Nepal

इण्डियालाई भारत नभनौं

हामी सम्पूर्ण नेपालीले अहिले पनि हिन्दु परम्पराअनुसार हरेक कर्म गर्दै पिच्छे संकल्पका बेला भन्ने गरेका छौं- भारतवर्षे भरतखण्डे आर्यावर्तान्तर्गत हिमवत्खण्डे…।

यो सुन्दा सबैको मन एकपटक चसक्क हुन्छ । मनमा अनेक प्रश्न उब्जन्छन् । बेलाबेलामा हामीलाई पिरिरहेको र हेपिरहेको “भारत” को उच्चारण यो पवित्र कार्यमा यति आस्थापूर्वक किन ? यो “भारत” शब्द कताबाट यहाँ आयो ? फेरि भारतवर्षे सँगसँगै यो “भरतखण्डे” पनि किन आएको हो ? के हामी “भारत” कै एउटा खण्ड हौं?

हाम्रा मनमा यी अनेक प्रश्नहरू उठ्नुको कारण छिमेकी मुलुकलाई “भारत” भनिनु हो। उसलाई “भारत” भन्ने नगरेको भए हामीलाई यसरी चित्त दुख्ने पनि थिएन र हामीभित्र यी अनेक प्रश्न उठ्ने पनि थिएनन्।

वास्तवमा भारतीय उपमहाद्वीपलाई नै भारतवर्ष भनिएको हो। भारतीय उपमहाद्वीपभित्र नेपाल, इण्डिया, पाकिस्तान, बंगलादेश, श्रीलंका, मालदिभ्स, भुटान, अफगानिस्तान र बर्मा पर्छन्। त्यसैले यो “भारत” शब्द यी सबैको पेवा हो। भारत शब्दले ठूलो ऐतिहासिक गरिमा बोकेको छ। अहिले छिमेकी मुलुक त्यो गौरवशाली इतिहासको एकलौटी उत्तराधिकारी बन्ने होडमा देखिन्छ।

अझ वास्तवमा भन्ने हो भने यी शब्दका वास्तविक प्रयोक्ता र अधिकारी त हामी नेपाली हौं। भरत नामसँग जति प्रगाढ सम्बन्ध हाम्रो छ त्यति प्रगाढ सम्बन्ध अरू कसैको छैन । इण्डियाको पनि छैन। पौराणिक ग्रन्थहरूमा भरत नामका अनेक व्यक्ति भेटिन्छन्। ती ग्रन्थहरूमा वर्णित सम्राट भरतका कथामा नेपाल जोडिएका प्रशस्त प्रमाणहरू छन्।

भागवतको पञ्चमस्कन्धमा लेखिएअनुसार भरत जैन धर्मका प्रवर्तक राजा ऋषभदेवका जेठा छोरा हुन्। ऋषभदेवको राज्य कालीगण्डकीको किनारमा थियो। ऋषभदेवले आफ्नो राजगद्दी जेठा छोरा भरतलाई सुम्पिएर आफू जैनधर्मको प्रचारप्रसारमा हिँडेका र भरतले सो राज्यलाई विस्तार गरेर समुद्रसम्म पुर्‍याएको वर्णन छ । जीवनको उत्तरार्धमा उनै भरत तपस्या गर्न म्याग्दी आएका थिए। म्याग्दीको कालीगण्डकी किनारमा अहिले पनि भरतको आश्रम अवस्थित छ।

उता महाभारतमा बताइएअनुसार दुष्यन्त र शकुन्तलाका छोरा भरत नै भारतवर्षका चक्रवर्ती सम्राट हुन्। उनको लालनपालन कण्व ऋषिको आश्रममा भएको थियो। कण्व ऋषिको आश्रम विश्वामित्र ऋषिको आश्रम नजीकै थियो। ऋषि विश्वामित्रको आश्रम नेपालभित्रै भएका अनेक प्रमाण छन्। विश्वामित्रपुत्री शकुन्तलालाई पनि कण्व ऋषिले नै हुर्काएका थिए भने उनको शिक्षादीक्षा कश्यप ऋषिका आश्रममा भएको थियो। कश्यप ऋषिको आश्रम गण्डकी अञ्चलकै कास्की जिल्लामा भएको शास्त्रीय प्रमाण छ।

यी अनेक प्रमाणका आधारमा हाम्रा आदरणीय कवि तथा लेखकहरूले भारत, भारतवर्ष, भारतीय आदि शब्दहरूलाई आफ्नै ठानेर आफ्ना कृतिहरूमा मनग्गे प्रयोग गरेका छन्। उदाहरणका लागि “भारतवर्ष” को प्रयोग महाकवि लक्ष्मीप्रसाद देवकोटाले शाकुन्तल महाकाव्यको सुरुमै गरेका छन्-

मीठो लाग्छ मलाई ता प्रियकथा प्राचीन संसारको
हाम्रो भारतवर्षको उदयको हैमप्रभासारको ।

कविशिरोमणि लेखनाथद्वारा आफ्नो प्रसिद्ध कृति “ऋतुविचार” का अनेक ठाउँमा “भारत” शब्दको आत्मीय प्रयोग भएको छ। उदाहरणका लागि निम्न श्लोक हेरौं-

वियोगी पान्थका आगे रसिलो ऋतुनायक

भयो भारतका लेखा कलि झैं दुःखदायक ।

वसन्त ऋतु-९२।

युगकवि सिद्धिचरण श्रेष्ठले पनि आफ्नो “सिरक” निबन्धमा “भारतीय” शब्दको प्रयोग हामी नेपाली समेतलाई बुझाउने हेतुले गरेका छन्।

भारतको सीमारेखाका बारेमा पनि अनेक ग्रन्थहरूमा स्पष्ट व्याख्या गरिएको छ। विष्णुपुराणमा भनिएको छ–

उत्तरं यत् समुद्रस्यहिमाद्रिश्चैव दक्षिणम् ।
वर्षं तद् भारतं नाम भारती यत्र सन्ततिः ।।

अर्थात् समुद्रदेखि उत्तर र हिमालदेखि दक्षिणको सम्पूर्ण भूभाग (वर्षं) को नाम भारत हो र त्यहाँका बासिन्दा (सन्तति) भारती हुन्। कसैले “भारती यत्र सन्तति” लाई त्यहाँ सरस्वती (भारती) रहन्छिन् भन्ने अर्थ लगाएको पनि पाइन्छ। त्यो जे होस् यस श्लोकले भारतीय उपमहाद्वीपको यो भूभागलाई भारत भनेर स्पष्ट किटान गरेको छ। यो कुरालाई वायुपुराण (३३,५२), लिङ्गपुराण (१,४७,२३), ब्रह्माण्डपुराण (१४,५,६२), अग्निपुराण १०७,११-१२) तथा मार्कण्डेय पुराण (५०,४१) ले पनि पुष्टि गरेका छन् ।

भारतवर्षलाई बुझाउने पर्यायवाची नामहरूमा “जम्बूद्वीप” र “आर्यावर्त” पर्दछन्। यी सबै नामहरूलाई केही दशकदेखि इण्डियाले चलाखीपूर्वक आफूलाई मात्र बुझाउन प्रयोग गर्दै आएको देखिन्छ। अमरकोशमा विन्ध्याचल र हिमालय बीचको भू-भागलाई आर्यावर्त भनिएको छ जसले नेपाललाई समेत समेटेको स्पष्ट हुन्छ–

आर्यावर्तः पुण्यभूमिर्मध्यं विन्ध्यहिमालयो ।

“भारत” शब्द यतिमै सीमित छैन। “भारत” बाट भारतीय (भारत+ईय=भारतीय) बन्छ। “भारत” बाट भारतेली (भारत+एली=भारतेली) बन्छ। भारतेली र युरोपेली मिलेर बन्ने “भारोपेली” शब्द बनेको छ। भारतीय र युरोपीय मिलेर बन्ने “भारोपीय” शब्द बनेको छ । यी सबै शब्दहरूको प्रयोग सिङ्गो भारतीय उपमहाद्वीपलाई बुझाउन गरिन्छ। जस्तो कि “भारोपेली अर्थात् भारोपीय भाषा परिवारअन्तर्गत संस्कृत, नेपाली, मैथिली, भोजपुरी, हिन्दी, फारसी, बंगाली, ग्रिक आदि पर्दछन्” भनिन्छ। यसरी भारत र भारतबाट बन्ने शब्दहरू हामी, हाम्रो संस्कृति र भाषा परिवार बुझाउन ऐतिहासिक कालदेखि नै प्रयोग गर्दै आएका छौं।

छिमेकी मुलुकको ऐतिहासिक नाम इण्डिया हो। यो नाम सिन्धु नदीका कारणले सातौं शताब्दीदेखि प्रचलनमा आएको देखिन्छ। सिन्धु नदीलाई युनानी भाषामा इण्डो अथवा इन्दस् भनिन्छ। सोही इण्डोबाट इण्डिया बनेको हो। सत्रौं शताब्दीपछि अंग्रेजहरूले उक्त नामलाई थप प्रयोगमा ल्याएका हुन् । त्यो बेला इण्डियन नेताहरू आफ्नो मुलुकलाई बढी जसो हिन्दुस्तान भन्ने गर्थे । उनीहरूको मूल संविधानमा भने इण्डिया शब्दकै प्रयोग भएको छ।

बितेका शतकहरूमा छिमेकी मुलुकलाई “भारत” भन्ने चलन थिएन।

राष्ट्रनिर्माता पृथ्वीनारायण शाहले इण्डियालाई हिन्दुस्तान भन्थे। इण्डियाकै पुराना नेताहरू महात्मा गान्धी तथा नेहरूले “हिन्दुस्तान” शब्द कै बढ्ता प्रयोग गर्थे। राजा महेन्द्रले पनि कहिल्यै “भारत” भनेनन्। वीपीले प्रायःजसो “इण्डिया” नै भन्थे। इण्डिया विभाजनपश्चात् हिन्दुस्तान शब्दको बढ्ता प्रयोग हुन थालेको हो। इण्डिया स्वतन्त्र भएको केही दशकपछि उनीहरूले चतुर्‍याइँपूर्वक आफ्नो मुलुकका नामको सूचीमा “भारत” पनि थपेका हुन् । हिन्दुस्तान छँदै थियो, इण्डिया पनि छँदै थियो । भारतीय उपमहाद्वीपभित्रका सबै मुलुकको साझा नाम “भारत” लाई आफ्नो मात्रै बनाउने ऊसँग कुने अधिकार थिएन। तर, “भारत” शब्द्को महत्ताका कारण उसले अनुचित लोभ गर्‍यो। यसमा भारतीय उपमहाद्वीपका अन्य मुलुकलाई भन्दा बढ्ता पीडा हामी नेपालीलाई हुनुपर्ने हो।

प्रसिद्ध कवि तथा भाषाशास्त्री मुकुन्दशरण उपाध्यायले आजभन्दा तीनदशक अगाडि “छिमेकी मुलुकलाई ‘भारत’ भन्ने गल्ती नगरौं” भन्ने अभियानै चलाउनुभएको कुरा पनि यहाँ स्मरणीय छ । उहाँका अनुसार- “उनीहरूले “भारत” को गरिमा बुझेर अनधिकृत रूपमा सो नामको प्रयोग गरे पनि हामीले उनीहरूको देखासिकी गर्नुहुँदैन।”

हामीले अब सुझबुझपूर्वक इण्डियालाई सम्झाउने प्रयास गर्नुपर्छ। भारतीय उपमहाद्वीपभित्र पर्ने मुलुकहरूमा म्यानमार (बर्मा)बाहेक सबै सार्कका पनि सदस्यराष्ट्र हुन् । नामको यो मुद्दालाई टुङ्गो लगाउन सार्कको बैठकमा राख्नु अरू उपयुक्त हुन्छ। नेपालले अन्य सदस्य राष्ट्रहरूलाई पनि बुझाउन सक्ने गरी तयारी गर्नुपर्छ।

उता यी कुरा भविष्यमा हुँदै गर्छन् । यता हामी सम्पूर्ण नेपाली जनताले आजैदेखि प्रण गरौं- “छिमेकी मुलुक ‘इण्डिया’ लाई हामी “भारत” भन्ने छैनौं।”

Football news:

Nice joined the fight for defender Olympiakos Tsimikas. Loco is Interested in Him
Lacazette has rejected the offer of Inter. He can be traded to Atletico for Lemar
Former CSKA chief scout: 99% of a scout's work is wasted. This is a specific feature
Victor Valdes led the club from the Spanish 4th League
Agent Jorginho: Two non-Italian top clubs contacted me
Atalanta defender Castan is of Interest to Tottenham, Leicester and West ham
Captain Valeika was born in Moscow. Russian Russian mother, father-conductor, performed with Celine Dion and still supports Spartak