Nepal

साइकलको उडान !

म अक्सर आकाशमा उडेको सपना देख्छु। चिलले झैं जमिनमा हेर्दै अनि हावामा बाँकटे हान्दै निकै माथि माथि, यता र उता उडेको। दिशा बदल्न ज्यानलाई ढाडबाट मरक्क मर्काएको। अनि नमस्ते मुद्रामा दुई हात जोडेर 'डाइभ' हानेको। अन्तमा एकदमै होसियारी साथ भुइँमा अवतरण गरेको।

अक्सर ती सपनामा म उत्तीसका निकै अग्ला रुखका हाँगा लछार्दै भुइँमा झर्छु। नझरुन्जेल भुइँमा बजारिने चिन्ताले सताइरहेको हुन्छ। तर हरेकपल्ट विना चोटपटक म भुइँमा उत्रिन्छु र सन्तुष्टिको सास फेर्छु।

त्यस्तो सपना चल्दै गर्दा वा सकिए लगत्तै निद्रा खुलिहाल्यो भने त्यसका हरेक दृश्य मनमा ताजा हुन्छन्। अनि ती दृश्यलाई ओल्टाइ पल्टाइ गरेर म फेरि धेरै बेर ननिदाई आनन्द लिइरहन्छु। तत्काल निद्रा खुलेन भने चाहिँ बिहान हो कि हैन जस्तो गरी सपनाको धमिलो सम्झना मात्रै बाँकी रहन्छ।

सानो छँदा हामी गाउँले केटाकेटीले चरा झैं उड्ने सपना पाल्थ्यौं। हवाइजहाज र अणु बम बनाउने मानिसले हामी ठूलो होउन्जेल एक्लाएक्लै चराझैं उड्न मिल्ने पखेटाजडित साधन कसो नबनाउलान् त भन्ने लाग्थ्यो हामीलाई। मान्छेले आफ्नै तागतले चलाउन सक्ने उड्ने यन्त्र बनेर त्यसले यातायातका बाँकी सारा साधन काम नलाग्ने बनाइदिएको कल्पना गर्थ्यौं।

पछि जब मानिसको र चराको शरीरबीचको भिन्नता पढ्ने मौका मिल्यो, मेरो कृत्रिम पखेटा लिएर चरा झैं उड्ने आश मर्दै गयो। पखेटा हुने तर शरीरको घनत्व बढी हुने चरा प्रजातिका जीव त उड्न नसक्ने रहेछन्, मानिसजस्तो ठूलो र गह्रौं ठोस अंगहरूले बनेको स्तनधारी जीव कसरी पो उडोस्।

तै पनि हवाइजहाज चढ्न पाए उड्ने तलतल मेटिन्छ कि भनेर धेरै वर्ष प्रतिक्षा गरेँ। तर त्यो अनुभव झनै निराशाजनक रह्यो।

मान्छे बरु जमिनमा छ भने कल्पनाको उडान भर्न सक्छ, तर हवाइजहाज चढेपछि जमिनसितको उसको बन्धन झन् बलियो हुन्छ। जहाजको भर्‍याङ उक्लनासाथ उसलाई बलियो जमिनमा उभिनुको महत्व बोध हुन्छ र ऊ कहिले अर्को विमानस्थलमा सुरक्षित रूपमा टेक्न सकिएला भनेर व्यग्र हुन्छ।

अर्थात्, चलिरहनु पर्ने इन्जिनको भरमा आकाशमा तैरिने जहाजभित्र उसले उन्मुक्त अनुभव गर्न सक्दैन।

धर्तीमा छँदाका कुनै पनि बन्धन आकाशमा पुगेपछि खुकुलो हुँदैनन्। जब गन्तव्य विमानस्थलबाट अनुमति नपाएर जहाज आकाशमा चक्कर काट्न थाल्छ, मानिस धेरै बेर आकाशमा उड्न पाएकोमा चंगा महशुस गर्दैनन्। आधा मानिसको आधा सातो त्यसै जान्छ।

मलाई कसरी चराझैं उडेका जीवन्त सपनाहरू बारम्बार आउँछन् होला त? लामो समय मसँग यो प्रश्नको जवाफ थिएन। सगरमाथा चढेको, समुद्रमा गोता लगाएको, स्कि वा स्केट गरेको कुनै सपना नआउने तर उडेको सपना आउने किन?

अहिले मलाई लाग्छ त्यसका दुई कारण छन्। एक, बाल्यकालदेखि नै चरा झैं उड्ने व्यग्र इच्छा। दुई, पौडी।

तपाईंले शान्त तलाउमा आधा घन्टासम्म उत्तानो तैरिएर आकाश अवलोकन गर्नुभएको छ? दहको पिँधैपिँध ढुंगामा छाती छोइने गरी लुसुलुसु माछा झैं पौडनुभएको छ? नब्बे डिग्रीमा डाइभ हानेर गहिरो र चिसो पानीको कानको जाली दुखाउने दबाब अनुभव गर्नुभएको छ? घमाइलो दिनमा बारम्बार पानीमा डुबेर पिँधमा पुग्दै मोती झैं चम्केका बालुवाका दानाको सौन्दर्यमा मोहित हुनुभएको छ? खुट्टामा काउकुती लगाउने गरी तपाईंलाई माछाहरूले चिउँडोले छामछुम गरेका छन्?

फोक्सोमा हावा भरेकै भरमा हातखुट्टा नचलाई उत्तानो पानीमा तैरिनुभएको छ? वर्षातको पानीले आफू वरपर अनगिन्ती फोका बनाउँदै र फुटाउँदै गर्दा आँ... गरेर सीधै जिब्रोमा आकाशे पानीले गर्ने स्पर्शको आनन्द लिनुभएको छ? अनि घाम अस्ताउने बेला निकै माथि उडेर घर फर्किँदै गरेका चराहरूलाई आँखाले भेटुञ्जेल पछ्याउनुभएको छ?

पौडीका नाममा टायल बिच्छ्याइएका र आँखा पोल्ने गरी क्लोरिन मिसाइएका कृत्रिम पोखरीमा समय बिताउनु भएको छ भने सायद तपाईंलाई यस्तो कुनै पनि अनुभव छैन। तर वास्तविक पौडी र उडानमा धेरै समानता छन्।

जम्मा दुइटा फरक छन्- एक, चरा हावामा तैरिन्छ र उड्छ भने मानिस पानीमा तैरिन्छ र पौडन्छ। दुई, चराले उत्तानो परेर आकाशको विशालता अवलोकन गर्दै उडेको मैले अहिलेसम्म देखेको छैन।

....


केही दिनअगाडि न्यु योर्कर पत्रिकामा जोडी रोजेनले एउटा निबन्ध लेखेः बाइसाइकल एज द भेहिकल अफ प्रोटेस्ट, अर्थात् प्रतिवादको वाहनका रूपमा साइकल।

त्यसको एउटा हरफले मेरो उडान अनुभवमा अर्को कोशेढुंगा थप्यो।

रोजेन लेख्छन्- 'साइकलको मुक्तिकारी गुण यसको आधारभूत संरचनामै हुन्छ। साइकल सहज तर गजबको साधन हो जहाँ यात्रु आफैं इन्जिनको पनि काम गर्छ। यसले असाध्य कुशलतापूर्वक मान्छेको चाललाई साधनको गतिमा बदल्छ। फलतः मानिस हिँड्नभन्दा कम ऊर्जा लगाएर हिँड्दाभन्दा कैयौं गुणा छिटो यात्रा गर्छ।

साइकलको शरीर र आत्मालाई नै बदलिदिने तथा स्वतन्त्रता र सम्भावनाको बाटो खोल्ने आनन्दको रहस्य खोतल्ने प्रयासमा भौतिकशास्त्रीहरुले नयाँ समीकरण खोजेका छन् र कविहरूले आफ्ना सबभन्दा कोमल हरफहरू लेखेका छन्। तर अन्ततः यो अगणनीय र अवर्णनीय हुन सक्छ। त्यो रहस्य मानिसको शरीर र साइकलको फ्रेमको विचित्र मिलनमा हुन्छ जसका कारण साइकल तपाईंलाई साधनभन्दा पनि आफ्नै शरीरको बिस्तारजस्तो लाग्छ।'

त्यो रहस्य अझ खोतल्दै उत्कर्षमा रोजेन लेख्छन्- 'त्यो रहस्य पेडल र चेनको सपनातुल्य चक्रीय फन्कोमा हुन्छ जसका कारण दबाबमा रहेको हावालाई निरन्तर साइकल र सडकको बीचमा बगाइरहन्छ, साइकलयात्रीलाई वास्तवमै हावामा राखेर। यदि साइकलयात्रीहरू उडेको कल्पना गर्छन् भने यसको कारण एक अर्थमा उनीहरू हावामा उडेकै हुन्छन्।'

यी पंक्ति पढेपछि मेरा लागि साइक्लिङको आनन्द फेरि एकपल्ट आविष्कार भयो, अवचेतनमा लुकेको शब्द फ्याट्ट मुखमा आएजस्तो।

सानो छँदा हामीले चराझैं माथि माथि आकाशमा उड्ने कल्पना गर्थ्यौं तर उडानका लागि धेरै माथि पुग्नु पर्दैन, जमिन छाडे पुग्छ। तपाईं पौडनुस् वा साइकल चढ्नुस्, बेलुनमा उड्नुस् वा बन्जी जम्प गर्नुस्, तपाईं जमिन छाड्नुहुन्छ। तर बेलुन वा बन्जीको उडान संसारका एकाध मानिसले एकाध क्षण मात्रै भर्न सक्छन्।

उसो त तपाईंले नित्य प्रयोग गर्ने मोटरबाइक वा हवाइजहाजले पनि तपाईंलाई हावामा तैराउँछन्। तर कृत्रिम इन्जिनको मदतले। अर्काको काँध चढेर संसार देख्नु र आफ्ना खुट्टामा उभिएर संसार देख्नु दुई अलग कुरा हुन्।

...


कोरोना भाइरसका उत्पातका कारण यो बर्खा मेरो धेरै समय नारायणी नदी किनारमा साइकलमा बितेको छ। लकडाउनभर पौडीका लागि खोलामा जान र ब्याडमिन्टन खेल्नबाट वञ्चित भएपछि दैनिक घन्टौं साइकलमा बिताउनु सामान्य बन्यो। यौवनले उन्मत्त युवकजस्तै उर्लेको नारायणीको किनारको उबडखाबड पदमार्गमा साइकलमा हुत्तिँदै ओरालो झर्नु र स्वाँस्वाँ गर्दै उकालो उक्लिनुको मज्जा अलग्गै छ।

उसो त लकडाउन खुलेसँगै साइकल चढेर पौडी खेल्न जाने नयाँ विकल्प पनि कायम छ।

मैले झैं तपाईंले पनि सानो छँदा उड्ने सपना देख्नुभएको हुन सक्छ, नदेख्नुभएको पनि। वर्षभर पौडिन मिल्ने सफा पानी भएका प्राकृतिक दहहरू त अपवादबाहेक नेपालीका लागि आकाशकै फल हुन्। त्यसैले उन्मुक्ति र स्वतन्त्र उडानको सहज माध्यम खोज्दै हुनुहुन्छ भने तपाईंका लागि साइकल एक मात्रै विकल्प हुन सक्छ।

तपाईंले फुर्सदमा मनोरञ्जन लिने साधन बनाउनुभयो भने साइकलले तपाईंलाई स्वस्थ पनि राख्नेछ। शरीरमा बोसो कम हुनेछ, रगतमा कोलेस्टेरोल कम हुनेछ। मृर्गौला र कलेजोलाई कम भार पर्नेछ। रगत बग्ने नली खुलै रहनेछन्, मुटु स्वस्थ हुनेछ। भुँडीको आकार घट्नेछ। मांसपेशीको आकार बढ्नेछ। उच्च रक्तचाप र मधुमेहजस्ता रोग लाग्ने जोखिम कम हुनेछ।

अनि मन चंगा हुनेछ।

त्यति मात्र नभई पेट्रोल वा डिजलले चल्ने साधनको विकल्पमा दैनिक आवतजावतको साधनसमेत बनाउनुभयो भने साइकलले शरीर मात्र नभई सिंगो पृथ्वीलाई स्वस्थ राख्नेछ।

तपाईंलेजस्तै अरू मानिसले पनि छोटो दुरीको यात्राका लागि साइकल अपनाए भने हावा स्वच्छ हुनेछ। जलवायु परिवर्तनका गति कम हुनेछ। हिमनदीहरू पग्लिने, छोटिने र हाम्रा हिमाल काला पत्थरमा बदलिने गति कम हुनेछ। समुद्र तटका सहरहरू डुब्न थप केही समय लाग्नेछ। ध्रुवीय हिउँ पग्लेर दुर्लभ भालुहरू हराउने गति कम हुनेछ। समुद्रका विचित्र जीवित संरचना 'कोरल रिफ' अरु केही समय कायम रहनेछन्। 'पर्माफ्रस्ट' तातेर भीमकाय मात्रामा कार्बन छाड्दै जलवायु परिवर्तनविरुद्ध हामीले चाल्ने कुनै कदमले काम नगर्ने समय आउन ढिला हुन सक्नेछ।

उल्लेख्य मानिसले साइकल चढ्न थाले भने नेपालजस्तो गरिब देशको पेट्रोलियम आयातको बिल ह्वात्तै घट्नेछ। महँगा सवारी साधन आयातको बिल उसरी नै घट्नेछ। नेपालजस्ता धेरै देशका मानिसले कार, मोटरसाइकल वा स्कुटरको सट्टा साइकल चढ्न थाले भने सबैतिर पेट्रोलियमको खपत घट्नेछ। खनिज ऊर्जा विस्थापित गर्दै पर्यावरण बचाउने अभियानले फड्को मार्नेछ।

क्यानडाको अल्बर्टा टार स्याण्डसबाट निस्कने बिटुमिनजस्ता फोहर र उच्च कार्बन उत्सर्जन गर्ने खनिज निकाल्ने कम्पनीहरू टाट पल्टनेछन्। सिंगो समुद्री पर्यावरण ध्वस्त पार्ने दुर्घटनाको जोखिम सिर्जना गर्ने 'अफशोर ड्रिलिङ' निरुत्साहित हुनेछ। २०१० अप्रिलदेखि ५ महिनासम्म ब्रिटिश पेट्रोलियमको त्यस्तो संरचनाबाट ७८ करोड लिटर तेल मेक्सिको खाडीमा बगाएकोजस्ता दुर्घटना रोकिनेछन्। अन्धाधुन्ध जंगल फाँडेर तथा पहाडहरू ध्वस्त पारेर तेल र कोइला निकाल्ने काम रोकिनेछ।

त्यसैले साइकल चढ्नु भनेको तपाईंको ज्यान बनाउने उपाय मात्रै हैन, सिंगो पृथ्वीलाई थप केही समयका लागि बसोबासयोग्य ग्रह बनाउने हो। त्यसका लागि तपाईंको पुस्ता त कृतज्ञ हुने नै छ, तपाईंका सन्तानको पुस्ता झनै कृतज्ञ हुनेछ। आजैदेखि तपाईं–हामीले सवारीका लागि साइकल, विद्युतीय सवारी र सार्वजनिक यातायात अँगाल्यौं, प्लास्टिक प्रयोग निरुत्साहित गर्‍यौं अनि शाकाहारी भोजनको प्रयास गर्‍यौं भने भावी पुस्ता त्यसका लागि कृतकृत्य हुनेछ।

अन्तमा यति पढ्दै गर्दा धेरै पाठकको मनमा आएको प्रश्नः तर सडक त साइकलका लागि सुरक्षित छैनन् नि?

तपाईं र हामीजस्ता धेरै साइकलयात्री सडकमा ओर्लेपछि एक दिन राज्य साइकल लेन बनाउन बाध्य हुनेछ अनि भारी साधन चलाउनेले हामीलाई उचित ठाउँ दिन सिक्नेछन्। साइकल संस्कृतिले एक चोटि जरा मात्रै गाडोस्, हाम्रो सहरी पूर्वाधार साइकलमैत्री नभएर सुखै छैन। तबसम्मका लागि अलिकति जोखिम लिएर सावधानीसाथ साइकल चलाउनुको विकल्प छैन। यसै पनि सार्वजनिक सवारीमा वर्षौंसम्म कोरोनाको जोखिम रहने हो भने साइकल समग्रमा सबैभन्दा सुरक्षित विकल्प बन्न सक्छ।

त्यसैले अब आउनोस्, सडकमा निस्कौं र साइकलमा उडान भरौं।

Football news:

Real can sell Hames to Atletico for 10-15 million euros (El Golazo de Gol)
Henrik Larsson on racism: I hope that we will be able to eradicate this huge problem. Evil will never overcome good
Manchester City wants to buy 5 more players this summer. The club is Interested in Lautaro and Felix
West ham midfielder Antonio is the best player in the Premier League in July. He scored 8 goals in 7 matches
Brih is scheduled for the Manchester City – Real Madrid match. Zweier will judge the Juventus-Lyon game
Fulham returned to the Premier League, earned 135 million pounds and destroyed the fairytale of Brentford. Everything was decided by the trick of the defender and a stupid mistake of the goalkeeper
Fabinho: this Liverpool will be remembered forever. The title in the Premier League is special, because we had to wait so long