Nepal
This article was added by the user . TheWorldNews is not responsible for the content of the platform.

‍विद्यालयले तिर्न सकेन भवन बनाउँदा लगेको उधारो, हार्डवेयर व्यापारीले लगाइदिइन् स्कुलको गेटमा ताला

रूकुम पश्चिमको सानीभेरी गाउँपालिका- ७ को जनज्योति आधारभूत विद्यालयमा आइतबार पढाइ हुन सकेन।

एक जना हार्डवेयर व्यापारीले विद्यालयको मूल गेटमा ताला लगाइदिएका कारण विद्यालयमा आइतबार पढाइ हुन नसकेको हो।

विद्यालयका प्रधानाध्यापक भीमबहादुर वलीले व्यापारीले गेटमा ताला लगाइदिएकाले शिक्षक-विद्यार्थी कोही पनि भित्र प्रवेश गर्न नसकेको सेतोपाटीलाई बताए।

‘शिक्षक र विद्यार्थी एक आधा घन्टा बाहिरै बसेपछि प्रहरी आएको थियो,’ प्रअ वलीले भने, ‘प्रहरी आए पनि गेटको ताल्चा खोल्न नसकेपछि हामी विद्यार्थीलाई घर फिर्ता पठाउन बाध्य भयौं।’

कक्षा ५ सम्म पढाइ हुने यो विद्यालयमा झन्डै ५० जना विद्यार्थी पढ्छन्।

विद्यालयको गेटमा व्यापारीले लगाएको ताला यथावत् रहेको उनले जानकारी दिए।

‘अहिले छलफल भइरहेको छ,’ उनले भने, ‘गाउँपालिका पिप्लीतिर जाने भन्ने छ र त्यहाँ गई चन्दा संकलन सुरू गर्ने कि भन्ने कुरा भइरहेको छ।’

वली विद्यालयको प्रअ हुनुभन्दा एक वर्षपहिले २०७५ साउनमा विद्यालयले जग्गा खरिद गरेर दुई भवन पनि बनाएको थियो।

The web
The web

जग्गा खरिद गर्दा २२ लाख जति र भवन बनाएकोसमेत गरी अझैं ३३ लाख जति ऋण तिर्न बाँकी रहेको वलीले बताए।

‘विद्यालयसँग स्रोत छैन, त्यत्रो पैसा कसरी तिर्ने,’ वलीले भने, ‘हामीले गाउँपालिकादेखि नेता सबैलाई गुहार्दा पनि कसैले वास्ता नगर्दा समस्या भएको हो।’

वलीका अनुसार असोज १० गते पनि व्यापारीले गेटमा ताला लगाइदिएकाले पढाइ हुन सकेको थिएन। त्यसदिन पनि उनीहरू समस्या लिएर गाउँपालिका पुगेको र छलफल पछि ११ गते ताला खुलेको थियो।

२०७५ सालमा विद्यालय भवन बनाउँदा छड, सिमेन्टलगायत सामग्री विद्यालयले सानीभेरी हार्डवेयर प्रालिबाट लगेको थियो। करिब दश लाखको सामग्री लगेकोमध्ये चार लाख विद्यालल भुक्तानी गरिसकेको छ।

ब्याजका कारण अझैं ८ देखि ९ लाख रुपैंया भुक्तानी गर्न बाँकी रहेको प्रअ वलीले जानकारी दिए।

पाँच वर्षसम्म पनि आफूले पाउनु पर्ने भुक्तानी नपाएको भन्दै हार्डवयर सञ्चालक मनीषा विसी वलीले आइतबार विद्यालयको गेटमा ताला लगाइदिएकी हुन।

विद्यालयले समयमै भुक्तानी नदिँदा आफूले थप सामाग्री राख्न नसकेको र व्यवसाय नै धरापमा परेको मनीषाले सेतोपाटीलाई बताइन्।

सनराइज बैंकबाट ऋण लिएर विद्यालयको सामग्री खरिद गरिदिए पनि हालसम्म त्यसको भुक्तानी नहुँदा आफ्नो घर-व्यापार बर्बाद हुन थालेपछि विद्यालयमा ताला लगाउन बाध्य भएको मनीषाले बताइन्।

‘यो मेरो रहर हैन बाध्यता हो,’ उनले भनिन्, ‘बैंकले जग्गा लिलाम गर्छु भन्दै चार पाँच पटक पत्र पठाइसक्यो अनि मैले के गर्ने?’

जति पटक माग्दा पनि सामान लगेको पैसा नदिएपछि आफ्नो उठिबास लाग्ने अवस्था आएको हुँदा विद्यालयमा ताला लगाउनुको विकल्प आफूले नदेखेको उनले बताइन्।

मनीषाका अनुसार बैंकमा उनले तिर्नुपर्ने २० लाख जति ऋण छ। बैंकले तत्काल ४ लाख रुपैयाँ ताकेता गरिरहेको छ।

विद्यालयले सामान लगेको पैसा समयमै नदिएपछि सामान थप्न नसकेको हुँदा हार्डवेयर पसल नै बन्द गर्नु अवस्थामा पुग्न लागेको उनले बताइन्।

‘मैले पाँच वर्षभन्दा कति कुर्नु,’ उनले भनिन्, ‘म र मेरो परिवार सडकमा आउन थालेपछि विद्यालयमा ताला लगाउन बाध्य भएकी हुँ।’

विद्यालय भवन निर्माण गरेको खड्का एन्ड केसी जेभी निर्माण सेवालाई करिब ६ लाख रुपैयाँ विद्यालयले तिर्ण बाँकी रहेको प्रअ वलीले बताए। ती निर्माण व्यवसायीले पनि विद्यालय बन्द गर्ने चेतावनी दिँदै आएका छन्।

जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक धर्मेन्द्र खड्काले विद्यालयमा लगाएको ताला खोल्नेबारे छलफल भइरहेको जानकारी दिए।

‘सामान लगेको पैसा नदिएको भन्दै एक जना महिलाले विद्यालयमा ताला लगाइदिएको भन्ने छ,’ उनले भने, ‘खबरपछि प्रहरी त्यहाँ खटाइएको छ र ताला खोल्नेबारे सरोकारवालासँग छलफल जारी छ।’

सानोभेरी गाउँपालिकामा सम्बन्धित व्यक्तिलाई भुक्तानी दिनका लागि निर्णय भए पनि व्यापारीले ताला लगाइदिएपछि समस्या उत्पन्न भएको उनले बताए।