Nepal
This article was added by the user . TheWorldNews is not responsible for the content of the platform.

सिएमए डिग्रीबाट ६६ जना विद्यार्थी दीक्षित, के हो सिएमए कोर्स?

इन्स्टिच्युट अफ सर्टिफाइड म्यानेजमेन्ट एकाउन्टेन्ट (आइसिएमए) अस्ट्रेलियाले नेपाल च्याप्टरका ६६ जना सिएमए डिग्री हासिल गरेका विद्यार्थीहरूलाई दीक्षित गरेको छ।

शनिबार एक कार्यक्रमकाबीच कार्यबाहक महालेखापरीक्षक महेश्वर काफ्लेले विद्यार्थीहरूलाई प्रमाणपत्र उपलब्ध गराएका हुन्।

उनले नेपालको लेखा क्षेत्रमा व्यावसायिक र दक्ष लेखा जनशक्तिको अभाव रहेको बेला सहयोग पुग्ने बताए। नेपालका करिब ६ हजार बढी सरकारी संघ संस्थाहरूमा चार्टर एकाउन्टेन्ट राख्न सम्भव नभएको र व्यावसायिक लेखा परीक्षण हुन नसकेको सन्दर्भमा यसमा अब सिएमएहरूको महत्वपूर्ण भूमिका रहने उनले बताए।

'अडिट कठिन काम हो, आइसिएमए अस्ट्रेलियासँग सम्बन्धन राखेर हासिल गरेको ज्ञानले राज्यलाई लेखा परीक्षण गर्ने दक्ष जनशक्ति उपलब्ध हुनेछ,' उनले भने।

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष सुरजकृष्ण वैद्यले शैक्षिक, लेखा तथा व्यवस्थापन क्षेत्रमा नेपालीलाई थप दक्ष बनाउन आइसिएमए अस्ट्रेलियाले महत्वपूर्ण भूमिका खेलेको बताए।

नेपालका लागि आइसिएमए अस्ट्रेलियाका क्षेत्रीय निर्देशक कुमारप्रसाद खतिवडाले विश्वव्यापी रूपमा अभ्यास भइरहेको जानकारी गराउँदै नेपालमा पनि प्रवेश पाएको बताए। 

'हामीले भर्खरै सुरू गरेको कोर्समा आकर्षण बढेको पाएका छौँ, आगामी दिनमा सम्भावित व्यक्ति तथा व्यावसायिक प्रतिष्ठानहरूमा कार्यरत लेखाका प्रमुखहरूलाई यस कोर्समा जोड्नु पर्ने हुन्छ,' उनले भने।

के हो सिएमए कोर्स?

The web
The web

विश्वव्यापी रूपमा अभ्यास गरिने लेखा तथा व्यवस्थापन विषयको अध्ययन अध्यापन भएको क्षेत्रीय निर्देशक खतिवडाले बताए। 

यसलाई विश्वमा शैक्षिक क्षेत्रमा उच्च उपाधिका रूपमा लिइन्छ। सिएमए अध्ययनको लागि व्यवस्थापन तथा वाणिज्य संकायमा स्नाकोत्तर उत्तीर्ण गरी कम्तीमा ५ वर्षको व्यावसायिक अनुभव आवश्यक पर्ने यस कोर्सको अवधि तीन वर्षको हुन्छ।

नेपालमा सिएमए अस्ट्रेलियाको अध्ययन अध्यापन सुरू भएको ५ वर्ष पुगेको छ।

अमेरिका, बेलायत र अस्ट्रेलियाको सिएमए प्रोग्रामहरू विश्व बजारमा चिनिएका खतिवडाले बताए।

'कुनै इन्टिच्युटले कस्ट एण्ड म्यानेजमेन्ट एकाउन्टेन्टलाई सिएमए भन्छन्, कसैले सर्टिफाइड म्यानेजमेन्ट एकाउन्टेन्टलाई सिएमए भन्छन्,' उनले भने 'नेपालमा चलिरहेको प्रोग्राम भनेको सर्टिफाइड म्यानेजमेन्ट एकाउन्टेन्टको प्रोग्राम हो।'