Nepal
This article was added by the user . TheWorldNews is not responsible for the content of the platform.

एमाले कर्णाली अधिवेशनः पाँचौंपटक सर्‍यो मतदानको समय

नेकपा एमालेको कर्णाली प्रदेश कमिटी चयनका लागि मतदानको समय सरेको छ। संसोधित निर्वाचन तालिकाअनुसार आइतबार दिउँसो १ बजेदेखि मतदान हुने निर्वाचन कमिटीले जनाएको छ।

गत साता बुधबारदेखि सुरु भएको प्रदेश अधिवेशनको बन्द सत्र सकिएपछि शुक्रबार निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको थियो। सुरुमा सार्वजनिक गरिएको कार्यतालिकामा शनिबार बिहान ८ बजे उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गर्ने र दिउँसो १२ बजेदेखि ६ बजेसम्म मतदानको समय तोकिएको थियो।

निर्वाचन कार्यतालिकापछि पनि दलका नेताहरुले आन्तरिक छलफल थालेपछि शनिबार बेलुका ६ बजेका लागि मतदानको समय तोकिएको थियो। शनिबार राति मात्र मतपत्र छपाई सुरु गरेको निर्वाचन कमिटीले पुनः आइतबार बिहान मतदान तोकेको थियो।

आइतबार पनि मतपत्र छपाईको काम नसकिएपछि १० बजेका लागि मतदान तोकिएको थियो। त्यसपछि छापिएका मतपत्रमा गल्ती देखिएपछि मतदान १ बजेका लागि सारिएको निर्वाचन अधिकृत मातृकाप्रसाद खनालले बताए।

‘मतपत्रमा त्रुटी देखिएपछि सच्याउने काम चलिरहेको छ, अब ढिलोमा १ बजेदेखि मतदान सुरु हुन्छ।’ उनले भने।

पदाधिकारीमा को को छन् उम्मेदवार?

नेकपा एमालेका कर्णाली प्रदेशको नयाँ कमिटी १३५ सदस्यीय बन्ने छ। तत्काल अधिवेशनबाट पदाधिकारीसहित १२५ जना चयन हुनेछन्।

निर्वाचन कमिटीले प्रकाशित गरेको उम्मेदवारको अन्तिम नामावली अनुसार अध्यक्षमा तीन जनाले प्रतिस्पर्धा गर्ने भएका छन्। सल्यानका गुलाबजंग शाह, कालीकोटका मिनबहादुर शाही र प्रकाश रोकायाले अध्यक्षमा उम्मेदवारी दिएका छन्। गुलाबजंग स्थायी कमिटी सदस्य यामलाल कँडेलको समूहबाट उम्मेदवार छन् भने मिनबहादुर स्थायी कमिटी सदस्य गोरख बोगटीको समूहबाट उम्मेदवार छन्।

The web
The web

प्रकाश रोकायाको भने कुनै समूह छैन। उनी स्वतन्त्र रुपमा उम्मेदवार बनेका हुन्।

यस्तै उपाध्यक्षमा जुम्लाका टेकराज पछाई, मुगुका दानसिंह परियार र जाजरकोटका लालबहादुर महाताराबीच प्रतिस्पर्धा हुने भएको छ।

सचिवमा सुर्खेतका ध्रुवकुमार शाही र दैलेखका रुद्रबहादुर शाही उम्मेदवार छन्।

उपसचिवमा ९ जनाको उम्मेदवारी छ। मुगुका उब्जनबहादुर शाही, सुर्खेतका तेजकुमार विक (तोरण) जुम्लाका धिरेन्द्रराज गिरी, रुकुम पश्चिमका नारायणकुमार शाह, सुर्खेतका पद्मा खड्का, जुम्लाका मेनका पछाई, कालीकोटका रमेशकुमार शाही, दैलेखका रविन्द्रराज शाही र बखतबहादुर भण्डारी उपसचिव पदका लागि प्रतिस्पर्धामा छन्।

कर्णाली प्रदेशमा विभिन्न जिल्ला तथा मोर्चा संगठनबाट गरी ६०४ जना अधिवेशन प्रतिनिधि छन्।