाले? यसबारे दोस्रो खण्डमा चर्चा हुनेछ।

र, तेस्रो खण्डमा म तपाईंहरूलाई हरेक वर्ष मनाइने पचली भैरव जात्राको ऐतिहासिक र सांस्कृतिक पक्षबारे बताउनेछु।

Nchl
Nchl
The web
The web

अब कथा सुरू गरौं है त!

पहिलो खण्ड

विजया दशमीको रात — २०८० कात्तिक ७ गते, मंगलबार।

राति साढे ९ बजेको छ। म काष्ठमण्डप परिसरमा छु।

काष्ठमण्डपका चार ढोकामध्ये पूर्वी ढोका, अर्थात् वसन्तपुर दरबारतिर फर्केको ढोकाअगाडिको मण्डपलाई चारतिर बारेर सफासुग्घर पारिएको छ। मण्डपका तीन ठाउँमा सयपत्री फूल बिछ्याइएको छ र माला पनि लगाइएको छ। यो मण्डपलाई स्थानीयहरू भुइसः (भूतेश्वरी पीठ) भन्छन्।

'जात्रा सुरू हुन आँट्यो?' मैले भुइसः वरिपरि झुम्मिएका मान्छेमध्ये एक जना अलि वयोवृद्धलाई सोधेँ।

'काँ सुरू हुनु, आधी रात हुन्छ,' उनले जवाफ दिए।

'हो र!'

'बल्ल त पचली मन्दिरबाट जात्रा निस्कन लाग्यो,' उनले भने, 'यहाँ आइपुग्दा त बाह्रै बज्ला। पोहोर जात्रा सकेर घर फर्किंदा राति तीन बजेको थियो।'

'पोहोर!'

म छक्क परेको देखेर उनले हाँस्दै भने, 'पोहोर भन्नाले बाह्र वर्षअगाडि।'

'अनि आधी रातमा पनि मान्छेहरू आउँछन् त जात्रा हेर्न?'

मेरो यो प्रश्नमा ती वयोवृद्धले भने, 'आउन त आउँछन्, तर पहिले–पहिले जस्तो हुँदैन।'

'पहिले पहिले भन्नाले?'

'पहिले राजा हुँदा यो जात्रामा राजा नै आउनुपर्थ्यो,' उनले अगाडि भने, 'पचली भैरवले राजासँगै खड्ग साट्नुहुन्थ्यो। त्यो बेला भीडभाड पनि धेरै हुन्थ्यो, सुरक्षा पनि कडा हुन्थ्यो। पुलिसले सिठ्ठी फुकेर वरिपरि ढिम्किनै दिन्थेन। हामी टाढा उभिएर हेर्थ्यौं। गणतन्त्र आएपछि राजासँग खड्ग साट्ने परम्परा पनि फेरियो।'

राजतन्त्रको अन्त्यसँगै मुलुकको शासन व्यवस्था मात्र फेरिएको होइन, केही सांस्कृतिक परिवर्तन पनि भएका छन्। पचली भैरवको १२ वर्षे खड्ग जात्रा त्यसैमध्ये एक हो।

12yrs-pachali-bhairab-jatra--(10)-1698236240.jpg
हरेक बाह्र वर्षमा प्रदर्शन गरिने प्राचीन नाच 'गथु प्याखं' को एक दृश्य। फाइल तस्बिर: नारायण महर्जन/सेतोपाटी

मैले जात्रा हेर्न आउनुअघि नै जात्रा व्यवस्थापन समितिका सचिव भरत मालीसँग यसबारे विस्तारमा कुरा गरेको थिएँ।

प्रत्येक बाह्र वर्षमा विजया दशमीको रात पचली भैरवको खड्गसँग गद्दीनसीन राजाको खड्ग साट्ने यो परम्परा 'खड्गसिद्धि' जात्राका नामले प्रसिद्ध छ। यसलाई लिच्छविकालीन राजनीतिसँग जोडिएको परम्परा मानिन्छ।

भरत मालीका अनुसार पचली भैरव मानव आकृतिमा नाच्दै काष्ठमण्डप अगाडिको भुइस:मा आउँछन्। त्यो बेला गद्दीमा जो राजा हुन्छन्, उनले तलेजु भवानीको खड्ग बोकेका हुन्छन्। तलेजुको खड्गलाई लिच्छवि राजा गुणकामदेवको राजखड्ग मानिन्छ। पचलीले आफ्नो खड्ग गद्दीनसीन राजाको हातमा थमाउँछन् र राजाको हातबाट तलेजुको खड्ग आफू लिन्छन्।

यसरी चारचोटि खड्ग साटासाट गर्दा आखिरमा पचलीको खड्ग पचलीकै हातमा र तलेजुको खड्ग राजाकै हातमा आउँछ।

खड्ग साट्नुको उद्देश्य लिच्छवि राजाले आफ्ना उत्तराधिकारीलाई शासन सुम्पेका हुन् भन्ने इतिहासकारहरूको भनाइ छ।

राजतन्त्रको अन्त्यपछि भने जात्राको रीत फेरिएको छ।

अघिल्लोचोटि तत्कालीन राष्ट्रपति रामवरण यादवकै हातबाट खड्ग साट्ने कि भन्ने कुरा चलेको थियो। तर पचली भैरव मन्दिरका पुजारी तथा गुठियारहरू राजी भएनन्। राष्ट्रपति हरेक पाँच वर्षमा फेरिने र यो संस्थामा गद्दीको उत्तराधिकारी भन्ने अवधारणा नै नभएकाले राष्ट्रपतिसँग खड्ग साट्नुको अर्थ नभएको पुजारी तथा गुठियारहरूको निष्कर्ष रह्यो।

केही समयअघि मैले पचली भैरव मन्दिरका पुजारीलाई यसबारे सोधेको थिएँ। उनको भनाइ थियो, 'राजासँग खड्ग साट्ने भनेको हाम्रो प्राचीन परम्परा हो। यो सिद्धियुक्त खड्ग हो, राजाको ठाउँमा राष्ट्रपति आएर खड्ग साट्नु उनकै सुस्वास्थ्यका लागि पनि राम्रो हुँदैन।'

यसरी राजा नरहेको र राष्ट्रपतिसँग खड्ग साट्न पुजारीहरू राजी नभएपछि गुठियारहरूले सरसल्लाह गरेर एउटा उपाय निकाले।

'तलेजु भवानीको खड्गलाई आसनमा विराजमान गराउने अनि पचली भैरवको खड्गलाई चारचोटि त्योसँग छुवाउने तरिका हामीले अपनायौं,' भरत मालीले भने, 'यसपालि पनि यही विधिअनुसार खड्गसिद्धि जात्रा हुँदैछ।'

यसबीच पचली भैरव र अष्टमातृकागणको प्राचीन नाच 'गथु प्याखं' भने परम्परागत रीतअनुसार नै चल्नेछ। 'गथु' अर्थात् माली वा मालाकार जातिले यो नाच नचाउने भएकाले गथु प्याखं भनिएको भरत माली बताउँछन्।

उनका अनुसार गथु प्याखंमा १३ सदस्यीय देवगण सामेल हुन्छन् — महालक्ष्मी, गणेश, ब्रह्मायणी, रूद्रायणी, कौमारी, नारायणी, बाराही, इन्द्रायणी, काली, भैरव, सिंगिणी, व्याधिणी र स्वयत् भैरव।

यो नाच बाह्र वर्षमा एकचोटि काठमाडौंको यंगल इलाका (तल्लो टोल) र बाह्र वर्षकै एकचोटि यम्बू इलाका (माथिल्लो टोल) मा नचाइन्छ। यंगल इलाकामा नचाइने वर्ष काष्ठमण्डप अगाडि पचली भैरवको खड्गसँग तलेजु भवानीको खड्ग साटिन्छ भने यम्बू इलाकामा नचाइने वर्ष मखनटोलमा पचलीको खड्गसँग भद्रकालीको खड्ग साट्ने चलन छ।

12yrs-pachali-bhairab-jatra--(17)-1698236125.jpg
हरेक बाह्र वर्षमा प्रदर्शन गरिने प्राचीन नाच 'गथु प्याखं' को एक दृश्य। फाइल तस्बिर: नारायण महर्जन/सेतोपाटी

खड्ग साट्ने परम्परा लिच्छवि कालदेखि चल्दै आएको भए पनि त्यही क्रममा नाचिने 'गथु प्याखं' भने मल्ल राजाले विक्रम सम्बतको सोह्रौं शताब्दीमा सुरू गरेको इतिहासकारहरू बताउँछन्।

इतिहासकार गौतमवज्र बज्राचार्यले आफ्नो किताब 'हनुमानढोका राजदरबार' मा यो नाच नचाउने प्रथा राजा अमर मल्ल (विसं १५८६-१६१७) ले चलाएको उल्लेख गरेका छन्।

राजा अमर मल्लले नै यो नाचको जिम्मा 'गथु' समेत भनिने माली वा मालाकार जातिलाई सुम्पेको भनाइ छ। त्यही बेलादेखि आजसम्म मालीहरूले नै यो परम्परा धान्दै आएका छन्। प्राचीन किराँत वंशका अन्तिम राजा गस्तीसँग गथुहरूको सम्बन्ध जोडिने भनाइ पनि छ।

अमर मल्लबाट सुरू गथु प्याखं सूर्य मल्ल, नरेन्द्र मल्ल, महिन्द्र मल्ल, लक्ष्मीनरसिंह मल्ल, प्रताप मल्ल, पार्थिवेन्द्र मल्ल, भुपालेन्द्र मल्ल, भास्कर मल्ल, जगतजय मल्ल र जयप्रकाश मल्लका पालामा भएको थियो।

त्यसपछि गोरखाका राजा पृथ्वीनारायण शाहले काठमाडौं उपत्यका जितेपछि मल्ल शासनको अन्त्य भयो। काठमाडौं जिते पनि पृथ्वीनारायणले पचली भैरवसँग खड्ग साट्न पाएनन्। गथु प्याखं हेर्न पनि पाएनन्। उनी बाह्रवर्षे जात्रा आउनुभन्दा अगाडि नै नुवाकोट गएको र उतै निधन भएको भरत माली बताउँछन्।

उनका अनुसार शाह वंशमा पचली भैरवसँग खड्ग साट्ने प्रथम राजा रणबहादुर शाह हुन्। रणबहादुर सानै भएकाले उनकी आमाले बोकेर खड्गसिद्धि गराएको इतिहास छ।

त्यसपछि राजा वीरेन्द्रका पालासम्म सबै शाहवंशीय राजाले पचली भैरवसँग खड्ग साट्ने मौका पाए। राजा वीरेन्द्रले आफ्नो शासनकालमा तीनचोटि खड्ग साटेका थिए। उनी अन्तिमचोटि यो जात्रामा सरिक भएको २०५५ सालमा हो।

Pachali1-1698233705.jpg
पचली भैरवसँग खड्ग साट्दै राजा वीरेन्द्र। फाइल तस्बिर स्रोत: पासा पासाको फेसबुक

शाह वंशका अन्तिम राजा ज्ञानेन्द्रलाई भने खड्ग साट्ने अवसर कहिल्यै जुरेन। वीरेन्द्रपछि जब ज्ञानेन्द्रको खड्ग साट्ने पालो आउँदै थियो, त्यति बेलासम्म राजतन्त्र नै अन्त्य भयो। ज्ञानेन्द्रले आफू गद्दीबाट हटेपछि पचली भैरवको नयाँ मूर्ति स्थापना गर्न भने सहयोग गरेका थिए।

पुरातत्वविद् साफल्य अमात्यले पनि आफ्नो किताब 'काठमाडौं नगरायण' मा पचली भैरवसँग खड्ग साट्ने जात्राबारे उल्लेख गरेका छन्। यो प्रचलनले 'प्रत्येक बाह्र वर्षमा राजाले भैरवसँग राज्य सञ्चालन गर्न अनुमति लिनुपर्ने वा लिने परम्पराको बोध गराउने' अमात्यको भनाइ छ।

'भैरवले गद्दीनसीन राजालाई आफ्नो शक्ति प्रदान गरी देश रक्षा गर्ने जिम्मा दिएको भावनाको प्रतीक पनि हो,' उनी लेख्छन्।

राजतन्त्र नरहे पनि पचलीसँग खड्ग साट्ने परम्परा अलि फरक ढंगले अहिलेसम्म जीवित छ। जुन रूपमा भए पनि खड्ग साट्दा पचली भैरवको शक्तिले काठमाडौं सहरको सदैव रक्षा हुने भरत माली विश्वास गर्छन्।

जात्राको कथापछि अब हामी काष्ठमण्डपको भुइस:मा फर्कौं।

टेकुको पचली भैरव मन्दिरबाट सुरू हुने गथु प्याखं काष्ठमण्डपको पूर्वी ढोकास्थित भुइस:मा आइपुग्दा लगभग आधी रात भइसकेको थियो। गथु प्याखंमा सामेल अष्टमातृका देवगणका सदस्यहरू आ-आफ्नो पोसाक र गरगहनाले सुसज्जित थिए। उनीहरूले शिरमा मुकुन्डो लगाएका थिए भने हातमा आ-आफ्नो खड्ग धारण गरेका थिए।

जसै देवगणहरू भुइस: आइपुगे, तलेजु भवानीको खड्गलाई आसनमा विराजमान गराइयो।

त्यसपछि पचली भैरवको मुकुन्डो लगाएका व्यक्तिले पृष्ठभूमिमा बजिरहेको बाजाको तालमा आफ्नो हातमा रहेको खड्गलाई तलेजुको खड्गसँग पहिलोचोटि छुवाए।

उनी बाजाको तालमा नाच्दै पछाडि सरे र फेरि नाच्दै अगाडि बढेर दोस्रोचोटि आफ्नो खड्ग तलेजुको खड्गसँग छुवाए।

यही क्रममा चारचोटि पचली र तलेजुको खड्गलाई आपसमा स्पर्श गराइयो।

यसबीच वरिपरि देवगणहरू नाच्दै गथु प्याखं मञ्चन गर्ने क्रम जारी थियो।

यसरी खड्गसिद्धि जात्रा सम्पन्न भए पनि गथु प्याखंको समापन यहीँ हुँदैन। भरत मालीका अनुसार असारको तछलागा भलभल अष्टमीका दिनसम्म काठमाडौं सहरका विभिन्न स्थानमा यो नाच नचाउने क्रम जारी रहन्छ।

सबभन्दा पहिला विजया दशमीको भोलिपल्ट एकादशीको दिन देवगणलाई नगर परिक्रमा गराइन्छ, जसलाई 'द्य: चाहिकेगु' भनिन्छ। त्यसपछि सहरका विभिन्न ठाउँमा यो नाच नचाइन्छ। ज्याबहालस्थित देवगणको घरको प्रांगणमा तीनचोटि र हनुमानढोका दरबारको नासल चोकमा दुईचोटि नचाउने चलन छ।

असारको तछलागा भलभल अष्टमीका दिन दलाछि भुसननीमा 'सिजा नकेगु' पूजा गरिन्छ। तान्त्रिक विधिबाट गरिने यो पूजामा विधिवत् चामल छरेपछि सबै देवगण अचेत भएर जान्छन् भन्ने विश्वास गरिन्छ। यसलाई 'द्य: सिगु' भनिन्छ।

त्यसपछि अचेत देवगणलाई चार जनाले बोकेर मरूहितिमा लगिन्छ र पानी खुवाइन्छ। त्यहाँबाट टेकु दोभानमा लगेर अचेत देवगणको मुकुन्डोलाई पचली भैरवले विधिवत् दाहसंस्कार गरेपछि बाह्रवर्षे गथु प्याखं सम्पन्न हुन्छ।

बाह्रवर्षे जात्रापछि अब हामी स्टोरीको दोस्रो खण्डमा पचली भैरव को हुन्, त्यसबारे चर्चा गरौं।

Pachali1633951108-1698234159.jpg
पचली भैरव। तस्बिर स्रोत: सुप्रिन्स शाक्य

दोस्रो खण्ड

काठमाडौं र पाटनको सीमा जोडिएको टेकु दोभाननिर पचली भैरव मन्दिर छ। काठमाडौंको प्राचीन स्वरूप खड्ग आकारको छ भन्ने हामीले सुन्दै आएका छौं। यो 'खड्गाकार' आकृतिलाई पचली भैरवले प्रयोग गर्ने शस्त्र खड्गको प्रतिरूप मानिन्छ।

देशभरि दसैंको रौनक छाएका बेला काठमाडौंको तल्लो टोल अर्थात् लिच्छविकालीन 'दक्षिण कोलिग्राम' का बासिन्दा यति बेला पचली भैरव जात्रा मनाउँछन्। हरेक वर्ष घटस्थापनाबाट सुरू भएर पञ्चमीको दिन सम्पन्न हुने यो जात्रासँग काठमाडौंको संस्कृति, प्राचीन राजनीति र फर्पिङका एक किराँती राजा र दुई जना अजिमाको 'त्रिकोणात्मक प्रेमकथा' जोडिएको छ।

जसरी काठमाडौं, इन्द्रचोकको आकाश भैरवलाई प्रथम किराँती राजा यलम्बरको प्रतिरूप मानिन्छ, त्यसरी नै टेकुको पचली भैरवलाई फर्पिङका किराँती राजाको प्रतिरूप भनिन्छ। फर्पिङमा पुरानो दरबारका केही अवशेष छन्, जसलाई स्थानीयहरू पचली भैरवको निवास मान्छन्।

कतिपयले पचली भैरव भनेका दोस्रो किराँती राजा पेलं वा पलम्बर हुन् पनि भन्छन्।

अब प्रश्न उठ्छ, फर्पिङका किराँती राजाको प्रतिरूप टेकुमा कसरी प्रतिस्थापन भयो?

के उनलाई यहाँ बन्दी बनाएर ल्याइएको थियो? वा, उनले काठमाडौंमाथि विजय प्राप्त गरेका हुन्?

यसको जवाफ पचली भैरवको किम्बदन्तीले दिन्छ। यसका विभिन्न संस्करण छन्, जुन आपसमा जेलिएका छन्।

मलाई यी कथा सुनाएका थिए, सन्दीप महर्जनले। काठमाडौंका चोक, गल्ली, मन्दिर र चैत्यहरू घुमेर लोककथा संकलन गर्ने २६ वर्षीय सन्दीप सामाजिक सञ्जालहरूमा 'फ्रयांकी फ्रेन्ज' नाउँले सम्पदा र संस्कृतिबारे ब्लग लेख्छन्, तस्बिरहरू सेयर गर्छन्।

उनले सुनाएको कथाको पहिलो संस्करण यस्तो छ —

फर्पिङका किराँती राजा हरेक दिन भेष बदलेर पाटन, सानेपाको राजतीर्थमा पूजा गर्न आउँथे। राजतीर्थ भनेको बागमती किनारमा पर्छ। अहिले बागमतीवारि काठमाडौंतर्फ पचली मन्दिर छ भने ठ्याक्कै पारि ललितपुरतर्फ राजतीर्थ छ।

यसरी पूजा गर्न आउँदा एकदिन उनको टेकु दोभानमा 'नै' अजिमासँग भेट भएछ।

नै अजिमा बिछट्टै राम्ररी थिइन्। पचली उनको सौन्दर्यमा कायल भएछन्। उनी हरेक दिन अजिमालाई हेर्न टेकु दोभानको चक्कर लगाउन थाले। दुवैको लुकिछिपी आँखा जुध्यो। पचली आँखा सन्काउँदा हुन्, अजिमा लजाउँदी हुन्!

बिस्तारै अजिमा पनि पचलीतिर आकर्षित भइन्। उनीहरू दुनियाँको आँखा छलेर बागमतीको तिरैतिर डुली हिँड्न थाले। आजको भाषामा भन्दा लुकिछिपी 'डेटिङ' जान्थे।

त्यही क्रममा एकदिन उनीहरू स्थानीयका आँखामा परे।

पचली भैरवलाई अप्ठ्यारो पर्‍यो। स्थानीयले पक्रेर केरकार गर्न थाले आफू फर्पिङको राजा भएको भेद खुल्ला र राज्यको बेइज्जती होला भन्ने उनलाई डर भयो।

त्यही भएर उनी 'नै' अजिमालाई बाटोमै छाडेर नजिकै गुप्त स्थानमा लुक्न गए।

अहिले जहाँ पचली भैरवको मन्दिर छ, फर्पिङका किराँती राजा लुकेको ठाउँ त्यही हो भन्ने जनविश्वास छ। त्यस्तै, पचलीले टेकु दोभान जाने जुन मोडमा अजिमालाई छाडेर हिँडेका थिए, उनी त्यही मोडमा पचलीलाई पर्खेर बसेकी छन्।

अहिले पनि टेकु दोभान जाने बाटोको घुम्तीनिर 'नै' अजिमाको मन्दिर छँदैछ। मान्छेहरूले पचली लुकेको ठाउँ देख्लान् भनेर अजिमा विपरीत दिशातर्फ फर्केको पाइन्छ। अर्थात्, अजिमाले पचली मन्दिरतिर हेरेकी छैनन्, त्यसको ठ्याक्कै उल्टो दिशातिर फर्केकी छन्।

Photo-(44)-1698233706.jpg
काठमाडौं रक्षा गर्ने पचली भैरव। काठमाडौंको 'खड्गाकार' आकृति पचली भैरवले प्रयोग गर्ने शस्त्र खड्गकै प्रतिरूप मानिन्छ। तस्बिर: नारायण महर्जन/सेतोपाटी
Photo-(47)-1698233706.jpg
पचली भैरवसँग मुख फर्काएर बसेकी 'नै' अजिमा। तस्बिर: नारायण महर्जन/सेतोपाटी

पचली र नै अजिमाको यो प्रेमकथामा एउटा उपकथा जोडिएको छ।

उनीहरू जति बेला लुकिछिपी टेकु दोभानमा घुम्न जान्थे, त्यही बेला एकदिन गणेशले फ्याट्टै दुवैलाई देखेछन्। भैरवलाई शिवजीको अवतार मानिन्छ, गणेश परे शिवजीकै छोरा। आफ्नै पितालाई अर्की केटीसँग हिँडेको देखेर गणेश आँखा सन्काउँदै मुसुक्क हाँसेछन्।

टेकु दोभानबाट काठमाडौंको भित्री सहरतिर आउँदा जसै तपाईं टेकु चोक नाघेर जैसीदेवलतिर उक्लिनुहुन्छ, उकालोको सिरानमै दाहिनेतिर गणेशको मन्दिर छ। यो यिनै 'मुसुकाः गणेश' को मन्दिर हो।

आफ्नो पितालाई आँखा सन्काउँदै मुसुक्क हाँसेकाले यी गणेशको नाउँ 'मुसुका:' रहेको हो कि!

के बेर!

यो त भयो, कथाको पहिलो संस्करण। अब हामी दोस्रो संस्करण सुनौं।

यसमा पनि भेष बदलेर आएका फर्पिङका किराँती राजाको 'नै' अजिमासँग प्रीति बस्छ। उनीहरू उसैगरी लुकिछिपी घुम्न जान्छन्। उनीहरूकी एउटी छोरी पनि जन्मिन्छिन्।

टेकु चोकनिरै बाटोको छेउमा तपाईंहरूले 'मचली' देवीको मन्दिर देख्नुभएको होला। यी मचली देवीलाई पचली र नै अजिमाकै छोरीका रूपमा लिइन्छ।

प्रेम सम्बन्धबाट छोरी जन्मिसक्दा पनि पचलीले आफ्नी प्रेमिकालाई आफू को हुँ भनेर बताएका थिएनन्। एकदिन उनलाई आफ्नो परिचय खोल्न मन लाग्यो।

भने, 'प्रिय, मैले अहिलेसम्म तिमीलाई आफ्नो बारेमा सही कुरा बताएको छैन।'

नै अजिमा छक्क परिन्।

'हजुर यो के भन्दै हुनुहन्छ?' उनले मायालु पारामा सोधिन्, 'कुन कुरा बताउनुभएको छैन मलाई?'

'मेरो परिचय।'

नै अजिमा शान्त भइन् र भनिन्, 'प्रेमको अगाडि परिचयको के मोल! हजुर जो भए पनि, जस्तो भए पनि मैले आफ्नो आत्मा सुम्पिसकेकी छु।'

उनले अगाडि भनिन्, 'मलाई हजुरको वास्तविक परिचयसँग कुनै मतलब छैन। मेरो निम्ति त हजुरको एउटै परिचय छ, त्यस्तो व्यक्ति, जसलाई मैले आफ्नो सर्वस्व सुम्पेँ। तै पनि कुरा उठाइहाल्नुभयो, भन्नुस् न त के हो हजुरको वास्तविक परिचय?'

'म सामान्य मान्छे होइन प्रिय,' पचलीले भने, 'म फर्पिङको राजा हुँ।'

यति भनेर उनले अजिमालाई एकमुठी चामल दिए, 'म तिमीलाई आफ्नो वास्तविक रूप देखाउँछु। त्यसपछि तिमी यो दिव्य चामल मलाई चढाउनू।'

पचलीले आफ्नो वास्तविक रूप देखाए।

किराँती राजाको रौद्ररूप देखेर अजिमा तर्सिइन्। उनी डराएको देखेर पचलीलाई के गरूँ, कसो गरूँ भयो। बरू अजिमा शान्त नभएसम्म लुकेर बस्छु भनेर उनी त्यहीँको एउटा नालीमा लुक्न गए। पचली लुकेको त्यो नालीलाई 'पञ्चनाली' भनिन्छ। आज पनि पचली भैरव त्यही नालीमा लुकेर बसेको विश्वास गरिन्छ।

यता डरले सातोपुत्लो गएपछि 'नै' अजिमाले हातमा मुठी पारेको चामल आफैंले खाइछन्। भैरवले दिएको 'दिव्य' चामल खाएकीले अजिमाले पनि 'दैवी' शक्ति प्राप्त गरिन् र देवीका रूपमा स्थापित भइन् भन्ने भनाइ छ।

'कतिपयले नै अजिमासँग पहिलेदेखि दैवीशक्ति थियो पनि भन्छन्,' सन्दीपले सुनाए, जसै पचली भैरवले आफ्नो आवरण उतारेर वास्तविक रूप देखाए, त्यसलगत्तै नै अजिमा मुसुक्क हाँसिन्।

'हजुरलाई पनि मैले आफ्नो वास्तविक रूप देखाएकी छैन,' उनले भनिन्, 'म पनि सामान्य केटी होइन।'

यति भनेर नै अजिमा 'देवी' रूपमा प्रकट भइन्।

'यो कथाअनुसार पचली भैरव र नै अजिमाको मन्दिर फरक–फरक ठाउँमा रहे पनि यी प्रेमी–प्रेमिका आफ्नी छोरीसहित पचली परिसरमै बस्छन् भन्ने विश्वास गरिन्छ,' सन्दीपले भने।

Photo-(1)-1698233705.jpg
टेकुको मुसुका: गणेश। तस्बिर: नारायण महर्जन/सेतोपाटी

सन्दीपले सुनाएको तेस्रो संस्करणको कथामा पचली भैरव, नै अजिमा र अर्की एक अजिमाको 'त्रिकोणात्मक प्रेमकथा' छ। यो कथा खोकनासँग पनि जोडिन्छ।

यसमा पचली भैरव र नै अजिमा लुकिछिपी घुम्न हिँडेका बेला गाइँगुइँ हल्ला चल्छ। स्थानीयहरू आफ्नो टोलको केटी घुमाउने अपरिचित को हुन् भनेर पचलीको खोजी गर्न थाल्छन्।

पचली नै अजिमालाई टेकु दोभानको मोडमा छाडेर गोप्य ठाउँमा लुक्न जान्छन्।

यता नै अजिमा पचलीको बाटो हेरेर बसिरहेकी हुन्छिन्, उता पचली चाहिँ त्यही बेला भद्रकालीको लुमरी अजिमातिर लहसिन्छन्।

लामो समय पचली भेट्न नआएपछि नै अजिमा उनको खोजखबर लिन थाल्छिन्। उनले थाहा पाउँछिन्, पचली त लुक्न गएको बहानामा लुमरी अजिमासँग प्रीति पो गाँस्न थालेछन्!

उनी रिसले चूर हुन्छिन्, अनि पचलीसँग ठुस्केर विपरीत दिशातिर फर्केकी हुन् भन्ने भनाइ छ।

यो कथा यत्तिमै टुंगिदैन।

पचलीले वास्ता गर्न छाडेपछि नै अजिमा बिस्तारै विरहले व्याकुल हुन थाल्छिन्। उनी टेकु दोभानबाट रूँदै रूँदै बागमती किनारै किनार अघि बढ्छिन्।

एउटा सुनसान ठाउँमा एक जना ज्यापूसँग उनको जम्काभेट हुन्छ।

एक्लै रूँदै हिँडेकी महिला देखेपछि ज्यापू सहानुभूति प्रकट गर्न अघि सर्छन्। उनको पीर बुझ्न खोज्छन्।

ज्यापूले निकै कर गरेपछि नै अजिमाले रूँदै रूँदै आफ्नो सबै कहानी सुनाउँछिन्।

ज्यापू भन्छन्, 'हे देवी, तपाईं यसरी विलाप नगर्नू। तपाईं अबदेखि यहीँ बसे हुन्छ। यहाँ तपाईंलाई कसैले दुःख दिँदैन। तपाईं को हो, कसरी आउनुभयो भनेर कुरा पनि काट्दैन।'

यसरी नै अजिमाले रूँदै कथा सुनाएकीले त्यो सुनसान ठाउँको नाउँ 'खोया खँ कंगू थ्या' अर्थात् 'रोएर कथा भनेको ठाउँ' रहन गएको किम्बदन्ती छ। कालान्तरमा त्यही नाउँ अपभ्रंश हुँदै 'खोकना' रहेको विश्वास गरिन्छ। खोकनाको रुद्रायणी देवीलाई नै अजिमाकै प्रतिरूप मान्ने चलन छ। यता, टेकु दोभानको नै अजिमा मन्दिरलाई रुद्रायणी पीठका रूपमा पनि पूजा गरिन्छ।

पचली भैरव, नै अजिमा र लुमरी अजिमाबीचको 'त्रिकोणात्मक प्रेमकथा' को झलक सांस्कृतिक उत्सवहरूमा पनि देखिन्छ।

जस्तो — हरेक बाह्र वर्षमा काष्ठमण्डप अगाडि देखाइने पचली भैरवको खड्ग जात्रामा रातो मुकुण्डो लगाएर नै अजिमा सरिक हुन्छिन्। त्यस्तै, मखनमा हुने अर्को बाह्रवर्षे खड्ग जात्रामा भद्रकाली र पचली भैरवको प्रतिरूप नचाउने चलन छ।

दुवै अलग–अलग जात्रा हुन् तर दुवैका गुठियार एउटै हुन्छन्। यी दुई बाह्रवर्षे जात्राबीच चार वर्षको अन्तर हुन्छ, सन्दीपले भने, 'यसले यी तीनै जना देव–देवी एकअर्कासँग जोडिएका छन् भन्ने देखिन्छ।'

किम्बदन्ती भनेको कथ्य र तथ्यको मिश्रण हो। यहाँ फर्पिङका किराँती राजा भेष बदलेर काठमाडौं आउँदा माया बसेको र स्थानीयबाट बच्न पञ्चनालीमा लुकेर बसेका घटना कथ्य हुन सक्छन्। तर यी कथ्यमा प्राचीन काठमाडौंको एउटा तथ्य लुकेको हुन सक्छ।

यहाँ फर्पिङका किराँती राजा काठमाडौंबारे चियो गर्न साँच्चै भेष बदलेर आएका हुन सक्छन्। उनी पञ्चनालीमा लुक्नुको आसय काठमाडौंका सैनिकबाट पक्राउ परेर बन्दी बनाइएको हुनसक्छ।

आफ्ना राजालाई बन्दी बनाएर अपमान गरेको रिसमा आगो भएको फर्पिङले काठमाडौंमाथि धावा बोलेर राजालाई मुक्ति दिलाएको थियो कि!

वा, त्यही युद्धमा विजयी भएपछि टेकुको जुन ठाउँमा फर्पिङे राजालाई बन्दी बनाइयो, त्यसैको सम्झनास्वरूप पचली भैरवको मूर्ति स्थापना गरिएको हो कि!

के बेर!

स्टोरीको तेस्रो खण्डमा अब हामी पचली भैरवसँग जोडिएको काठमाडौंको इतिहास र संस्कृतिबारे चर्चा गरौं।

Pachali-Bhairab-Jatra-(6)-1698233705.jpg
जात्रा क्रममा पचली भैरवका छोरा भनिने 'नाय् खिं द्य' अर्थात् रूद्रविनायक। तस्बिर: सेतोपाटी

तेस्रो खण्ड

पचली भैरव जात्रा संस्कृतिसँग मात्र जोडिएको छैन, यसमा हामी प्राचीन काठमाडौंको राजनीतिक अवशेष पनि पाउँछौं। यसलाई काठमाडौं सहर स्थापना र सत्ता हस्तान्तरण परम्पराको लिच्छविकालीन सम्झनाका रूपमा लिइन्छ।

लिच्छवि राजाहरूले दक्षिण कोलिग्राम (अहिले काठमाडौं भित्री सहरको दक्षिणी भाग) बसाउँदा सहरको रक्षक वा द्वारपालका रूपमा टेकु दोभाननिर पचली भैरव मन्दिर स्थापना गराएको भनाइ छ। काठमाडौंको 'खड्गाकार' आकृति पचली भैरवले प्रयोग गर्ने शस्त्र खड्गकै प्रतिरूप भएको इतिहासकारहरू बताउँछन्। त्यही भएर बर्सेनि धुमधामका साथ मनाइने पचली भैरव जात्रा लिच्छविकालदेखि चलेको मानिन्छ।

यो जात्रा घटस्थापनादेखि पञ्चमीसम्म पाँच दिन मनाइन्छ। जात्राको सुरूआत ती गुठियारको घरबाट हुन्छ, जहाँ अघिल्लो वर्ष पचली भैरवको मूर्ति अंकित घ्याम्पो लगेर राखिएको थियो। हरेक वर्ष फरक–फरक गुठियारको घरमा घ्याम्पो राख्ने चलन छ। सबै गुठियारको वासस्थान प्राचीन काठमाडौं सहरको दक्षिणी भाग अर्थात् यंगल इलाकाभित्र पर्छ।

घटस्थापनाको दिन साँझ पचली भैरवको मूर्ति अंकित घ्याम्पोलाई गुठियारको वासस्थानबाट कोहितिस्थित चित्रकारको घरमा लगेर राखिन्छ। त्यहाँ मूर्तिको साजसज्जा र विधिपूर्वक पूजा गरेर उक्त घ्याम्पोलाई अलंकृत गरिन्छ। यो भनेको 'पचली भैरवको मूर्तिलाई दृष्टि दिनु' हो।

त्यसपछि चौथीको दिन बेलुकी उक्त मूर्तिलाई भीमसेनस्थानस्थिति क्वाबहाःमा बस्ने थकु जुजुहरूकहाँ पूजा गर्न लगिन्छ। थकु जुजु भनेका वैश्य ठकुरीहरूका वंशज हुन् भन्ने भनाइ छ।

नेपालको इतिहासमा विक्रमको बाह्रौं–तेह्रौं शताब्दीतिर पालवंशी वैश्य ठकुरीहरू निकै प्रभावशाली थिए। त्यति बेला शिवदेव, इन्द्रदेव लगायत राजाहरूको शासन थियो। तर उनीहरू शक्तिहीन भएको मौका छोपेर वैश्य ठकुरीहरू विभिन्न भागमा आफ्नो अधिकार जमाउँथे।

इतिहासकार गौतमवज्र बज्राचार्यले आफ्नो किताब 'हनुमानढोका राजदरबार' मा लेखेका छन्, 'तिनै वैश्य ठकुरीहरूका सन्तानलाई हराएर रत्न मल्लले काठमाडौंमा आफ्नो अधिकार पुनर्स्थापित गरेका थिए। तिनका वंशजहरू काठमाडौंमा अद्यापि छन्, जो 'थकु जुजु' भनी प्रसिद्ध छन्।'

यसरी रत्न मल्लले काठमाडौं उपत्यका जित्नुअघि वैश्य ठकुरी (थकु जुजु) का पुर्खाहरूले नै पचली भैरव जात्रा चलाएको गौतमवज्रको भनाइ छ। यही कारणले पचली भैरव जात्रामा आज पनि थकु जुजुहरूको महत्वपूर्ण भूमिका रहेको उनले लेखेका छन्।

थकु जुजुकहाँ पूजा सकेपछि त्यसै दिन बेलुकी मूर्तिलाई टेकुस्थित पचली पीठमा ल्याइन्छ। भोलिपल्ट पञ्चमीको दिन घ्याम्पोमा वर्षदिनअघि बनाएर राखेको जाँड, रक्सीलाई जलका रूपमा पञ्चनालीमा बगाइन्छ।

पहिले–पहिले उक्त जल अलि पर पोखरीसम्म बग्ने गरेको थियो। त्यो पोखरी अहिले छैन। पोखरी भएको ठाउँमा स्कुल छ, जसले पचली भैरव गुठीबाट प्राप्त जग्गामा जथाभाबी संरचना बनाउन खोजेको भन्दै केही समयअघि हंगामा भएको थियो।

पञ्चमीकै मध्यरात मुख्य जात्रा आरम्भ हुन्छ। भैरवको मूर्ति बोकेर बाजागाजासहित ब्रह्मटोल, लगन, जैसीदेवल हुँदै मरूटोलको बाटो हनुमानढोका लगिन्छ। भैरवकी पत्नी 'नै' अजिमा र पुत्र 'नाय् खिं द्य:' अर्थात् रूद्रविनायकको मूर्ति पनि जात्रामा सँगसँगै लगिन्छन्। हनुमानढोका पुगेपछि अर्को विशेष विधि हुन्छ।

त्यसै रात 'जीवित देवी' कुमारीलाई हनुमानढोका ल्याइन्छ र पचली भैरवसँग आँखा जुधाउन लगाइन्छ। यसरी आँखा जुधाउँदा कुमारीले दिव्यशक्ति प्राप्त गर्ने जनविश्वास छ। कुमारीले आफैं पुग्यो नभनेसम्म फिर्ता लैजान हुँदैन। इच्छा लागुञ्जेल हेर्न पाएपछि बल्ल कुमारीलाई दिव्यशक्ति प्राप्त हुने भनाइ छ।

Pachali-Bhairab-Jatra-(5)-1698233704.JPG
पचली भैरवसँग आँखा जुधाउँदै 'जीवित देवी' कुमारी। फाइल तस्बिर: सेतोपाटी

कुमारी र पचली भैरवलाई किन आँखा जुधाउन लगाइयो भन्नेबारे दुइटा धारणा पाइन्छ।

पहिलो, कुमारीलाई पचली भैरवको छोरीका रूपमा लिइन्छ। आँखा जुधाउनु भनेको वर्षको एकचोटि बाबु र छोरीले एकअर्कालाई हेराहेर गर्नु हो। यसरी हेर्दा कुमारीले दिव्यशक्ति प्राप्त गर्छिन् भन्नुको अर्थ छोरीप्रति बाबुको आशीर्वाद हो।

अर्को भनाइअनुसार, काठमाडौंका मुख्य जात्रापर्वमा कुमारीलाई बाहिर निकाल्नु सामान्य चलन हो। अरू जात्रामा पनि कुमारीको दर्शन गर्ने चलन छँदैछ।

अर्कातिर, कुमारी देवीलाई ३२ लक्षणले युक्त मानिन्छ। त्यसैमध्येको एउटा लक्षण कसैसँग नडराउनु हो। यहाँ आँखा जुधाउनुको अर्थ पचली भैरवको रौद्ररूप देख्दा पनि कुमारी रत्तिभर डराउँदिनन् भनेर प्रमाणित गर्नु हो।

यो विधि सकिएपछि गुठियारहरूको पालोअनुसार पचली भैरवको मूर्तिलाई उनको वासस्थानमा लगिन्छ र जात्रा सकिन्छ। अर्को वर्षको जात्रासम्म मूर्ति त्यहीँ रहन्छ।

पचली भैरव जात्रा मल्लकालमा खुब लोकप्रिय थियो। तत्कालीन अभिलेख (थ्यासफु) हरूमा यसबारे धेरै उल्लेख पाइन्छ। भाषा वंशावलीअनुसार राजा शिवसिंह (विसं १६३५–१६७७) ले पचली भैरवको मूर्ति अंकित धातुको घ्याम्पो बनाइदिएका थिए। त्यसअघिसम्म घ्याम्पो माटोको थियो। राजा भाष्कर मल्ल (विसं १७५७–१७७९) को राज्यकालमा राजमाता भुवनलक्ष्मीले नयाँ घ्याम्पो फेरिदिएको इतिहास छ।

इतिहासकार गौतमवज्र बज्राचार्यले आफ्नो किताब 'हनुमानढोका राजदरबार' मा मरूसत्तलमा टांगिएको विक्रम सम्बत् १३९० मंसिरको एउटा ताम्रपत्रबारे उल्लेख गरेका छन्, जसमा पचली भैरवलाई 'पांचालि भह्राह्र' भनी लेखिएको छ।

बज्राचार्यका अनुसार विक्रम सम्बतको अठारौं शताब्दीतिर लेखिएका ऐतिहासिक सामग्रीहरूमा पचली भैरवलाई कहीँ पंचदि भैरव, कहीँ पंचलि भैरव त कहीँ पंचदि मण्डल भनेर उल्लेख गरिएको पाइन्छ। नेवारीमा यसलाई 'पचिमह्र:' भनिन्छ। पांचालि शब्दकै अपभ्रंश भएर पंचालि, पंचदि आदि रूपमा परिणत भएको उनको भनाइ छ।

'यसबाट एउटा चाखलाग्दो कुरा प्रकाशमा आएको छ,' गौतमवज्र लेख्छन्, 'प्राचीन कालमा पञ्चायतलाई बुझाउन पाञ्चाली भनिन्थ्यो। लिच्छवि राजाहरूले ठाउँ-ठाउँका पाञ्चालिक (पञ्चायतका सदस्यहरू) लाई स्वायत्त शासनको अधिकार दिएका थिए। त्यसै कारण त्यस बेलाका जनतामा पाञ्चालीको निकै प्रभाव थियो।'

मल्लकालमा पनि देश रक्षा तथा स्थानीय बन्दोबस्त लगायत काममा पञ्चायतको महत्वपूर्ण स्थान हुन्थ्यो। यही आधारमा काठमाडौंको दक्षिणी भागका पाञ्चालिकहरूको रेखदेखमा रहेको उनीहरूको आफ्नै देवता भएकाले पचली भैरवको नाम 'पांचालि भह्राह्र' रहेको हुनसक्ने गौतमवज्र बज्राचार्यको भनाइ छ।

यस्तै ऐतिहासिक आधार र काठमाडौंमा प्रचलित कथा-किम्बदन्तीहरूले पचली भैरवको सम्बन्ध प्राचीन इतिहाससँग जोड्छन्।

तपाईंहरूले पनि काठमाडौंको ऐतिहासिक र सांस्कृतिक महत्व बोकेको पचली भैरव जात्रा नहेर्नुभएको भए अर्को वर्ष दसैंमा नछुटाउनू है!

खड्ग साटेको हेर्न त अब अर्को बाह्र वर्ष नै कुर्नुपर्छ, तर वार्षिक रूपमा हुने जात्रा भने हेर्न सक्नुहुन्छ।

त्यसबीच आगामी दिनहरूमा काठमाडौंका विभिन्न ठाउँमा प्रदर्शन गरिने बाह्रवर्षे प्राचीन नाच 'गथु प्याखं' भने नछुटाउनुहोला।

नाचको रमाइलो सँगसँगै काठमाडौंको प्राचीन इतिहास र संस्कृतिसँग साक्षात्कार गर्न पाइने यो अवसर फेरि बाह्र वर्षपछि मात्र आउँछ है!