Nepal
This article was added by the user . TheWorldNews is not responsible for the content of the platform.

विमानस्थलको जग्गा व्यक्तिको नाममा दर्ता गरिदिने मालपोतका हाकिम भन्छन् : जसको हो, उसैको नाममा गरिदिएँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको जग्गा व्यक्तिको नाममा दर्ता गरिदिएका मालपोत अधिकृत कुमार आचार्यले जसको जग्गा हो, उसैको नाममा गरिदिएको बताएका छन् । विमानस्थलको धावनमार्गको जग्गा दर्ता भने आफूबाट नभएको उनले बताए ।

अनलाइनखबरसँग कुराकानी गर्दै प्रमुख मालपोत अधिकृत कुमार आचार्यले आफूले धावनमार्गमा नपर्ने १६ कठ्ठा जग्गा मात्र दर्ता गरिदिएको बताए । र, त्यो जग्गा व्यक्तिको नाममा रहेको कुरामा द्विविधा नै नभएको जिकीर गरे ।

प्रस्तुत छ मालपोत अधिकृत आचार्यसँग अनलाइनखबरले गरेको कुराकानी :

 भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलभित्र पर्ने जग्गा कसरी व्यक्तिको नाममा दर्ता भयो ?

सम्बन्धित व्यक्तिको बाली आयस्ता सम्बन्धी कागजात हेर्दा उक्त जग्गा नम्बरी देखियो । त्यसमाथि अदालतको समेत आदेश भएपछि व्यक्तिका नाममा दर्ता भएको हो । त्यो नम्बरी जग्गा उसको भन्नेमा विवादै छैन ।

अदालतले त जाँचबुझ गरेपछि मात्रै के गर्नुपर्ने हो, निर्णय गर्नु भनेको रहेछ । हैन र ?

त्यसभन्दा अघि जिल्ला अदालतमा त्यो जग्गाको विषयमा मिलापत्र भएको रहेछ । मिलापत्र हुँदा नै जग्गा दर्ताको कुरा उठेको हो । जे बुझ्नुपर्ने बुझी सबै अध्ययन गरेर मात्रै निर्णय भएको हो ।

विमानस्थलभित्रको जग्गा कसरी व्यक्तिको हुन्छ ?

२०५२ सालकै कागजात देखियो । र, कागजात अनुसार त्यो जग्गा उनकै हो भन्नेमा कुनै दुविधा देखिएन । अर्कोतर्फ, त्यो जग्गाका वारेमा लगातार मुद्दा परेको रहेछ । मुद्दा टुंगिएर परमादेश भएपछि निर्णय भएको हो ।

अदालतको फैसला हेर्दा धावनमार्ग भएको जग्गा व्यक्तिको नाममा दर्ता गर्नु भन्ने व्यहोरा त उल्लेख छैन नी । छ र ?

होइन, तपाईँहरुले कुरा बुझ्नुभएन । धावनमार्ग रहेको जग्गा कित्ता नम्बर ‘९-क’ र ‘९-ख’ को १० कठ्ठा क्षेत्रफल हो ।

मैले गत वैशाखमा निर्णय गरेको जग्गा अर्को १६ कठ्ठा हो, जुन धावनमार्गमा पर्दैन । धावनमार्गको जग्गा मैले निर्णय गरेको हैन, अघि नै कसैले निर्णय गरेको हो ।

यसअघि पनि यस्तै निर्णय भएको थियो ?

धावनमार्गको जग्गा व्यक्तिका नाममा दर्ता गर्ने निर्णय मेरो हैन । तपाईंलाई विश्वास नलागे म के भन्न सक्छु र ? पछि छानविनपछि भ्रम हट्ला । यहाँ सबै मैले नै निर्णय गरेको भनेर मान्छेहरुलाई भ्रममा पार्ने काम भयो ।

विमानस्थलको तारबारभित्र, धावनमार्ग लगायतका ठाउँको जग्गा उसको कसरी भयो ?

जो मान्छेको जग्गा हो, उसैको भयो नि । कम्पाउण्डभित्रको जग्गा उसैको हो । उसको नाममा दर्ता हुन सकेको थिएन, छुट दर्ता भयो ।

अनि विमानस्थल बनाउँदा सम्बन्धित व्यक्तिले किन मुआब्जा नपाएको ?

विमानस्थल बन्ने बेलामा यससम्बन्धी विवाद थियो, मुद्दा अदालतमा चलिरहेको थियो । अदालतमा मुद्दा चलेको बेलामा सम्बन्धित व्यक्तिलाई मुआब्जा लिन आउनू भन्ने कुरा त भएन । मुद्दा टुंगिएपछि फैसला लिएर छुट दर्ता गर्न आयो । सबै कागजात हेरेर निर्णय गरिदिएको हो ।

 तपाईँ घटनापछि फोन स्वीच अफ गरेर हिँड्नुभयो रे । हैन ?

यो अनावश्यक हल्ला हो, म अहिले पनि कार्यालयमै छु । बरु एक-दुई दिनमा बुबाको श्राद्ध गर्न बिदा लिने हो, त्यतिबेला भाग्यो रे भनेर हल्ला नगरिदिनुहोला ।

अख्तियारको बुटवल कार्यालयले त कागजात झिकाएर अध्ययन थालिसकेछ, हैन ?

माथिका निकाय त सबैले हेरिरहेका छन् नि । अख्तियार, राष्ट्रिय सतर्कता केन्द्र साराले कागजात मगाएका छन्, विवरण मागेका छन् । के नै लुकेको छ र ? अख्तियारले राय प्रतिक्रिया पठाउनू भनेको थियो, सबैतिर मैले कागजात पठाएको छु । म निर्णय गरेर भाग्ने मान्छे होइन । म निजामती कर्मचारी, भागेर पो कहाँ जानु ?

जग्गाको छुट दर्ता गर्नुअघि समिति हुन्छ, त्यहाँबाट निर्णय हुनुपर्ने होइन ?

यो जग्गा २०२५ सालदेखि लगातार विवादमा परेको छ । छुट दर्ताको विषयमा पो समितिबाट निर्णय गर्नु । अदालतको फैसला, मिलापत्रको व्यहोराका आधारमा निर्णय गर्न समितिको निर्णय चाहिन्छ र ?

अब कसरी निर्णय सच्याउनुहुन्छ ?

गत वैशाख ८ गतेको निर्णय हो । यसवारेमा सम्बन्धित निकायले हेरिरहेका छन्, छानबिन गरिरहेका छन् । विवाद भइसकेपछि भोलि मुआब्जा दिने बेलामा सोच्नुहुन्छ होला ।

मभन्दा माथि रहेका निकायले पनि जाँचबुझ गर्ला । जाँचबुझबाट जे देखिन्छ, त्यही अनुसार अघि बढ्ने त होला ।