logo logo logo logo logo logo logo logo logo logo logo logo logo logo logo logo logo logo logo logo logo logo logo logo logo logo logo logo logo logo logo logo logo logo logo logo logo logo logo logo logo logo logo logo logo logo logo logo logo logo logo logo logo logo logo logo logo logo logo
star Bookmark: Tag Tag Tag Tag Tag
Nepal

गर्भ बोकेकी १२ वर्षकी छोरी काठमाडौंमै छाडेर फर्कनेछन् कर्णबहादुर

१२ वर्षको कलिलो उमेर । जन्मजातदेखि भोग्दै आएको मानसिक रोग । पेटमा ५ महिनाको अनिच्छुक गर्भ । अनि अछामको गाउँदेखि काठमाडौंको अस्पतालसम्मको यात्रा । अनि थापाथली प्रसूति गृहको अत्यासलाग्दो बसाई ।

यस्तो बज्रपात भोगिरहेकी बालिकाको मष्तिष्कमा के चलिरहेको होला ? परिवार कुन मनोदशामा गुज्रिएको होला ? यो साता यस्तै प्रश्नले दिमाग रन्थन्याइरह्यो । मन उकुसमुकुस भइरह्यो । अनि मष्तिष्कले बारम्बार भनिरह्यो, यो घटना यथार्थ नभइदिए… ।’

‘फिक्सन’भन्दा अपत्यारिलो यो वास्तविकता थियो अछामकी अवोध बालिकाले भोगेको ।

००००

थापाथलीस्थित प्रसूति गृहमा काखमा नवजात शिशु लिएका अभिभावकहरुको ओहोरदोहर बाक्लो छ । भीड छिचोल्दै १२ वर्षीया बालिकाको नजिक पुगेँ ।

बालिका एकतमास हाँसिरहेकी छिन् । उनलाई टुलुटुलु हेर्नुशिवाय केही बोल्न सकिनँ ।

उनलाई भेट्नुअघि मन र मष्तिष्कमा जिज्ञासाका अनेक ज्वारभाटा दन्किएका थिए । जब उनलाई देखेँ, दिमाग शून्य भयो । एक एक गर्दै मष्तिष्कबाट प्रश्नहरु हराउँदै गए ।

आखिर प्रश्न सोधेर के नै हुन्थ्यो र !

न उनमाथि परेको बज्रपात कम गर्न सक्थेँ, न उनको परिवारले व्यहोरेको पीडा कम गर्न । उनी पनि त आफ्नो मनको बह पोख्न सक्ने अवस्थामा थिइनन् । उनी बोल्न सक्ने भए पो केही संवाद हुन्थ्यो र !

मनले भन्यो, यदि उनी बोल्न सक्ने भएको भए वा मानसिक रुपमा पूर्ण स्वस्थ्य भइदिएको भए त यो बज्रपात किन भोगिरहनु पर्थ्यो र ?’

तर जब बालिकाको अवोध मुस्कान देख्छु, छक्क पर्छु । जतिपटक उनको नजिक जान्छु, त्यतिपटक हाँस्छिन् ।

निर्दोष अनि निश्चल हाँसो ।

त्यो हाँसोमा उनले भोगिरहेको पीडा कतै झल्किदैन ।

००००

बिहीबार (कात्तिक २०) मा ती बालिकाको ठुलोबुवा कर्णबहादुरलाई भेटेदेखि दिनहुँ थापाथली अस्पताल धाइरहेको छु । तर दोस्रो दिनदेखि कर्णबहादुरसँग भेट हुन सकिरहेको छैन । उनको मोवाइल नम्बर डायल गर्दा बारम्बार आवाज आउँछ, ‘तपाई‌ंले सम्पर्क गर्नुभएको नम्बर उपलब्ध हुन सकेन ।’

उनी अवोध छोरीलाई अस्पतालमा छाडेर कुन घनचक्करमा फसिरहेका छन त ? मनमा शंका लाग्छ । मनको शंकालाई मलजल गर्दै दिमाग भन्छ, ‘छोरीलाई अस्पतालमै छोडेर त भागेनन् ?

यो पनि पढ्नुहोस अबोध बालिकाले स्वीकार्न नसकेको यथार्थ : १२ वर्षमै ५ महिनाको ‘अनिच्छुक गर्भ’

‘अस्पताल बस्दाबस्दै दिक्क लागिसक्यो, भाग्न मन लागिसक्यो’ पहिलोपटक भेट्दा कर्णबहादुरले यस्तै भनेका थिए ।

एकपछि अर्को बज्रपात भोगिरहेका कर्णबहादुर यत्तिकै हार मान्लान् र ? आफ्नो शंका आफैंले निवारण गरेँ ।

शुक्रबार

शुक्रबार साढे १० बजे अस्पताल पुग्दा बालिकालाई राखिएको बेड नम्बर २१७ खाली थियो । उनलाई २०७ हुँदै २१७ मा पुर्‍‍याइएको थियो ।

२१७ पनि खाली !

नजिकैको बेडकी अछामकी महिला (जोसँग ती बालिका झ्यामिरहन्थिन्) लाई सोधेँ, ‘यहाँकी नानीलाई कता सारियो ?’

खिन्न भावमा उनले भनिन्, ‘हिजै गर्भ तुहाइयो नि ।’

म चुपचाप उभिरहेँ ।

उनी फेरि बोलिन्, ‘छोरी मान्छेको जिन्दगी ! कसैले एक मिनेटमै बर्बाद गर्नसक्ने । एक शब्द बोलेरै इज्जत लिलाम गर्न सक्ने ।’

उनको कुराले मनलाई च्वास्स घोच्यो ।

उनी चुप बस्ने मनस्थितिमा देखिइनन् । भनिन्, ‘नानीको बिजोग हुने भयो । उनका ठुलोबुवा अत्तिसकेका छन् ।’

त्यसपछि ‘ड्युटी रुममा’ गएर कर्णबहादुरको बारेमा सोधेँ ।

नर्सहरुले विनम्रतापूर्वक जवाफ दिए, ‘खै कस्तो खाले मान्छे रहेछन् । सानी नानी यो अवस्थामा छ उनी भने छोडेर हिँडेको हिँड्यै । औषधिहरु किन्न जाने मान्छेसमेत छैनन् ।’

बालिकाको स्वास्थ्य अवस्थाको बारेमा सोधेँ । सबै ठीक रहेको रेडिमेड जवाफ आयो ।

भेट्न सकिन्छ ?

‘कुरुवाबाहेक अरु कोहीले भेट्न पाउँदैना’, जवाफ आयो ।

फेरि सोधेँ, बालिकाको गर्भपतन गराएको हो ?’

नर्सहरुले जवाफ दिए, होइन ।

बिरामीको गोपनीयतालाई सम्मान गर्नुपर्ने उनीहरुको बाध्यता बुझेर प्रतिप्रश्न गरिनँ ।

एकछिन के गर्ने कसो गर्ने द्विविधामा परेँ । कर्णबहादुरलाई भेट्नु थियो । बालिकालाई एक झल्को देख्नु थियो ।

तर दुबै असम्भव देखियो ।

केही क्षणपछि नर्सहरु आफ्नो काममा व्यस्त भए । म ती बालिकाको छेउमा पुगेँ ।

बिहीबार भेटेभन्दा भिन्न देखिन्थिन् । अनुहार अलिक सुन्निएको जस्तै । हिजो लगाएको निलो जामाको सट्टा गुन्यु चोलो लगाइएको थियो । कोल्टो परेर ढल्किरहेकी उनी हातले लुगाको गुजुल्टो खेलाइरहेको थिइन् ।

देख्नासाथ हाँसिन् ।

दिमागमा फेरि उनको भोगेका दुःखहरु खेल्न थाले । मन चसक्क चस्कियो ।

सोधेँ, ‘के खायौ ?’

उनले अस्पष्ट स्वरमा जवाफ दिइन्, ‘चिया र बिस्कुट ।’

त्यति भनेर उनी मुस्कुराइरहिन् ।

मन भारी बनाउँदै निस्किएँ ।

जन्मजात मानसिक रोगले थलिएकी बालिकाप्रति मानिस कसरी राक्षस हुुन सकेको होला ?

घटना घटेको दिन उनी कति रोइहोलिन् ?

गर्भ बोकेको ५ महिनासम्म उनको मनोदशा के रह्यो होला ?

उनका बुवाआमाले यत्रो महिनासम्म छोरीको अवस्थाबारे किन सुइँको पाउन सकेनन् ?

उनलाई यो अवस्थाबारे केही जानकारी नै छैन कि ?

कि बलात्कार, गर्भधारण र गर्भपतन भन्ने शब्दको अर्थ र बोझ नै थाहा छैन ?

मनमा यस्तै प्रश्न खेलाउँदै म फर्किएँ । त्यो दिन त्यसै रह्यो ।

शनिबार

शनिबारको भए पनि बिहानैदेखि सडकमा चहलपहल बढ्दो थियो । अकुपाई टुँडिखेल र सेभ डाक्टर गोविन्द केसीको ब्यानर बोकेका मानिसहरु सडकमा निक्लिँदै थिए । र्‍याली छल्दै फेरि थापाथलीस्थित प्रसूति गृह पुगेँ ।

आज पनि (शनिबार) अस्पतालमा कर्णबहादुर थिएनन् ।

नर्सहरुलाई सोध्दा बालिकाको स्वास्थ्य अवस्था सामान्य रहेकोबाहेक अरु जानकारी दिएनन् ।

फेरि बालिकाको नजिक पुगेँ । सदाझै‌ं उनी मुस्कुराइन् ।

छेउमै रहेकी एक महिलाले भनिन्, ‘कस्तोकस्तो देख्नुपर्छ…. हेर यो बच्चीको बिजोग ।’

उनले सहानुभूति देखाइन् तर बालिकाले न महिलाहरुको कुरा बुझ्न सक्थिन्, न उनले भन्न खोजेको कुरा त्यहाँ भएका अरु महिले भेउ पाउन सक्थे ।

बालिका भने घरिघरि ढोकातिर आँखा लगाइरहन्थिन् । यसले बुझ्न सकिन्थ्यो, उनी जतिसक्दो चाडो घर जान चाहन्छिन् । त्यसका लागि कर्णबहादुरको बाटो हेरिरहेकी छन् ।

सोधेँ, ‘अब के गर्ने ?’

उनी टाउको हल्लाउँदै हाँसिन मात्रै, केही बोलिनन् ।

त्यहाँबाट निस्किएँ ।

आइतबार

आइतबार बिहान ९ नबज्दै अस्पताल पुग्दा पनि कर्णबहादुर भेटिएनन् । नर्सहरुले ‘हिजो राति त देखेको हो’ भन्दाभन्दै उनी टुप्लुक्क आइपुगे ।

उनको पछि लागेर बालिका भएनजिक पुगेँ ।

उनी मुस्कुराइन् ।

‘अरु उपाय के छ त ? गाउँ लैजाँदा फेरि त्यस्तै घटना नदोहोरिएला भन्ने के छ र ?’ कर्णबहादुरले भने ।

कर्णबहादुरले सोधेँ, ‘के खाइस् ?’

हाँस्दै भनिन्, चिया, बिस्कुट ।

कर्णबहादुरले फेरि सोधेँ, ‘अब के खान्छेस् ?’

‘अब घर गइजाने हो’ यत्ति भनेर उनी कोल्टो फर्किइन् ।

त्यसपछि कर्णबहादुरलाई लिएर प्रसूति गृहनजिकैको एउटा चिया पसलतिर लागेँ ।

‘भगवानले जस्तो बाटो देखाउँछन् त्यही बाटो हिँड्ने हो’, कर्णबहादुरले कुरा सुरु गरे, ‘अझै के के भोग्नुपर्ने हो ।’

कर्णबहादुरले छोरीलाई काठमाडौंमै छाडेर अछाम जाने सोच बनाएका रहेछन् ।

जन्मजात मानसिक रोग भोग्दै आएकी बालिकाको भाषा अरुले बुझ्दैनन्, न उनले अरुको भाषा । बुवा आमाबाहेक अरुसँग कुनै संवाद गर्न सक्दिनन् ।

यस्तो अवस्थाकी उनलाई संवादहीन बनाएर किन काठमाडौंमै राख्ने ?

‘यहाँ नराखे विकल्प पनि के छ र ?’ कर्णबहादुरले मनको डर पोखे, ‘सुस्त मनस्थितिका बुवाआमा बनिबुतो गर्न पाएनन् भने खान पाउँदैनन् । उसलाई हेर्ने मान्छे पनि हुन्न । फेरि त्यही घटना नदोहोरिएला भन्न सकिन्न ।’

गाउँ लैजाँदा फेरि त्यही घटना दोहोरिने डर, काठमाडौं राख्दा कसरी बस्ली भन्ने चिन्ता ।

यस्तै दोधारमा देखिए कर्णबहादुर ।

‘छोरीलाई गाउँ लान मन नभएको कहाँ हो र ? खान, बस्न र जीवनकै असुरक्षा भएपछि कसको के लाग्छ र ?’ कर्णबहादुरले प्रतिप्रश्न गरे, ‘तपाईहरु नै आदेश दिनु त, मसँग अरु उपाय के छ ?’

यसो भनिरहँदा कर्णबहादुरका आँखा रसाइरहे ।

अस्पतालले ‘डिस्चार्ज’ दिएपछि के गर्ने भन्ने अलमलमा रहेका कर्णबहादुर बोले, ‘दैवको लीला भोग्नै पर्ने रहेछ…. ।’

कर्णबहादुरसँग छुट्टिएँ ।

त्यसको २ घण्टा नवित्दै कर्णबहादुरको फोन आयो, ‘नानीलाई यतै छाडेर अछाम जाने भएँ म ।’

एउटा संस्थालाई छोरीको जिम्मा लगाएको उनले सुनाए ।

केही क्षण अस्पतालमा बस्नुपर्दा त घर जान हतारिएकी उनले यो अपरिचित शहरमा कसरी दिन काट्लिन् ?

पहिलोपल्ट काठमाडौं आएकी उनी कसरी घुलमिल हुन सक्लिन् ?

उनको भाषा कसले बुझिदेला ? अनि पहिलोपटक आमाबुवाबाट टाढिएकी उनलाई घर परिवारको यादले कति सताउँदो हो ?

प्रश्नहरु अनेक छन् । कर्णबहादुरलाई पनि यही चिन्ता छ । तर, उनी भन्छन्, ‘अरु उपाय के छ त ? गाउँ लैजाँदा फेरि त्यस्तै घटना नदोहोरिएला भन्ने के छ र ?’

कर्णबहादुरलाई त्यही घटनाले लखेटिरहेको छ । साँच्चै भन्नुपर्दा  सम्झन पनि चाहदैनन् । स्मृतिबाट त्यो घटनालाई नै बिर्सन चाहन्छन् ।

त्यो घटना… !

आजभन्दा दुई साताअघि अछाम जिल्लाको एक गाउँकी १२ वर्षकी अवोध बालिकालाई कुकुरले टोक्यो । सुई लगाउन गाउँनजिकै बयलपाटा अस्पताल पुर्‍याउनुपर्ने भयो । ६० वर्षको हाराहारीमा पुगिसकेका बालिकाका बुवाआमा दुबै सुस्त मनस्थितिका छन् ।

भएकी एक्ली छोरी पनि सुस्त मनस्थितिकै भएपछि अस्पताल लैजाने जिम्मा ठूलोबुवा कर्णबहादुर बोहराको काधँमा आइलाग्यो । उनलाई लिएर कर्णबहादुर बयलपाटा अस्पताल पुगे ।

डाक्टरले रेबिजको सुई लाइदिए । अस्पतालबाट फर्कने तरखर गर्दा छोरीको पेट अस्वाभाविक सुन्निएको देखे । त्यसअघि कर्णबहादुरले त्यसरी छोरीको पेट याद गरेका थिएनन् । उनलाई अस्वाभाविक लाग्यो । अलमलमा पर्दै डाक्टरलाई सोधे, ‘छोरीको पेट किन सुन्निएको छ, डाक्टर सा’ब ?’

डाक्टर पनि अचम्ममा परे । तर के भएको हो भन्ने पत्तो नलागेपछि जिल्ला अस्पताल मंगलसेन पठाए । त्यहाँ पुग्दा थाहा लाग्यो, ‘बालिका त गर्भवती रहिछिन् ।’

त्यसपछि कर्णबहादुरले प्रहरीलाई खबर गरे ।

प्रहरीले सोधपुछ गर्दा बालिकाबाट अस्पष्ट जवाफ आयो, ‘गोरो छ । अग्लो छ, पातलो छ । त्यही मान्छेले मलाई उसको घरमा बोलाएको थियो ….. अनि ।’

प्रहरीलाई उनले दुई जना छिमेकीको नाम पनि भनिन् । बालिकाको बयानको आधारमा दुई किशोरलाई प्रहरीले प्रकाउ गरेको छ । प्रकाउ परेका दुबै १५/१६ वर्षका छन् र नजिकैको स्कुलमा कक्षा ५ मा पढ्ने किशोर हुन् ।

प्रहरीले घटनाबारे अनसन्धान गरिरहँदा कर्णबहादुर छोरीको उपचारका लागि काठमाडौं आएका थिए । गएका १३ दिन थापाथलीस्थित प्रसुति गृहमा बिताएका कर्णबहादुर छोरीलाई यस्तै छाडेर अछाम फर्कदैछन् ।

उनलाई थाहा छ, अछाम पुग्दा उनीसामू अनेक प्रश्नहरु तेर्सिनेछन् ।

उनीसँगै एउटै जवाफ हुनेछ, ‘म फेरि त्यही घटना दोहोरिएको हेर्न चाहन्नँ । त्यसैले नानीलाई उतै छाडेर आएँ ।’

Themes
ICO