Nepal

फोक्सुन्डोको नीलो सौन्दर्य

बाटो जतिसुकै अप्ठ्यारो किन नहोस्, अझ अक्करे भिरका मुटु नै लुगलुग कमाउने साँघुरा गोरेटोमा नै पाइला नाप्न किन नपरोस्? यात्राको उत्कर्षमा टेकेपछिको असीम आनन्दका तुलनामा ती सबै फिक्का लाग्छन्। कठिनाइले छेकिँदैन गन्तव्य।

यात्रामा निस्किएको पाँचौ दिन, असार १२ गते फोक्सुन्डो ताल पुग्दा निकै प्रफुल्लित थियो मेरो मन। चट्टाने पहाडले काँखमा सुमसुम्याउँदै राखेको विशाल र गहिरो निलाम्मे ताल। प्रकृतिले रचेको एउटा अद्भूत कला। मानौं, भौगोलिक विकटता पनि गौण छ, तालको चामत्कारिक सौन्दर्य सामु।

डोल्पाको विकटतासँगै त्यहाँको सौन्दर्य र सम्भावना लेखनमार्फत् उजागर गराउने अभिप्रायले १५ जना कवि, लेखक र पत्रकारको टोलीलाई ‘कन्सेप्ट नेपाल’ले फोक्सुन्डोसम्म यात्रा गराएको थियो यसपालि। यसै संयोगमा जोडिन पाएँ म पनि। अविस्मरणीय र अर्थपूर्ण त बन्यो नै यात्रा, उत्तिकै सुखद र सुन्दर पनि।

यात्राको परिकल्पना र संयोजन गर्ने पत्रकार अमृत भादगाउँले सबैका हाइहाइ भए। पछिल्लो समय उनको दखल पर्यटन पत्रकारितामा छ।

काठमाडौंबाट नेपालगन्ज गाडीमा जाने, त्यहाँबाट डोल्पाको जुफालसम्म प्लेन अनि पदयात्रा गरेर फोक्सुन्डो पुग्ने यात्रातालिका मौसम प्रतिकूलताका कारण थोरै फेरबदल भयो।

नेपालगन्ज पुगेर थप एक दिन कुर्दा पनि हवाइ मार्ग सम्भव भएन। त्यहाँबाट डोल्पाको सुलिगाडसम्म गाडीमै हुइँकिनुपर्यो।

‘ढिला भयो कडा भयो’ भन्ने थेगो पछ्याउँदै सुर्खेत, सल्यान, जाजरकोट, पश्चिम रुकुमका केही भूभाग समेत छुँदै साँझ पश्चिम रुकुमको चिसापानी ओर्लियौं। यहाँसम्म त एउटै गाडीमा आउने सुविधा थियो। यहाँबाट चाहिँ कतै झोलुङ्गे पुल, कतै काठे पुल र फड्के तर्दै जानुपर्ने हैरानी सुरू हुन्छ। कतै तुइन र झोलुङ्गे पुलको लट्ठा त कतै डोजरमा तुर्लुङ्ग झुन्ड्याएर तारेपछि वारिको वारि, पारिको पारि नै गुड्नेरहेछन् यताका जिप।

गाडीवालाले भाडा आफूखुसी उठाउँदै हिँड्दा यात्रुलाई पर्ने मार त छँदैछ। चिसापानीबाट झोलुङ्गे पुल तरेर चामखेतपुग्दा रिजर्भमा जान एउटा जिप फेला पर्यो। त्यसमै चढेर बास बस्ने ठाउँ जाजरकोटमा पर्ने तल्लुबजार पुग्दा रातको १० बजिसकेको थियो। भोलिपल्ट सबेरै त्यहाँबाट ठूलीभेरी माथिको झोलुङ्गे पुल तरेर गोतामकोट पुग्छौं। गोतामकोटबाट गाडीमा जाँदा त्रिवेणी भन्ने ठाउँ कटेपछि साङ्ग्ले घट्टबाट डोल्पा जिल्ला सुरु हुन्छ।

गोतामकोटदेखि झन्डै ३ घन्टा लाग्छ करबगाड पुग्न। त्यहाँ फेरि ओर्लिन्छौं र पारि तरेर त्रिपुराकोटतिर लाग्छौं। कच्ची बाटो त हो, झन्डै डेढघन्टा लगाउँछ त्रिपुराकोट पुर्याउन जिपले। त्यहाँबाट झोलुङ्गे पुल तरेर पारिपट्टि अर्को जिप समात्दा बल्ल दिउँसो २ बजे रूपगाड पुग्छौं। गाडीको सुविधा यहीँसम्म मिल्छ। रूपगाडबाट १५ मिनेट जतिमा हिँडेर सुलिगाड पुग्छौं। अब यसपछि गन्तव्य नपुगुन्जेल बाँकी यात्रा खुट्टाकै भरमा।

अक्कर र बगर

उँभोतिरको बाटो। असारे खोलाको छङछङ। ठाडो खोलाको लय पछ्याउँदै सुलिगाडबाट कतै नरोकिई पैदल यात्रामा जुट्यो हाम्र टिम। कतै बगर, कतै डरलाग्दो भिर। कतै भिरालो पहाडको भित्ता खनेर, कतै त पहरो नै खोपेर बनाइएको बाटो। ठाउँठाउँमा आङ सिरिङसिरिङ हुने। सकेसम्म तलतिर नहेरी हिँडे म। छुट्न लागेको रिँगटा जबरजस्ती रोकेँ । मन बलियो बनाएर हिँड्नुको विकल्प पनि हुन्न अक्करमा।

समूहमा भए पनि बाटो हिँड्दा थोरै अघिपछि परिन्थ्यो र अघोषित उपसमूहजस्तो देखिँदै फेरि समूहमा विलय हुने क्रम पनि देखापर्थ्यो। कुनै बेला सागर दाइ र म अलि अघिअघि हुन्थ्यौं। बाटोमा हल्का रमाइला र उटपट्याङ गफ पनि चल्थे। बाटो कटाउने गफ।

साह्रै रसिक मान्छे उनी तर बाटोको अवस्था अनुसार कतैकतै भने निकै गम्भीर र सजग देखिन्थे। ‘निकै डरलाग्दो बाटो,’ उनी भन्दै थिए, 'चारै हातखुट्टा टेकियो कहीँकहीँ त!'

कतै चट्टाने पहाड, अजङ्गका। कतै बुट्यान र हरियाली। एकतमासको बाटो। कतै हल्का गफको तालमा, कतै एकसुरे हिँडाइको सहारामा झमक्क साँझ पर्न लाग्दा पुगियो स्याङ्टा। स्याङ्टामा एउटा मात्र होटल रहेछ, रुकुमबाट आएका पोखरबहादुर शाहको। पर्यटक हिँड्ने समयमा मात्र खोल्ने रहेछन्।

हिउँद लागेपछि हिउँ पर्ने र पर्यटक ठप्प हुने हुँदा उनी पनि रुकुमतिरै गएर जाडो छल्दा रहेछन्। तलतिर खोला, माथितिर भिर। एकापट्टि ओडार अर्कोपट्टि गारो लगाएर बनाएको घरमा बित्यो त्यो दिनको बास।

‘पहिलेपहिले ऋषिमुनि बस्थे ओडारमा आज हामीले पनि बस्ने मौका पायौं,’ भन्दै हाँसियो पनि। नजिकैको आँखे खोला असारे गडगडाहटसहित सुसाउँदै थियो, त्यसको केही प्रभाव नै परेन थकित यात्रीहरूलाई। शरीरमा चाहिँदो थकान भरिएको थियो, टन्न अघाएपछि मस्त निदाइयो।

असार ११ को बिहान छिट्टै खाजा खाइवरी लम्कियौँ हामी। र्‍याचीमा खाना खाएर दिनभरको हिँडाइले लखतरान पर्दै साँझ बास बस्न झरना पुग्यौं। त्यहीँको झरना होटलको बास आरामदायी रह्यो। यो ठाउँको नाम चुनुवार भए पनि यही होटलकै प्रसिद्धले गर्दा अचेल झरना नै भनेर चिनिँदोरहेछ। यो बेस क्याम्प हो फोक्सुन्डो तालको।

असार १२ गते बिहान झरनाबाट झन्डै २ घण्टा लाग्ने नाकै ठेस्सेलाजस्तो नागबेली उकालो चढ्दा हत्तुहैरान परिन्छ। उकालो सकिनै लाग्दा पुगिन्छ, झरना भ्यु टावर। यहाँ पुग्नेको मुखबाट हमेसा फुत्किरहेकै हुन्छ, ‘आहा, क्या राम्रो, झरना!' फोक्सुन्डो तालबाट बगेर आएको पानी चट्टाने पहाडको खोँच नाघेर हाम्फाल्दा बनेको भव्य झरना देखिन्छ यहाँबाट। यही नै यहाँको विशेषता।

अलिकति माथि पुगेपछि तेर्सो र हल्का ओरालो छ बाटो। अनि केही बेर हिँडेपछि पुगिन्छ तालकिनारको रिग्मो गाउँ र फोक्सुन्डो ताल।

नीलो रङको ताल र अद्भूत सौन्दर्य

भौगोलिक विकटताभित्र अद्भुत सौन्दर्य छरेर मुस्कुराइरहेझैं लाग्छ फोक्सुन्डो। नीलो रङले रङ्गिएको। चट्टाने पहाडको काखमा निलाम्य जलराशि। निकै विशाल र गहिरो। स्थानीय भन्छन्, ‘पुरै ताल राम्ररी घुमेर हेर्न दुई दिन लाग्छ।’

तिब्बती भाषाकै एउटा भाषिका बोलिन्छ यता। स्थानीयका अनुसार तिब्बती भाषाको ‘फु सुङ छो’ बाट तालको नाम फोक्सुन्डो रहन गएको हो। ‘फु’ भनेको भित्री, ‘सुङ’ भनेको तीन खोलाको सङ्गम अर्थात् त्रिवेणी र ‘छो’ भनेको ताल। हिमालका हिउँ पग्लँदै र डाँडाकाँडाका मूलबाट निस्किएका पानी बग्ने डैकुथाङ, छोलोफुक र घाघार तीन वटा खोलाको मिलन यही तालमा हुन्छ।

लुक्तोङ हाङ्याक, रिनाक, घाङ्घार टाक र याक्लाङ जस्ता पहाड र काङ्ताकातोङ हिमाल र कान्छेन राल्बा हिमाल पनि नजिकै छन्। तालबाट निस्केको पानी रिग्माे गाउँबाट बग्दै केही पर पुगेर खस्छ, जसलाई फोक्सुन्डो झरना भनिन्छ। झरनाबाट खसिसकेको पानी खोलाका रूपमा बग्दै जान्छ। यो खोला फोक्सुन्डो खोलाका रूपमा चिनिन्छ। खोला बग्दैबग्दै ठुलीभेरीमा समाहित हुन्छ।

३ हजार ६ सय ३५ मिटर उचाइमा रहेको तालको लम्बाइ पाँच किलोमिटरभन्दा बढी रहेको बताइन्छ। अंग्रेजी वर्ण वाइ (Y ) आकारमा फैलिएको छ ताल। से फोक्सुन्डो राष्ट्रिय निकुञ्जभित्र पर्ने यो ताल एउटा सुन्दर पर्यटकीय गन्तव्य हो।

तालको पानी कञ्चन छ। निकै चिसो पनि। यति गहिरो र विशाल तालमा पौडी खेल्नु जोखिमलाई निम्त्याउनु हो भन्ने राम्ररी थाहा थियो तर थामिएन मन। होसियारीसाथ कवि भूपिन र म सँगै पौडिन पस्यौँ छेउमा। हिउँ पग्लिएर आएको पानी न हो, चिसोको कुरा नगरौँ। शरीर नै झननझनन बनाउँदै थियो। एकै छिन तालको छेउमै भए पनि छप्ल्याङ छुप्लुङ गरेर मज्जा लिइयो। पौडी खेलियो पनि के भन्नु, शरीर पवित्र पारियो फोक्सुन्डोको पानीले भिजाएर।

साधकलाई सम्मान

गाउँका लोकसंस्कृतिकर्मीहरू निःस्वार्थ भावले आफ्नो भाषा, कला र संस्कृति जोगाउन योगदान पुर्‍याइरहेका हुन्छन्। व्यक्तिगत प्राप्तिका कुनै लालसा जोडिएका हुँदैनन् यस्ता सुकर्ममा।

हामी फोक्सुन्डो पुगैकै दिन हाम्रो यात्राको आयोजक कन्सेप्ट नेपालले डोल्पाको सुदूर गाउँमा बसेर लोकसंस्कृति संरक्षणमा योगदान पु-याउँदै आएका चार जना स्थानीय अग्रजलाई फोक्सुन्डो ताल किनारमा सम्मान गर्‍यो।

सम्मानित हुने साधकहरू थिए- टुङ्नावादक एवं गायक निमा लातार बैजी, लोकगायिकाहरू नाम्दाक लामा, होइसेर डोल्मा बैजी र काष्ठकलाका गुरु एवं समाजसेवी सेम्दुक आङक्याल रोकाया। उनीहरुलाई जनही १० हजार रुपैयाँसहित सम्मान पत्र प्रदान गरियो।

कहिल्यै आशा नगरिएको सम्मान पाए उनीहरूले। खुसीका रङले उनीहरूका अनुहार निकै उज्यालिएका थिए। यो देख्दा निकै खुसी लाग्यो। गाउँका लामा गुरु, जनप्रतिनिधि, संस्कृतिकर्मी र केही गाउँलेको उपस्थितिमा कार्यक्रम गरिएको थियो। लोकगायिकाद्वयले निमाको टुङ्नाको धुनमा गीत गाए। आफ्नै भाषामा उनीहरूले स्वागत गीत गाउँदा सङ्गीतमय बन्यो वातावरण।

खप्तड यात्राका क्रममा गत वर्ष पनि कन्सेप्ट नेपालले त्यहाँका गुमनाम कलासाधकहरूलाई यसै गरी सम्मान गरेको सम्झिएँ। राज्यको नजर पर्न नसकेको विकटका कलाकर्मीको सम्मानले निकै अर्थ राख्छ भन्ने सोच्छु म। कन्सेप्ट नेपालले थालनी गरेको यो सत्कर्मले निरन्तरता पाओस् भन्ने कामना छ मेरो।

तालकिनारमा काव्यध्वनि

आफैमा सुन्दर कविताजस्तो, मनै हर्ने कलाजस्तो बिछट्ट राम्रो छ फोक्सुन्डो। यस्तोमा के चुप बस्न सक्थेँ त्यहाँ पुगेका कविहरू? पुगैकै दिन दिउँसो स्थानीय लोककलाकर्मीको सम्मानपछि दोस्रो चरणमा सुरु भयो कविता वाचन। तालको निलो पानी र कञ्चन पानीमा पालै पालो मिसियो काव्यध्वनि। कविता वाचनको लहरमा सुनिए भूपिन, हेमन, गनेस, हेमन्त, सागर र दीपेन्द्र। अभयले रन्काए नेवारी गीत। हाम्रो यात्राटोलीका कलाकार कृष्ण पनि किन हात बाँधेर बस्थे? फोक्सुन्डो ताललाई त्यहीँ स्केच गरेर रङ र रेखामा देखाउन भ्याए। श्रव्यसँगै थपियो दृश्यकला। रौनक थपियो तालकिनारको मेहफिलमा।

३ महिना रित्तिने गाउँ

फोक्सुन्डो नजिकै चिटिक्क परेको गाउँ छ, रिग्मो। ताल हेर्न र डोल्पा घुम्न आउने पर्यटकका लागि होटलहरूको सुविधा छ यहाँ। काठमाथि विछ्याइएका ढुङ्गा र ढुङ्गालाई माटोले छोपेका घरका छाना। पुरानै शैलीका घरहरू पनि देख्न सकिन्छ, स्थानीयता झल्किने। यही गाउँमा एक रात बस्यौँ हामी। केही गाउलेहरूसँग चिनाजान र कुराकानी पनि भयो। कुराकानीकै क्रममा थाहा भयो, हरेक वर्षको ३ महिना रित्तो हुने रहेछ यो गाउँ। पुस, माघ र फागुनमा अत्यधिक हिउँ पर्ने हुँदा गाउँले डोल्पाकै तल्ला भूभागमा सरेर समय कटाउने रहेछन्। यही मौसमका लागि भनेर सबैका वैकल्पिक घरहरू बनेका रहेछन् तलतल। सबै गाउँले त्यतै सरेर बस्दा ३ महिना गाउँ नै चकमन्न। रिग्मोबासीले सुनाए, ‘जाडो याममा हिउँ नै हिउँले छोपिन्छ माथितिरका गाउँ, बस्नै सकिन्न।’

खच्चडको भर

डोल्पाको सदरमुकाम दुनैसम्म बल्लबल्ल जोडिएको छ सडकसञ्जाल। निकै विकट, निकै असुविधायुक्त छन् अझै डोल्पाका धैरै गाउँबस्ती। सामान ढुवानीको एक मात्र माध्यम खच्चड। बाटोमा ठाउँठाउँ भेट्यौँ हामीले खच्चडको लर्को। भिरालो र साँघुरो बाटोमा डरै लाग्ने। विपरीत दिशाबाट आएका खच्चडका बथानलाई बाटो छोड्न बटुवाहरू निकै सजग बनेको देखेँ। खच्चड आएको सङ्केत पाउने बित्तिकै हत्तपत्त कुनापट्टि लेस्सिनुपर्ने रहेछ। त्यस्ता अप्ठेरामा आफू छेउतिर लागेर बाटो छोड्न थालियो भने छङ्गाछुर भिरबाट खसेर कता पुगिन्छ पत्तो नहोलाजस्तो। प्राचीन युगको कठिनाइको झल्को दिने यस्ता दृश्यहरू ठाउँठाउँमा देखेँ मैले। मनै कुँडियो। लाग्यो, समयसँगै हिँड्न कहिले सक्ला डोल्पाले?

किरा टिप्नेका ताँती

हामी सुलिगाडदेखि हिँड्दै थियौं फोक्सुन्डोतिर। बाटोमा ठाउँठाउँमा झिटीगुन्टा बोक्नेहरू भेटिन्थे, हुलका हुल। कसैले सोधिहाले भने भन्थे, ‘किरा टिपेर फर्केको।’ शक्तिवर्द्धक हिमाली जडिबुटीका रूपमा प्रसिद्ध यार्सागुम्बालाई यताको जनबोलीमा ‘किरा’ पनि भनिँदो रहेछ भन्ने थाहा पाएँ मैले, उनीहरूका लबज सुनेर। हुन त हिउँदमा किरा र बर्खामा च्याउ हुनु यार्सागुम्बाको अचम्मलाग्दो चिनारी हो।

डोल्पाको माथिल्लो भूभागमा यार्सागुम्बा पाइँदो रहेछ। से फोक्सुन्डो राष्ट्रिय निकुञ्जमा पर्ने यस क्षेत्रमा वर्षमा एक महिना खुला गरिँदो रहेछ यार्सागुम्बा सङ्कलकका लागि। डोल्पाका मात्र नभई मुगु, जाजरकोट, जुम्लाजस्ता जिल्लादेखि पनि आउँदा रहेछन् मान्छेका हुल, केही दिन बसेर फर्कने बन्दोबस्तीका साथ। यस क्षेत्रका विद्यालय समेत एक महिना बिदा गरिने रहेछ यो समयमा।

पैसाको दुःख हुने विकट क्षेत्रका बासिन्दा अलिअलि नगद हात पार्न सकिएला कि भन्ने आसले ज्यानको बाजी लगाएर हिँड्ने रहेछन् यार्सा खोज्न। तर यो वर्ष असमयको हिमपात, झरीजस्ता कारण यार्सा निकै कम फेला परेछ। सोचेको उपलब्धि हात नपर्दा निराश बनेर फर्किँदै थिए मान्छेहरू। कति त आउँदाजाँदा र यार्सा खोजुन्जेल उच्च हिमाली पाटनहरूमा बसेर खाँदाको खर्च समेत पुर्ताल भएन भनेर चिन्ता व्यक्त गर्थे। उनीहरूका सङ्घर्षका कथाले कसको मन नछोला ?

धन कमाउने आशामा टाढाटाढाबाट यार्सा टिप्न आएका थिए गाउँका मान्छे। उनीहरूका आशामा तुषारापात भयो यस पालि। उनीहरूमध्ये कति त बिखर्ची बनेर रुमल्लिएका पनि भेटिए। घर फर्किने बाटो खर्च जुटाउन कोही होटलमा काम गर्दै थिए भने, कोही काम खोज्दै।

जाजरकोटको बारिकोटबाट आएका १६ वर्षका कालीबहादुर बुढा रिग्मोकै एक होटलमा काम गर्दै थिए। उनले भने, ‘गाउँबाट ६ हजार सापट लिएर आएको किरा खोज्दा खाइखर्चमै सकियो। किरा १५ वटा मात्र भेटियो। ४देखि ५ सयसम्ममा मूल्य पाइन्छ एउटाको। यति पैसाले घर पुग्न र ऋण तिर्न पुग्दैन। अब दुई महिना यतै काम गरेर मात्र घर फर्कन्छु।’ जाजरकोटकै रामीडाँडास्थित कालिका आदर्श मा.वि.मा ९ कक्षा पढ्दै गरेका उनी पढाइ छुट्ने कुराले उत्तिकै चिन्तित थिए। उनका साथी जसवीर बस्नेत र बाटोमा भेटिने धेरैका बिलौना उस्तै।

से फोक्सुन्डो राष्ट्रिय निकुञ्जको कार्यालय पुग्दा अझ मन थाम्न गाह्रो पार्ने समाचार सुन्नुपर्‍यो, डोल्पामा यार्सा टिप्ने क्रममा यो वर्ष मात्र, त्यो पनि एक महिनामा ९ जनाको त मृत्यु नै भएको रहेछ। कसैको हिउँ पहिरोमा परेर, कसैको भिरमा लडेर र कसैको चिसोले कठ्याङ्ग्रिएर। अभावसँग जीवन साट्ने कर्णालीबासीको यहाँभन्दा हृदयविदारक कथा अरू के होला?

ठिन्ले खसेको भिर

हिमालयन क्याराभान फिल्मका नायक डोल्पाकै बासिन्दा थिए, ठिन्ले लेन्डुप। फ्रान्सेली चलचित्र निर्देशक एरिक भ्यालीले निर्माण गरेको यस फिल्ममा जीवन्त अभिनय गरेकै कारण उनलाई धेरैले चिन्थे। माथिल्लो डोल्पाको जीवनभोगाइमा केन्द्रित छ फिल्मको कथावस्तु र परिवेश पनि। प्रत्यक्ष नभेटे पनि अखबारमा पढिरहन्थे म पनि उनका कुरा। पछिल्लो समय पेटको क्यान्सरबाट पीडित थिए उनी। उपचारका लागि काठमाडौँ धाइरहनुपर्ने भएको थियो।

उपचार गरेर फर्किने क्रममा घोडामा डोल्पा सदरमुकाम दुनैबाट घर जाँदै गर्दा उनको घोडालाई खच्चडले धक्का दिएपछि उनी घोडासँगै लडेका थिए छेप्काको भिरमा। लडेको केही समयमा नै २०७३ वैशाख १२ गते उनको निधन भएको थियो।

डोल्पा पुगेका बखत उनका बारेमा केही सोधीखोजी गर्न मन लाग्यो। डोल्पाकै पत्रकार विष्णु देवकोटा पनि साथमा थिए। उनैले देखाइ दिए ठिन्ले लडेको भिर छेप्कामा। फोक्सुन्डो जाँदा र फर्किँदा हामी त्यही बाटो हिँडेका थियौँ।

डोल्पाको विकटतालाई अभिनयमार्फत संसारभर देखाए ठिन्लेले। तर के थाहा उनलाई कुनै दिन त्यही विकटता नै आफ्नो मृत्युको कारण बन्ला भनेर? आकस्मिकता न रहेछ मृत्यु, सबैका लागि।

बादलसँग लुकामारी

फोक्सुन्डोबाट फर्किंदा सुलिगाड हुँदै डोल्पाको सदरमुकाम दुनैतिर लाग्यौँ हामी। दुनैसम्म सडकसञ्जाल जोडिएको भए पनि बाटोको अवस्था दयनीय। दुनै नजिकै पनि सुक्खा पहिरो खस्दै थियो, फुसफुस। सदरमुकामसम्म गाडी पुग्ने अवस्था थिएन त्यस दिन। डराइडराइ हिँडेर काटियो पहिरो खण्ड र पुगियो दुनै। एकातिर ठुलीभेरी नदी, अर्कोतिर अत्यासलाग्दो भिर । बिचको चेपुवामा रहेछ दुनै त। देख्दै भौगोलिक असुरक्षाको आभास हुने। यस्तो ठाउमा पनि किन राखियो होला सदरमुकाम? प्रश्न तेर्स्याउँछ झट्ट देखिने परिदृश्यले नै।

केही बेर दुनैतिर टहलिएपछि बास बस्न जुफाल पुग्यौँ। जुफाल एयरपोर्टबाट नेपालगन्जसम्म प्लेनमा जान टिकट मिलाइसक्नुभएको थियो हाम्रा यात्राका संयोजकजीले, भोलिपल्ट बिहानका लागि। तर भोलिपल्ट ब्युँझिँदा त आकाश बादलले डम्म ढाकेको थियो। के को उड्नु प्लेन? जुनसुकै बेला बर्सिन तयार थियो झरी। मौसम बनिदियो प्रतिकूल। उडान स्थगित त्यो दिनको। एक दिन फेरि अडिनु पर्ने भयो जुफालमै र १६ गते बिहान उड्यौं। आकाश सबैतिर छ्याङ्ग खुलेको त कहाँ थियो र त्यो दिन पनि? ठाउँठाउँमा बादलका झुन्डहरूरूसँग लुकामारी खेल्दै प्लेनले आधा घण्टामै ओराल्यो नेपालगन्ज।

सहिसक्नु थिएन उखरमाउलो गर्मी नेपालगन्जको। कृत्रिम शीतलताका सहारामा रात्रीकालीन बसको प्रतीक्षामा बिते केही घण्टा। एक रात गाडीमा मस्त निदाएपछि एघारौँ दिन बिहान आँखा मिच्दैमिच्दै काठमाडौँ ओर्लियौँ र आआफ्ना गुँडतिर घुस्रियौँ।

यात्राले धेरै कुरा सिकाउँदो रहेछ। यसैले त सेन्ट अगस्टाइनले भनेका होलान्, ‘विश्व एउटा किताब हो र तिनीहरू, जसले यसको यात्रा गर्दैनन् उनीहरूले जीवनको एउटा पृष्ठ मात्र पढ्छन्।’

Football news:

Sterling surpassed Yaya Toure to become Manchester City's 2nd goalscorer in the history of the Premier League
Gasperini on two penalties for Juve: They are above any rules in Italy. Did we have to cut off our hands?
Sarri Pro 2:2 with Atalanta: We played with one of the best teams in Europe right now
Pep Guardiola: Manchester City have won a place in the Champions League on the pitch. I hope that UEFA will allow us to play
Atalanta extended their unbeaten streak to 14 games and is ranked 3rd in Serie A
Ronaldo scored his 27th goal in Serie A, converting a penalty in the game against Atalanta. Immobile has 29 balls
Sterling scored 27 goals for the season and broke his record. He scored a hat-trick against Brighton