Nepal

विदेशी अलकत्राको विकल्प नेपाली सिमेन्ट, कति सम्भव ?

१८ वर्ष अघिसम्म ९० प्रतिशतभन्दा धेरै आयात हुने सिमेन्टमा नेपाल करिब आत्मनिर्भर भइसकेको छ। कुल ५१ वटा सिमेन्ट उद्योगमध्ये २१ वटाले आफै क्लिंकर उत्पादन गर्छन्।

उत्पादन बढेसँगै यसमा खपतको चुनौति पनि थपिएको सिमेन्ट उत्पादक सघका अध्यक्ष ध्रुवराज थापाले बताए।

सिमेन्ट खपतको नयाँ आयाम नखोजे यी उद्योग धरासयी हुने उनको तर्क छ।

‘विभिन्न देशको अभ्यास हेर्दा सडक बनाउँदा अलकत्रा (बिटुमिन) को सट्टा कंक्रिट प्रयोग गरे टिकाउ र समग्रमा सस्तो पर्ने रहेछ,’ उनले भने, ‘१८९३ अमेरिकामा बनाएको कंक्रिट रोड हालसम्म केही भएको छैन तर बिटुमिनको सडक १५ वर्ष पनि टिक्दैन।’

नेपाली सिमेन्टको गुणस्तर निकै राम्रो रहेकोले सडक निर्माणमा बिटुमिनको सट्टा सिमेन्ट प्रयोग गरे देशको पैसा बाहिरिनबाट जोगिनुको साथै नेपाली उद्योग पनि फस्टाउने उनले बताए।

सडक विभागको तथ्यांक अनुसार हाल नेपालको कुल सडक एक लाख किलोमिटर छ। जसमा स्थानीय तह र प्रदेश मातहतको ८५ हजार किलोमिटर र १५ हजार किलोमिटर राष्ट्रिय सडक छ।

यी सडक मध्ये एक चौथाइ मात्र स्तरीय सडक भएको भैतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव राजेन्द्र राज शर्माले जानकारी दिए।

त्यस्तै यसमा ५ सय किलोमिटर मात्र कंक्रिटको सडक भएको उनले जानकारी दिए।

‘कंक्रिटको सडक ३ गुणा बढी टिकाउ हुन्छ र सिमेन्ट नेपाली उत्पादन भएकोले पैसा बाहिर जादैन,’ उनले भने, ‘गत आर्थिक वर्षमा ६६ हजार मेट्रिक टन बिटुमिन कन्जम्सन भएको थियो जसमा ३.३ अर्ब रकम बाहिरिएको थियो।’

बिटुमिन सडकमा सडकको आयु भरीको कुल लागतको प्रारम्भिक लागत ६४ प्रतिशत र मर्मत लागत ३६ प्रतिशत तथा कंक्रिट सडकमा प्रारम्भिक लागत ९१ प्रतिशत र मर्मत लागत ९ प्रतिशत मात्र हुने सडक विभागका इन्जिनियर नारायणप्रसाद लामिछानेले जानकारी दिए।

‘एक बोरा सिमेन्टको ७८० रुपैयाँको दरले हिसाव गर्दा कंक्रिट सडकको लागत १३.११ प्रतिशत सस्तो पर्ने र छुट सहित एक बोरा सिमेन्टको ५७५ रुपैयाँको दरले हिसाव गर्दा २०.९४ प्रतिशत सस्तो पर्छ,’उनले भने।